प्रधानमन्त्रीलाई रूसी सेनमा मारिएका र घाइते नेपालीबारे ‘थाहै छैन’

प्रधानमन्त्रीलाई रूसी सेनमा मारिएका र घाइते नेपालीबारे ‘थाहै छैन’

काठमाडौं। रूस पुगेका नेपाली त्यहाँको सेनामा भर्ती भएर केही मारिएको अनि कोही हराइरहेको र केही युक्रेनको समेत नियन्त्रणमा रहेको समाचारहरू हरेक दिन आइरहेका छन्।

अनि रूसको सेनामा भर्ती भएका नेपाली युक्रेनी सेनाको नियन्त्रणमा रहेका भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको समेत प्राथमिकतामा परिरहेको नेपालीका मुद्दामा भने नेपाल सरकार र यहाँको राजनीतिक वृत्त मौनप्राय छ। त्यसमाथि नेपालको कुटनीति त झन् उसैगरी हराइरहेको छ, जसरी रूसको सेनामा नेपाली हराइरहेका छन्।

केही दिनअघि नेपाली मारिएको एउटा जानकारी पत्र नेपालको परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको थियो। तर त्यसमा तीनजनाको मात्रै नाम थियो। त्यसबाहेक अरु तीनजना मारिएको पनि पुष्टि भइसकेको छ।

गत जेठ–असारदेखि नै रूसको सेनामा भर्ती भएका नेपाली मारिन थालेका थिए। त्यसको पाँच महिनापछिमात्रै नेपालले त्यसबारे केही कुरा भन्यो। तर अझै पनि रूससँगको सोझो सम्पर्क स्थापित गरेर नेपालले त्यहाँका नेपालीको स्थितिबारे प्रस्ट पार्न सकेको छैन।

रूसमा धमाधम गइरहेका नेपाली र सेनामा भर्ती भइरहेका नेपालीबारे नेपालले त्यो बेलामात्रै थाहा पायो, जब उताबाट नेपाली मारिएको सूची आयो।

त्यो बेलासम्म न परराष्ट्रमन्त्रालयलाई यसबारे चासो थियो, न प्रधानमन्त्रीलाई कुनै जानकारी।
तर जब उनीहरूले थाहा पाए, आधामात्रै तथ्य पाए। त्यसपछि परराष्ट्र त कुरै छोडौं, प्रधानमन्त्रीसमेत तथ्यहीन आधारमा रूसका नेपालीबारे सरासर झुट बोलिरहेका छन्।

प्रधानमन्त्रीले के भने?

आफ्नो पार्टी नेकपा माओवादी केन्द्रनिकट पत्रकारहरूको एउटा भेलामा बोल्दै प्रचण्डले करिब २ सयजति नेपाली रूसको सेनामा भर्ती भएको बताए। अनि तीमध्ये छ जना ‘मरेको’ भनेर उनले त्यसबारे थप खोजीमा सरकार जुटेको पनि बताए।

यसलाई उनले आफूले पाएको ‘जानकारीअनुसार’ भनेका छन्। उनलाई त्यसबारे जानकारी अर्थात् ‘ब्रिफिङ’ गर्ने भनेको परराष्ट्र मन्त्रालय हो। यसअघि मारिएका नेपालीको सूची पाएपछि सरकारले परराष्ट्र मन्त्रालयमार्फत रूसलाई एउटा ‘कूटनीतिक नोट’ लेखेर रूसको सेनामा नेपालीलाई भर्ती नलिन र भएका नेपालीलाई पनि फिर्ता पठाइदिन अपिल गरेको थियो।

परराष्ट्रले त्यो पत्र पठाइसकेको भनेको छ तर त्यसको जवाफबारे उसले केही भनेको छैन। यसको मतलव नेपाल सरकारलाई रूसले केही भनेको छैन र नेपालले पनि उसलाई त्यसबारे घचघच्याएको छैन।

सेनामा भर्ती भएर मारिएकाहरूका परिवारले आफ्ना सन्तानको ‘लाश’ माग्दै चित्कार गरिरहेका छन्। युक्रेनको नियन्त्रणमा रहेका आफ्ना सन्तानलाई छुटाइदिन भनेर सरकारलाई भनिरहेका छन्।

यसअघि हमासले इजरायलबाट नियन्त्रणमा लिएका एउटा बिपिन जोशीका बारेमा ‘एकीन’ गर्न नसकिरहेको नेपालको परराष्ट्र र कुटनीतिक नियोगहरू रूसकोबारेमा झन् अन्योलग्रस्त छन्।

‘कोही विद्यार्थी बनेर गएका, कोही भिजिट भिसामा गएका नेपाली रूसको सेनामा भर्ती भएका छन्। त्यसरी २ सयभन्दा धेरै सेनामा भर्ती भएको जानकारीमा आएको छ। छ जना मरेका छन्। यस्तो जानकारी आएको छ। हामीले यस्तै परिस्थितिको सामना गर्नुपरिरहेको छ’ पत्रकारहरूसँगै प्रधानमन्त्री प्रचण्डले भनेका छन् ‘युक्रेनको सेनामा पनि नेपाली छन् भन्ने सुनिएको छ। रूसको सेनामा भर्ती भएर युक्रेनको नियन्त्रणमा पनि नेपाली परेका छन भन्ने सुनिन आएको छ। पहिला त यस्तो भएको छैन। अहिले भइरहेको छ।’

उनले युक्रेनमा रहेका नेपाली, उसको सेनामा भएका नेपाली र रूसको सेनामा भर्ना भएका अनि मारिएका र युक्रेनको नियन्त्रणमा रहेका नेपालीबारे सरकारले खोजी गर्ने काम गरिरहेको दाबी त गरेका छन्। तर परराष्ट्र मन्त्रालयले यसबारेमा कुनै चासो देखाएको छैन।

तथ्य के हो?

बिएल नेपाली सेवाले रूसमा रहेका कुटनीतिक नियोगका अधिकारी तथा त्यहाँ रहेका नेपाली समुदायका अगुवाहरूसँग गरेको कुराकानीअनुसार प्रधानमन्त्रीले भनेको भन्दा कैयौं गुणा धेरै नेपाली रूसको सेनामा छन्।

त्यहाँबाट नेपालमा पठाइएको सूचीभन्दा धेरै नै नेपाली मारिइसकेका छन् अनि धेरै नेपाली घाइते भएर उपचार गराइरहेका छन्। मस्कोस्थित नेपाली दूतावासमा ४ सयभन्दा बढी नेपालीले त आफूहरूलाई नेपाल फर्काइदिन अनुरोध गर्दै निवेदन दिएका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) रसियाले युक्रेनविरुद्ध लड्न झण्डै २ हजार नेपाली युवा रूसी सेनामा सामेल भएको अनुमान गरेको छ।

‘अहिले उद्धारको लागि याचना गर्ने नेपालीहरूको संख्या धेरै छ। समस्यामा परेपछि उहाँहरूले ह्वाट्सएप तथा फोनमार्फत हामीलाई सम्पर्क गर्नुहुन्छ,’ एनआरएनए रसियाका एक पदाधिकारीले भन्छन्, ‘एनआरएनए सामाजिक संस्था हो। हामी आफैँले केही गर्नसक्ने अवस्था छैन। हामीकहाँ आएका गुनासालाई दूतावासमै पठाइदिन्छौँ। दूतावासले रूसको रक्षा मन्त्रालयसँग समन्वय गर्छ। हामीसँग यकिन तथ्याङ्क हुने कुरा त भएन, तर विभिन्न सैनिक क्याम्पहरूमा रहेका नेपालीहरूले भनेअनुसार १९ सयभन्दा बढी नेपाली रहेको बुझिएको छ।’

उनका अनुसार सुरुवाती चरणमा पढ्नका लागि मस्को पुगेका नेपाली विद्यार्थीहरू सेनामा भर्ती हुने गरेका थिए। युद्धपछि बढेको बेरोजगारीका कारण विद्यार्थीले सेना नै रोजे।

नेपाली रुपैयाँ दुई लाख बढी कमाइ हुने र छोटो समयमै रसियन नागरिक बन्न पाइने भएपछि विद्यार्थीहरू पढाइ छोडेर सेनामा भर्ना हुन्थे। यस्तै, वर्किङ भिसामा पुगेका नेपाली पनि पैसा र नागरिकताकै लोभमा सेनामा भर्ना भइरहेका छन्।

तर, पछिल्लो समय नेपालबाटै भिजिट भिसामा नेपालीहरूलाई लगिएको छ। ‘अहिले दलालहरूले नेपालबाटै ल्याउन थालेका छन्। मस्को, दुबई, दिल्ली, इथोपिया र काठमाडौँमा एउटा गिरोह नै सक्रिय छ,’ उनले भने।

गिरोहले विषेशगरी भूतपूर्व सैनिक, प्रहरी र पूर्वमाओवादी लडाकुलाई रसियन सेनामा पठाउन थालेका छन्। ‘साधारण व्यक्तिहरू पनि छन्। तर, पछिल्लो चरणमा रिटायर्ड सेना, प्रहरी, सशस्त्रका जवान तथा पूर्वमाओवादी लडाकु आउने गरेका छन्,’ उनले भने। अहिले सेना, प्रहरी र सशस्त्रको जागिर बीचमै छाडेर पनि केही व्यक्तिहरू रसिया पुगेको उनको भनाइ छ।

लडाइँमा घाइते भएका नेपालीले सधैँजसो एनआरएनए तथा दूतावासका प्रतिनिधिलाई सम्पर्क गर्छन्। झण्डै ४ सय नेपालीले त दूतावासमै आफूहरूको उद्धार गरिदिन अपिल गरेका छन्।

उनीहरु फरक फरक समूहमा नेपाली धेरै छन्।

छोटो अवधिको ‘तालिम’ र सिधै लडाईंको अग्रमोर्चामा खटिनुपर्ने भएका कारण सेनामा गएका नेपालीलाई धेरै नै जोखिम छ। जसका कारण मारिने र घाइते हुनेहरूमा पनि धेरै नेपाली नै पर्छन्।

नेपालमै दलाललाई दश लाखसम्म तिरेर रूस पुगेका नेपालीलाई त्यहाँ पनि रूसी एजेन्टहरूले ‘पैसा र तत्कालै रूसी पासपोर्ट’ दिलाइदिने लोभमा सेनामा भर्ती हुन पठाउँछन्। नेपालबाटै र अरु देशबाट पनि रूस जाने नेपालीको संख्या हरेक दिन बढिरहेको छ।