बिपिन आउने बाटो हेरिरहेका परिवार

बिपिन आउने बाटो हेरिरहेका परिवार File Photo

काठमाडौं। कञ्चनपुरका किशोर जोशीलाई इजरायल-हमासबीचको सातादिनको युद्धबिरामको खबरपछि हर पलहरू नयाँ नयाँ आशाले अत्याइरहेका थिए। उनलाई लागेको थियो- हमासले थुनिराखेका उनका भाई बिपिन अब घर फिर्नेछन्।

युद्धबिरामको पहिलो दिनदेखि नै मनमा ठूलो शान्ति पैदा भइरह्यो। हमासको पञ्जाबाट मुक्ति खोजिरहेका भाइ बिपिनको रिहाईका लागि पुकार गरेका किशोर आफ्ना भाइको घर आगमन हुनेमा पक्का जस्तै थिए।

तर, यो युद्धबिरामका दौरान हमासको नियन्त्रणमा रहेका इजरायल अनि थाइल्याण्ड र केही अमेरिकी नागरिक पनि मुक्त भए।

धेरै पल त्यसै बितिगए। हप्ता दिन बित्यो। एकाएक फेरि गाजामा बमहरू बर्सन थाले। मान्छे मरेको र मारिएको खबरहरू फेरि छाउन थाले तर बिपिन आएनन्।

कम्तीमा ११० इजरेली बन्धक रिहा गरेको हमासले नेपालका बिपिनलाई भने छोडेन। यो युद्धबिरामका बेला पनि बिपिन रिहा नभएपछि जोशी परिवारमा बिपिनको आगमनको आश फेरि मत्थर बनिदिएको छ।

‘चार दिने युद्धबिराम भयो, त्यो बेला भाइ रिहा भएर घर आउँछ भन्ने ठूलो आशा थियो,’ किशोरले टेलिफोनमा भने, ‘१० दिने युद्धबिराम पनि सकियो, तर भाइलाई हमासले छोडेन, अब के हुने हो केही थाहा छैन।’

युद्धबिराम सकिए लगत्तै फेरि सुरु भएको युद्धको खबरले परिवारको मनमा चिसो पसेको छ।

‘फेरि वार सुरु भएको भनेर समाचार आइरहेका छन्,’ बिपिनका दाजु किशोर भन्छन्, ‘फेरि केही हुने हो कि भन्ने चिन्ताले सताइरहेको छ।’

बिपिन कुन अवस्थामा छन्? कसैलाई थाहा छैन। सरकारलाई थाहा छैन। हमासले केही भनेको छैन। इजरायलले बिपिन हमासकै नियन्त्रणमा रहेको अनुमान लगाइदिएको छ। किशोरहरूलाई त थाहा हुने कुरै भएन।

केही दिनअघि गाजाको एउटा अस्पतालमा सिसिटीभीमा कैद भएको एक भिडियो सार्वजनिक भयो। त्यसलाई इजरायलको सुरक्षा निकायले त्यहाँ उपचारका लागि लगिएका दुईजना घाइतेमध्ये एकजना नेपाली र एकजना थाई नागरिक भएको भनेर सामाजिक सञ्जालमा फैलाइदियो।

नेपाललाई आश लागेको त्यत्ति हो- बिपिन हमासको नियन्त्रणमा छन् र जिउँदै छन्। त्यो बाहेक उनका बारेमा अरु कुनै स्पष्ट खबरहरू न परिवारले सुनेका छन् न कुनै सरकारले सुनाएको छ।

‘हामीलाई त जिउँदो छ कि मृत्यु भैसक्यो भन्ने केही थाहा थिएन,’ किशोर भन्छन् , ‘केही दिनअघि एउटा अस्पतालमा खिचिएको भिडियोमा भाई देखियो, अनि बल्ल ढुक्क भयौँ।’

इजरायलको किवुज भन्ने स्थानमा तरकारी फार्ममा काम गर्ने र कृषि अध्ययनका लागि पुगेका थिए बिपिन।

सुदुरपश्चिम कृषि विश्वविद्यालयमा अध्ययनरत उनी ‘सिक्दै र कमाउँदै’ कार्यक्रम अन्तर्गत बिश्वविद्यालयमार्फत इजरायल पुगेका हुन्।

यो स्थान हमासले आक्रमणको तारो बनाएको ठाउँ पनि हो।

‘किवुज भन्ने स्थान हमासले आक्रमण गर्न सक्ने जोखिमको ठाउँ होला भन्ने पहिले थाहै भएन,’ किशोर भन्छन्, ‘नत्र त्यो ठाउँ असुरक्षित भन्ने थाहा भएको भए त त्यो ठाउँमा नबस्न भन्थ्यौँ ।’

१९ असोजमा बिपिन बसेको किवुजमा एक्कासी बमबारी भयो। बिहान ९ बजेतिर भएको हमासको पहिलो आक्रमणबाट बिपिन जोगिए। यता हमासले किवुजमा आक्रमण गरेको भन्ने समाचार परिवारले थाहा पायो। अनि मध्यान्ह १२ बजेतिर दाजु किशोरले बिपिनलाई भिडियो कल गरे। बिपिनले खाना खाँदै थिए।

‘उसले खाना खाँदै थियो, आफू बसेको स्थानमा आक्रमण भएको र आफू सुरक्षित छु भनेको थियो,’ उनी भन्छन् ‘छोटो कुराकानी गरेर उसले फोन काटेको थियो।’

परिवारका अनुसार दोस्रो आक्रमणको मारमा बिपिन परेछन्। बिपिन बसेको स्थानमै छिरेका हमास समूहका लडाकुहरुले बिपिन सहित धेरैलाई त्यहाँबाट बन्धक बनाएर लगे।

‘दोस्रोपटक फेरि आक्रमण भएछ, भाइ बसेको स्थानमा हमासका लडाकुहरू पसेर नियन्त्रणमा लिएका रहेछन्’ किशोरले भने ‘जति फोन सम्पर्क गर्दा पनि फोन लाग्दै लागेन, त्यो बेला पक्कै केही भएकै हुनुपर्छ भन्ने लाग्यो।’

युद्धबिराम सकिएपछि बिपिनको रिहाईको अनिश्चितता लम्बिएको छ। परिवारले सरकारसँग हारगुहार गरिरहेको छ। परराष्ट्रमन्त्री एनपि साउदसमक्ष बिपिनको रिहाईका लागि अनुरोध गरिरहेको छ।

सरकारले भने बिपिनको रिहाईका लागि पहल गरिरहेको बताइरहेको छ।

‘रिहाईका लागि पहल भइरहेको मात्रै भन्छ सरकारले,’ बिपिनका दाजु किशोरले भने, ‘कुटनीतिक पहल गरेर चाँडो भाइको रिहाईको व्यवस्था मिलाइदिए हुन्थ्यो।’