नेपालद्वारा मलेसिया ६ विकेटले पराजित

नेपालद्वारा मलेसिया ६ विकेटले पराजित

काठमाडौं। आइसिसी ट्वान्टी- २० विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा नेपालले मलेसियालाई छ विकेटले पराजित गरेको छ। जारी प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जीत हो। यसअघि हिजो भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई आठ विकेटले पराजित गरेको थियो।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको मलेसियाले प्रस्तुत गरेको एक सय ६६ रनको लक्ष्य नेपालले १८ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालको जीतका लागि कुशल मल्लले बिस्फोटक ब्याटिङ गर्दैै अर्धशतकीय पारी खेले। उनले ३४ मा  सात छक्का र दुई चौकासहित ६५ रन बनाए। साथै ओपनर कुशल भुर्तेलले चार छक्का र चार चौकाको सहयोगमा महत्वपूर्ण ४३ रन र आशिफ सेखले दुई छक्का र एक चौकाको सहयोगमा ३२ रन बनाए। त्यसैगरी सन्दीप जोराले १८ र कप्तान रोहित पौडेल र विवेक यादवले दुई/दुई रन बनाए।

मलेसियाका लागि मोहम्मद अमिरले तीन र पवनदीप सिंहले एक विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ६५ रन बनायो। मलेसियाले राम्रो सुरुवात गरे पनि मध्यक्रमका ब्याटर चल्न सकेनन्। उसका लागि ओपनर एवम् विकेटकिपर सैयद अजिजले सर्वाधिक ६८ रन बनाए। उनले ४९ बलमा दुई छक्का र आठ चौका प्रहार गरे। साथै जुवैदी जुल्किल्फले २४, शाविन मेनाइडी र विजय उन्नीले समान १३/१३ रन बनाए।

नेपालका लागि अविनाश बोहोराले चार विकेट लिए भने सन्दीप लामिछाने, गुलसन झा रोहित पौडेलले एक/एक विकेट लिए।

नेपाल प्रतियोगिताको समूह एमा छ। नेपालको समूहमा सिंगापुर, मलेसिया, ओमान छन् भने समूह बीमा संयुक्त अरब इमिरेट्स (यूएई), हङकङ, बहराइन र कुबेत छन्। नेपालले तेस्रो खेल यही कात्तिक १६ गते ओमानसँग खेल्नेछ।