रुसी सेनामा भर्ना भएका ३ नेपालीको मृत्यु

रुसी सेनामा भर्ना भएका ३ नेपालीको मृत्यु

काठमाडौं । युक्रेनविरुद्ध लड्नका लागि रुसी सेनामा भर्ती भएका ३ जना नेपालीको मृत्यु भएको छ।

मस्कोस्थित नेपाली दूतावासका उच्च अधिकारीका अनुसार उनीहरू मारिएको घटनाबारे विस्तृत विवरणहरू नेपाल सरकारलाई पठाइसकिएको छ।

दूतावासकाअनुसार स्याङ्जा पुतली बजारका प्रितम कार्की, दोलखा मेलुङका राजकुमार रोका र इलामका गंगाराज मोक्तानको निधन भएको हो।

उनीहरूको गत १५ नोभेम्बरमा मृत्यु भएको हो।

त्यसको विस्तृत खोजी गरेर दूतावासले चार दिनअघि मात्रै नेपालस्थित कन्सुलर विभागलाई मृतकका आफन्तसँग समन्वय गरिदिनका लागि पत्राचार गरेको थियो।

उनीहरूको शव व्यवस्थापन र नेपाल पठाउनका लागि रुसी सेनासँग समन्वय भइरहेको दूतावासले जनाएको छ।

उनीहरू कुन घटनामा कसरी मारिएका हुन् भन्ने अझै खुलाइएको छैन।

रुस र युक्रेनबीच युद्ध चर्किरहँदा रुसी सेनामा भर्ना भएका नेपाली युवाका बारेमा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पनि लेख्दै आएका थिए। तर नेपाली अधिकारीहरूले भने त्यो कुराको पुष्टि गरिरहेका थिएनन्।

यसअघि लडाईंमा होमिएका अरु नेपाली घाइते भएका समाचारहरू पनि सार्वजनिक भएका थिए।