यता छोरीले चिठी लेखिन्, उता रुसमा बुवा हराए

यता छोरीले चिठी लेखिन्, उता रुसमा बुवा हराए

काठमाडौं। रातभरि बुवाको कहानी सुनेर निदाएकी छोरीको सिरानमा एउटा कागज भेटिन् सविताले। २ कक्षामा पढ्ने रियाले एउटा पानामा बुवाको चित्र कोरेकी थिइन्। अनि छेउकै अर्को पानमा लेखेकी छिन्- छिटो आउनु है…!

रुसी सेनामा भर्ती भएका अभिषेक बुढा अहिले वेपत्ता छन्, घरपरिवारको सम्पर्कमा नआएको दुई महिना भइसक्यो। साथीभाईलाई पनि पत्तो छैन।

सँगै गएका केही साथीहरूको मृत्युको खबर सुनिरहेकी श्रीमती सवितासँग कुनै त्यस्तो पल छैन, जहाँ उनले अभिषेकलाई फोन नगरेकी होउन्। रिया उनकी छोरी हुन्। जसलाई हर रात बुवाको कहानी सुनाएर, सुताउँछिन् सविता।

छोरीले कोरेर लुकाएका ती प्रेमील अक्षरहरूमाथि सविताका धेरै थोपा आँशु झरिसके।

दुई महिनाअघिसम्म कहिलेकाहिँ बुवालाई भिडियो हेरेर निदाउँथिन्, रिया। सविता पनि ढुक्कै थिइन्। उता रुसको सेनमा गएका अभिषेकका साथीहरू मारिएका खबर आइरहेका थिए। यता छोरीले पत्र कोरिरहँदा अभिषेक भने सम्पर्कबिहीन भए।

‘आई लभ यु बाबा, म तपाईंलाई धेरै सम्झेको छु र तपाईंलाई धेरै धेरै मायाँ गर्छु, तपाईं कहिले आउनुहुन्छ? छिटो आउनु न है!’ छोरीका यी अक्षरहरूमा झलझली अभिषेकलाई सम्झिरहन्छिन् सविता पनि।

‘नानीले यो चिठी लेखेर लुकाएर राखेकी रहिछे,’ सविताले रुँदै भनिन्, ‘अस्तिमात्रै देखेँ, साह्रै रुन मन लाग्यो, बुवा कहिले आउनु हुन्छ भनेर छोरी पनि आत्तिसकेकी छे।’

दुई महिनादेखि बाबु सम्पर्कबिहीन हुँदा गलेकी आमा सविताको रोदन रियाले दिनहुँ देख्छिन्। अनि सम्झाउँदै भन्छिन्, ‘बाबा सेनाको तालिममा हुनुहुन्छ होला, अनि कसरी फोन गर्न मिल्छ त?’

बाबु रुसमा कमाउन पुगेको छोरी रियालाई थाहा छ। तर बाबु पुगेको देश रुस कसरी युद्धमा होमिएको छ भन्ने उनलाई थाहा छैन। अनि ‘रेड जोनमा’ युक्रेनी सेनासँग लडिरहेका अभिषेकको हाल उनलाई के थाहा?

दुई महिनादेखि श्रीमान सम्पर्कमा नहुनुले भने सविताको मनमा चिसो पसिरहेको छ।

कुनै अप्रिय घटना भइसक्यो कि! पीर-चिन्ताले सविता पनि गलिरहेकी छिन्।

‘श्रीमानसँग कुरा नभएको दुई महिना भैसक्यो, रातभरि निद्रै पर्दैन,’ सविताले भनिन् ‘छोरी पनि रातभरि मसँगै  बसिरहन्छे, बाबालाई केही भएको छैन, फ्री भएपछि फोन गर्नुहुन्छ भनेर मलाई सम्झाउँछे।’

गत भदौ २६ गते रुसी सेना बन्नका लागि नेपालबाट उडेका थिए रोल्पा त्रिवेणी नुवागाउँका अभिषेक। रुस पुगेका अभिषेकले आफू पुग्नासाथ सेनाको पहिलो क्याम्पमा पुगेको भनेर ह्वाट्सएप मार्फत सवितासँग कुरा गरेका थिए।

‘म आईपुगें, फस्ट क्याम्पमा बसेको छु भनेर भ्वाइस म्यासेज पठाउनु भएको थियो,’ सविताले भनिन् ‘त्यहाँ भएको बेला उहाँले जीम गरिरहेको फोटो भिडियो पठाइरहनुहुन्थ्यो।’

पहिलो क्याम्पमा केही दिनको बसाईंपछि उनले आफू दोस्रो क्याम्पमा सर्न थालेको जानकारी दिएका थिए। उनले ह्वाट्सएपमार्फत गत असोज १५ गते बेलुका ५ बजे पठाएको दोस्रो म्यासेजमा भनेका छन् ‘म अब दोस्रो क्याम्पमा जाँदैछु, फोन नलाग्नसक्छ, नआत्तिनु।’

१५ असोजमा दोस्रो हिँडेका अभिषेकले निरन्तर घरमा फोन सम्पर्क गरिरहेका थिए। सविताका अनुसार त्यहाँ उनलाई सैन्य तालिमका लागि पुर्‍याइएको थियो।

‘सेनाको तालिम चलिरहेको छ भन्नुभएको थियो,’ सविताले भनिन् ‘दोस्रो क्याम्पमा हुँदासम्म हाम्रो दिनहुँ कुरा भैरहन्थ्यो।’

दोस्रो क्याम्पमा सैन्य तालिम सकिएपछि अभिषेक तेस्रो क्याम्पमा सर्न थालेको जानकारी परिवारलाई दिए। ह्वाट्स एपमार्फत उनले २४ असोजमा पठाएको भ्वाईस म्यासेजमा भनेका छन् ‘हामीलाई तेस्रो क्याम्पमा लैजान थाल्यो, गाडी आईसक्यो, अहिले राखेँ तेस्रो क्याम्पमा पनि यो सीमले काम गर्‍यो भने कुरा गरौँला, फोन लागेन भने नआत्तिनु।’

भ्वाईस म्यासेजमा आफू हतारमा भएको सुनिन्छन् अभिषेक। त्यही छोटो संवादका क्रममा सविताले पैसाको कुरा गरिन्। अभिषेकले भ्वाइस म्यासेज मार्फत्नै भनेका छन् ‘म क्याम्प छिरेको भएको एक महिना पनि त पुगेको छैन, अब एक दुई दिनमै पैसा हाल्दिन्छ होला।’

असोज २६ गते दिउँसो साढे २ बजे भएको यो संवादपछि अभिषेक परिवारको सम्पर्कमा छैनन्। रुस पुगेको एक महिनासम्म दिनहुँ भिडियो संवाद भइरहेको सविता र अभिषेक बीचको यो सञ्चार दुई महिनादेखि बिच्छेद छ।

रुस र युक्रेनबीच भइरहेका युद्धका खबरले मन छिन्नभिन्न पारिदिएको छ।

‘केही भइहाल्यो कि भन्ने डरले सताइरहेको छ,’ सविताले भनिन्, ‘नत्र दुई, दुई महिनासम्म त फोन सम्पर्कमा आउनु पर्ने हैन र?’

अभिषेक र सविताको फोन संवादको माध्यम थियो, ह्वाट्सएप।

दुई महिनायताका हरेक पल ह्वाट्सएपमा आँखा लागिरहन्छन् सविताका। न त अभिषेकको म्यासेज आउँछ, न सविताले पठाएको म्यासेज नै उनी हेर्छन्।

‘कति म्यासेज पठाएँ, म्यासेज नै हेरेको देखिन्न,’ सविताले भनिन्, ‘उताबाट पनि एउटा म्यासेज आउँदैन।’

न त अभिषेकको बारेमा खबर दिने नै कोही छ रुसमा।

‘त्यहाँ गएका उहाँका साथीहरू कसैसँग पनि मेरो चिनजान भएन, कोसँग कुरा गरेर बुझ्नु?’ सविताले भनिन्, ‘कहाँ हुनुहुन्छ,कस्तो हुनुहुन्छ केही अत्तोपत्तो छैन।’

नेपालमा छँदा ऋणको भारीले थिच्दै थियो अभिषेकलाई। आर्थिक आम्दानीका अनेकन उपाय अपनाए। तर ती उपायले उनको ऋणको भारलाई थेग्न सकेनन्।

अभिषेकको परिवार घोराहीमा बस्दै आएको थियो। डेरा लिएर बसेको अभिषेकको परिवारको आयस्रोतको आधार निकै कमजोर थियो। अनि घोराहीमा अटो रिक्सा किनेर चलाउने निर्णयमा पुगे अभिषेक। तर अटो किनेर चलाउन सुरु गरेको केही समयमै कोभिड संक्रमण बढ्यो, लकडाउन भयो।

‘अटो भर्खर किनेका थियौँ, सुरुको बेलाको लकडाउन भयो,’ सविताले भनिन्, ‘लकडाउन भएपछि अटो चलाउनै पाइएन।’

घोराहीमा डेरा गरि बस्दै आएको यो परिवार गृहजिल्ला रोल्पा फर्कियो। दाङमा किनेको अटो रोल्पाका बाटोमा कुदाउन थाले अभिषेकले। तर अटो रिक्साको व्यवसायले ऋणको भारी कम हुने छाँट देखेनन् उनले। अनि फेरि दुई छोरा, एक छोरी र श्रीमतीसहित दाङ घोराही झरे अभिषेक। यहाँ आएर ठेकेदारहरूसँग काममा लगे।

‘ठेकेदार अरु नै हुन्थे, उहाँले साईड हेर्ने काम गर्नुहुन्थ्यो,’ सविताले भनिन्, ‘यो काम गर्दा गर्दै उहाँलाई बिदेस जाने रहर जाग्यो।’

पोल्याण्ड पुर्‍याउन भन्दै रकम असुली गर्ने एक दलालको सम्पर्कमा पुगे उनी। अभिषेक ठगिए। पोल्याण्ड जाने भन्दै दुई लाख रुपैयाँँ दलाललाई बुझाएका अभिषेक दुई बर्षसम्म पोल्याण्ड उड्न पाएनन्। न त पोल्याण्ड जान भनेर बुझाएको रकम नै फिर्ता पाए।

‘दुई वर्षसम्म पनि पोल्याण्ड पठाएन दलालले,’ सविताले भनिन् ‘न त पैसा नै फिर्ता दियो।’

पोल्याण्ड यात्रा असफल भएपछि अभिषेकको नजरमा रुस बन्न थाल्यो। तुलसीपुरका एक व्यक्तिमार्फत रुस जाने बाटोमा लाग्न थाले उनी। अभिषेकले सुरुमा यो कुरा परिवारलाई सुनाएका थिएनन्। रुस यात्राका लागि भिसा आएपछि मात्रै उनले परिवारलाई जानकारी दिए।

‘रुस जान लागेको भनेर भिसा आएपछि मात्रै मलाई भन्नुभयो, सुरुमा त उहाँले हामीलाई थाहै दिनुभएन,’ सविताले भनिन्, ‘तर मैले त्यहाँ जाने हैन, बरु साउदी, कतार, मलेशिया जानुस् भनेर रोक्न खोजेँ।’

तर आर्थिक स्रोत कमजोर हुँदा बिक्षिप्त जस्तै बनिसकेका अभिषेकले आर्थिक स्रोत बलियो बनाउने एउटा मात्रै गन्तव्य रुसलाई रोजे।

‘ग्रीन जोनमा हुँदा ढाईदेखि तीन लाख रुपैयाँँ र रेड जोनमा परियो भने चार लाख रुपैयाँँसम्म मासिक कमाइ हुन्छ भन्नुभयो,’ सविताले भनिन्, ‘तैपनि मैले मान्दै मानेको थिइनँ।’ सविताको आग्रहलाई अभिषेकले बेवास्ता गरिदिए र भने ‘म रुसमै जान्छु, मरिहालेछु भने पनि तिमीहरू राम्रोसँग बस्नु, अरु देशमा गएर ऋणको भारी फाल्न सकिन्न।’

अनि भदौ २६ मा रुस जान भन्दै जहाज चढेका थिए अभिषेक।

‘सिधै रुस जान मिल्ने रहेनछ, कुन–कुन देश हुँदै आईपुगेँ भन्नुभएको थियो,’ सविताले भनिन् ‘नजानुस् भन्दा नमानेर गएको मान्छे अहिले सम्पर्कमै हुनुहुन्न।’

अभिषेक सम्पर्कमा नआएपछि धेरैपटक ज्योतिषकहाँ ‘हात हेराउन’ पुगिसकेकी छिन् सविता।

‘हात हेराउन गएको भागेर दुई समुद्रको बिचको जंगलमा लुकेर बसेको भनेका छन्,’ सविताले भनिन् ‘बरु एक रुपैयाँँ चाहिएन, उहाँ सकुशल घर आइदिए हुन्थ्यो।’

सविता दुई छोरा र एक छोरीसहित घोराहीमा डेरा गरी बस्दै आएकी छिन्।