भूकम्प पीडितलाई एनआरएनए हङकङले पठायो १८ लाख

भूकम्प पीडितलाई एनआरएनए हङकङले पठायो १८ लाख

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङले भूकम्प पीडित परिवारलाई १८ लाखभन्दा बढी आर्थिक सहयोग पठाएको छ।

भूकम्प प्रभावितको राहतका लागि एनसीसी हङकङले १ लाख ७ हजार ९८७ हङकङ डलर ( करिब १८ लाख २७ हजार नेपाली रुपैयाँ) पठाएको अध्यक्ष गोकर्ण प्रसाद ढकालले जानकारी दिए।

सो रकम वालुवाटारस्थित संघको केन्द्रीय कार्यालयमा पठाइएको हो।

जाजकोट र रुकुमका भूकम्प पीडत परिवारलाई सहयोग जुटाउन एनसीसी हङकङले आर्थिक संकलन अभियान चलाएको प्रवक्ता विश्वनाथ घिसिङले बताए।

कोषमा पुन मगर संघ हङकङ, हङकङ नेप्लिज माइनोरिटिज अर्गनाईजेसन, मगर एसोसिएसन हङकङ, सप्तरङ्गी महिला समूह हङकङ र केही चिनिया नागरिकले समेत सहयोग गरेका थिए।

आर्थिक संकलनमा युवा संयोजक इन्दर पुन र महिला संयोजक कबिता गुरुङले विशेष भूमिका निर्वाह गरेका थिए।

भूकम्प लगत्तै संघको केन्द्रीय समितिले पहिलो चरणमा जाजरकोट र रुकुममा खाद्यन्न, त्रिपाल, लत्ताकपडा, औषधीलगायतका राहत सामाग्री वितरण गरेको थियो।

संघका केन्द्रीय महासचिव गौरीराज जोशीले हङकङबाट १८ लाखभन्दा बढी रकम प्राप्त भएको जानकारी गराउँदै अन्य एनसीसीबाट पनि रकम आउनेक्रम जारी रहेको बताए।