भूकम्प पीडितको दैलोमा एनआरएनएद्धारा करोड बढीको राहत

भूकम्प पीडितको दैलोमा एनआरएनएद्धारा करोड बढीको राहत

जाजरकोट। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण गरेको छ।

जाजरकोट र रुकुम पश्चिमका पीडत परिवारलाई संघले पहिलो चरणमा १ करोडभन्दा राहत सामग्री वितरण गरेको हो।

संघका अध्यक्ष डा. बद्री केसी र महाचिव गौरीराज जोशी नेतृत्वको टोलीले भूकम्प प्रभावितहरुलाई प्रत्यक्ष भेटेर राहत सामग्री हस्तान्तरण गरेको हो।

छुट्टाछुट्टै समूहले जाजरकोट र रुकुम पश्चिममा स्थानीय सरकारको समन्वयमा राहत वितरण गरेको महासचिव जोशीले जानकारी दिए।

जाजरकोटमा राहत वितरणको संयोजन सचिव मनोज गोर्खालीले गरेका थिए।

जाजरकोटको बगान गाउँमा राहत सामग्री वितरण गर्दै अध्यक्ष केसीले भूकम्पले सिंगो देशलगायत विदेशमा रहेका नेपालीहरूको मन दुख्दा विदेशमा बस्ने नेपालीले गाँस काटेर संकलन भएको सानो सहयोग भूकम्प पीडित समक्ष ल्याएर हस्तान्तरण गरिएको बताए।

उनले सन् २०१५ मा गएको महाभूकम्पमा समेत संघले ५ सयभन्दा बढी स्वयंसेवक खटाएर राहत तथा उद्धारमा सहयोग गरेको स्मरण गर्दै जाजरकोट र रुकुम पश्चिमको पुर्नर्निमाणमा समेत विदेशमा बस्ने नेपालीहरूले सहयोग गर्ने प्रतिबद्धता जनाए।

यस्तै, संघका महासचिव गौरीराज जोशीको नेतृत्वमा रुकुम पश्चिम पुगेको संघको टोलीले स्थानीय सरकारको समन्वयमा मंगलबार राहत सामग्री वितरण गरेको छ। सो टोली तीन दिन लगाएर भूकम्प प्रभावित क्षेत्रमा पुगेको हो।

रुकुम पश्चिमको राहत वितरणको संयोजन उपमहासचिव प्रविन गुरुङले गरेका थिए। गुरुङका अनुसार भूकम्प अति प्रभावित आठबीसकोट नगरपालिकामा संघको तर्फवाट भूकम्प पीडित घरपरिवारहरूको लागि राहत सामग्री हस्तान्तरण गरिएको हो।

संघले रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा त्रिपाल २०० थान, फेन्सी कपडा १० सेट (२०० थान), ब्लाङ्गकेट २०० थान, चप्पल ४०० जोर, चामल ४०० बोरा, दाल १०० केजी, १००० लिटर तेल, ५०० केजी नुन लगायतका राहत सामग्री हस्तान्तरण गरेको छ। जाजरकोटमा पनि सोही परिमाणमा राहत सामाग्री वितरण गरिएको हो।

गुरुङले भूकम्पपीडितसम्म पुगेर राहत वितरण गर्दा स्थानीयहरूमा खुशी छाएको र अझै सहयोग आवश्यक रहेको बताए।

उनले भने, ‘निकै कठिन यात्रा गरेर भूकम्प पीडितसम्म पुगेर राहत वितरण गर्न पाउँदा विश्वभर रहेका नेपालीको प्रतिनिधित्व भएको छ।’

यस्तै, संघले स्यानिटरी प्याड तथा विभिन्न औषधी समेत उपलब्ध गराएको छ।

अध्यक्ष डा केसी र महासचिव जोशीसहित महिला उपाध्यक्ष रोजिना प्रधान, उपमहासचिव  गुरुङ, सचिव गोर्खाली, सहकोषाध्यक्षद्धय कृष्ण तिमल्सीना, अभिमन्यू बस्नेतलगायतको टोली भूकम्प प्रभावित क्षेत्रमा खटिएको थियो।

संघले यसअघि प्रधानमन्त्री राहत कोषमा १० लाख दिने घोषणा गरिसकेको छ।

यस्तै, भूकम्प पीडितका लागि स्वास्थ्य सल्लाह दिने उदेश्यले संघले हटलाइन सेवा संचालनमा समेत ल्याएको छ।

संघको स्वास्थ्य समितिका संयोजक डा. संन्जिव सापकोटाका अनुसार पिडितहरुले फोन, भाइभर, व्हाट्सए वा टेक्ट् मार्फत सिधैं स्वास्थ्य विज्ञहरुसंग सम्पर्क गर्न सक्ने छन्।

संघले सेन्टर फर अमेरिकन मेडिकल स्पेशलिस्ट र एयसके फाउण्डेनशनको सहकार्यमा २४ सै घण्टा सो सेवा संचालनमा ल्याएको हो।

स्वास्थ्य सेवा सम्बन्धी हटलाइनहरु

डा. भूपेन्द्र मल्ल ९८४९६७९३०७
ड. शिवराम महतो ९८५२८३४७३०
डा. उज्ज्वल कुमार झा ९८६७३२५५५५