एनआरएनए महाधिवेशन निर्धारित मितिमै हुने पक्का

एनआरएनए महाधिवेशन निर्धारित मितिमै हुने पक्का File Photo

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरनए)को अन्तर्राष्ट्रिय महाधिवेशन निर्धारित मितिमै हुने पक्का भएको छ।

काठमाडौंको सोल्टी होटलमा आयोजना हुने संघको एघारौं विश्व सम्मेलनका लागि परराष्ट्रमन्त्री एनपी साउदको अध्यक्षतामा उच्चस्तरीय आयोजक समिति गठन भएको कार्यकारी अध्यक्ष डा. बद्री केसीले बताए।

समितिमा राष्ट्रिय योजना आयोगका सदस्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव, परराष्ट्र सचिव, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव, अर्थ सचिव, गृहसचिव, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवलगायत अन्य सरोकारवाला निकायका उच्चस्तरीय प्रतिनिधि रहेका छन्।

यस्तै, नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत, नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, नीति, योजना विकास कूटनीति तथा विदेशमा बस्ने नेपालीसम्बन्धी महाशाखा परराष्ट्र मन्त्रालयका सहसचिव, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष, नेपाल उद्योग परिसंघका अध्यक्ष, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष, गैरआवासीय नेपाली संघका अध्यक्ष र गैरआवासीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत सदस्य रहेका छन्।

सरकारले विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप, पूँजी, प्रविधि, सञ्जाल र पहुँचलाई नेपालको आर्थिक–सामाजिक विकासमा परिचालन गर्ने नीतिलाई उच्च प्राथमिकता दिँदै आएको छ।

सम्मेलन आगामी १७ अक्टोबरदेखि तीन दिनसम्म चल्नेछ।

पदाधिकारीबीचको लफडा र राजनीतिक हस्तक्षेपका कारण संघको दशौं महाधिवेशन भाँडिएको थियो। महाधिवेशन भाँडिएपछि अन्तत : ६ महिनापछि नेतृत्वमा भागबण्डा लगाएर जम्बो टोली बनाइएको थियो।

कतिपय गैरआवासीय नेपालीलाई यसपटक पनि तोकिएको मितिमा निर्वाचन हुन्छ– हुँदैन भन्नेमा आशंका थियो। बाहनाबाजी गरेर यसपटक पनि चुनाव बिथोलिने हो कि भन्ने डर उनीहरूमा थियो।

तर, अध्यक्ष केसीले यसपटक सम्मेलनको मिति दायाँ–बाँया नहुने बताएका छन्। सरकारले पनि उच्चस्तरीय समिति बनाइसकेकाले महाधिवेशन तोकिएकै मितिमा हुने उनको भनाइ छ।