गंगाधरलाई ‘टीम आरके’मा ल्याउन कसरत

गंगाधरलाई ‘टीम आरके’मा ल्याउन कसरत

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि अध्यक्षका प्रत्यासी राजेन्द्र कुमार शर्मा (आरके)ले बेल्जियमका गंगाधर गौतमलाई महासचिवमा उठाउन प्रयास गरेका छन्।

अहिले सचिव पदमा रहेका गौतमले आउँदो कार्यकालमा महासचिवमा उम्मेदवारी घोषणा गरेका छन्। उनी कांग्रेस निकट हुन्।

प्रजातान्त्रिक पक्षले अमेरिकाबाट बुद्धि सागर सुवेदीलाई महासचिवको उम्मेदवार बनाउने पक्का भएको छ।

यता,गौतमले भने महासचिव पद आफूले कुनैपनि हालतमा नछोड्ने अडान लिइरहेका छन्।

कांग्रेसको आधिकारिक ‘लिष्ट’मा नपरेका गौतमलाई ‘टीम आरके’ले अफर गरिरहेको छ।

चुनावी माहोल मिलाउन काठमाडौं ओर्लिएका गौतम हिजो बेलुका मात्र कमभूमि फर्किएका छन्।

‘गैरआवासीय नेपाली संघलाई थप एकीकृत, सुसङठित , मर्यादित र सबैको साझा बनाउन मैले प्रस्तुत गरेको महासचिव पदको उम्मेदवारीमा प्रत्यासी उम्मेदवार मित्र बुद्धि सुवेदी र गौरीराज जोशी जीले एक जना एक कदम अगाडि र एक जना एक कदम पछाडि आफुलाई उभ्याई महासचिव पदमा सर्वसम्मतको वातावरण निर्माण गर्न समेत अनुरोध गर्दछु,’ नेपालबाट फर्किने बेला उनले फेसबुकमा लेखेका छन्।

बेल्जियम फर्किदा केही समय दोहामा रहने उनको तालिका छ। दोहामा शर्मा निकटका व्यक्तिसँग उनको छलफल हुनेछ।

गौतमलाई हिजो बेलुका दोहाको विमानस्थलमा शर्मा निकट व्यक्तिले स्वागत गरेका थिए।

गौतमलाई नेपालबाट शर्माकै टीमबाट सचिवमा लड्ने तयारी गरेका लोक प्रसाद दाहालले विदाइ गरेका थिए।

गौतमलाई टीममा ल्याउनसके युरोपबाट बढी मत आउनसक्ने शर्मा समूहको आंकलन छ। गौतमको युरोपमा प्रभाव राम्रो रहेको बताइन्छ।

शर्माको टीममा रहेका शनिकुमार वलीले भने अहिलेसम्म यो विषयमा त्यस्तो छलफल नभएको बताए।

‘अध्यक्षमा आरके जीलाई ल्याउनुपर्छ भन्ने हो। टीममा अरु क–कसलाई समावेश गर्ने भन्ने विषयमा अहिलेसम्म त्यस्तो कुनैपनि निर्णय भएको छैन,’ उनले प्रवास खबरसँग भने।