एनआरएनए अध्यक्षका प्रत्यासी एउटै मञ्चमा

एनआरएनए अध्यक्षका प्रत्यासी एउटै मञ्चमा

काठमाडौं। गैरआवसीय नेपाली संघ (एनआरएनए) को महाधिवेसनको लागि विश्वभरका एनआरएनए प्रतिनिधिहरु यतिबेला काठमाडौँमा भेला भएका छन्।

संसारभरि छरिएर रहेका प्रवासी नेपालीलाई एकताबद्ध गरेर नेपालको विकास र समृद्धिको लागि टेवा पुर्‍याउने योजनासहित एनआरएनएको नेतृत्व सम्हाल्ने होडमा रहेका उनीहरुले नेपालमा रहँदा एनआरएनए र नेपालको हितमा विभिन्न बहस तथा छलफल गर्दै आएका छन्।

त्यसक्रममा आइतबार काठमाडौँको कान्तिपथमा अवस्थित यल्लो प्यागोडामा एनआरएनएको अध्यक्ष पदका तीन उम्मेदवारले नेपालको विकास, एनआरएनए र महाधिवेसनबारे बहस गरेका छन्।

प्रवास खबर डटकम र टिभी सनडेको संयुक्त आयोजनामा गरिएको बहसमा अध्यक्ष पदका उम्मेदवारहरु महेश श्रेष्ठ, बद्री केसी र आरके शर्मा सहभागी थिए।

बहसका क्रममा उम्मेदवार एवम् हालका कार्यकारी अध्यक्ष डा।बद्री केसीले आफूले गरेका कामहरु नै आफ्नो चुनाव जित्ने आधार रहेको बताए। उनले अघिल्लो कार्यकालमा गर्न नपाएका र नसकेका काम आउँदो कार्यकालमा पूरा गर्ने वाचा दिए।

‘विगतका वर्षमा मैले कार्यभार सम्हाल्दै गर्दा धेरै कार्यहरु गरेँ। त्यसमा केही अधुरा पनि छन्,’ उनले भने, ‘ती कार्यहरु सम्पादनका लागि भएपनि मेरो उम्मेदवारी रहेको छ।’

यसैगरी अर्का उम्मेदवार  शर्माले ‘गैरआवासीय नेपालीको अभियानस् स्वदेशमा लगानी, प्रवासमा सम्मान’ भन्ने नारासहित २४ महिनाको लागि २४ वाचा र योजनासहित नेतृत्वमा दाबी गरेका बताए। प्रवासी नेपाली कामदारहरुको हकरहितको लागि अथक प्रयास गर्ने उनको भनाइ थियो।

‘मेरो कार्यकालमा फुटेको होइन, जुटेको एनआरएन बन्नेछ,’ शर्माले भने, ‘आइसिसी गठन हुने बित्तिकै सबै गैरआवासीय नेपालीलाई एकताको मालामा उन्ने अभियानमा लाग्नेछु। विश्वभरि छरिएर रहेका प्रवासी नेपालीलाई एकताको सूत्रमा बाँधी भरोसायोग्य, विश्वसनीय र संगठित एनआरएनए बनाउने मेरो प्रमुख लक्ष्य रहनेछ।’

यसैगरी अध्यक्ष पदका उम्मेदवार महेशकुमार श्रेष्ठले ‘समुन्नत नेपाल, सम्मानित गैरआवासीय नेपाली’ भन्ने नारासहित १० अर्बको सामूहिक लगानी कोषलाई पहिलो प्राथमिकतामा राख्ने बताए।

‘समुन्नत नेपाल, सम्मानित गैरआवासीय नेपाली’ नारासहित दुई वर्षे कार्यकालमा नेपालमा वैदेशिक लगानी भित्र्याउन ठोस नीतिगत पहल गर्ने मात्र होइन, गैरआवासीय नेपालीहरुको पुँजीलाई जन्मभूमिको विकासका लागि योगदान गर्ने उद्देश्यले सुरू गरिएको रु। १० अर्बको सामूहिक लगानी कोषलाई तत्कालै कार्यान्वयन गर्ने पहिलो प्राथमिकतामा राख्नेछु,’ श्रेष्ठले भने।

पद र प्रतिष्ठाका लागि भन्दा पनि संघलाई ठोस योगदान गर्नको लागि उम्मेदवारी दिएको उनको भनाइ छ।

‘सबल, साझा र एकताबद्ध एनआरएनए, परिणाममुखी, पारदर्शी र समावेशी एनआरएनए’ बनाउने मेरो प्रमुख उद्देश्य र सर्वोच्च प्राथमिकता हुनेछ,’ उनले भने, ‘एनआरएनएमा विगतको मेरो भूमिकालाई नजिकबाट अवलोकन गर्नुहुने सम्पूर्ण गैरआवासीय नेपाली समुदायलाई म पद र प्रतिष्ठाका लागि भन्दा पनि संघलाई ठोस योगदान दिने उद्देश्यले सक्रिय हुँदै आएको छु।’ विजयी भएर शपथ लिएका दिनदेखि वार्षिक क्यालेन्डर र कार्ययोजना बनाएर सबैको विश्वास जित्नेगरी काम गर्ने उनको भनाइ छ।

महाधिवेसन यही  १८-२० अक्टोबरमा  हुँदैछ।