राजनीतिक हस्तक्षेपले अब एनआरएनएको चुनाव रोकिन्न : प्रवक्ता, सापकोटा

राजनीतिक हस्तक्षेपले अब एनआरएनएको चुनाव रोकिन्न : प्रवक्ता, सापकोटा

काठमाडौं। पदाधिकारीबीचको आन्तरिक विवाद र राजनीतिक हस्तक्षेपका कारण गैरआवासीय नेपाली संघ (एनआरएनए)को अघिल्लो पटक महाधिवेशन नै भएन। अन्ततः एनआरएनए नेतृत्वमा भागवण्डा लाग्यो। अनि इतिहासमै पहिलोपटक तीन अध्यक्षसहित एउटा जम्बो टोली त्यसको नेतृत्वमा पुग्यो।

आलापालोको नेतृत्व सहमतिअनुसार अहिले डा. बद्री केसीले कार्यकारी अध्यक्ष भएर एनआरएनए चलाइरहेका छन्। अबको महाधिवेशन गराउने जिम्मा पनि उनै केसीको काँधमा छ। एघारौं महाधिवेशन आगामी अक्टोबरको तेस्रो साताका लागि तय गरिएको छ।

कतिपय गैरआवासीय नेपालीलाई यसपटक पनि तोकिएको मितिमा निर्वाचन हुन्छ– हुँदैन भन्नेमा आशंका छ। बाहनाबाजी गरेर यसपटक पनि चुनाव बिथोलिने हो कि भन्ने डर उनीहरूमा अझै छ। यसअघि भएको पनि त्यस्तै थियो। प्रतिनिधि छनोटका विषयमा यसपालि पनि केही राष्ट्रमा विवाद आएका छन्। आगामी महाधिवेशनलाई लिएर हामीले संघका प्रवक्ता सोम सापकोटालाई केही प्रश्न गरेका छौं।

प्रवक्ता सापकोटासँग गरिएको कुराकानीको सम्पादित अशं:-

गैरआवासीय नेपाली संघ एघारौं अन्तर्राष्ट्रिय महाधिवेशनको संघारमा छ। तयारी कस्तो भइरहेको छ?

गैरआवासीय नेपाली संघको एघारौं अन्तर्राष्ट्रिय महाधिवेशन आगामी १७-२० अक्टोबरमा काठमाडौंको सोल्टी होटलमा हुँदैछ। हामीले सम्मानीय राष्ट्रपति ज्यू, प्रधानमन्त्री ज्यूलगायत नेपाल सरकारका परराष्ट्र मन्त्रीलाई निमन्त्रणा दिइसकेका छौं।

विधानअनुसार संघका राष्ट्रिय समन्वय परिषद् (एनसीसी)ले आफ्नो अधिवेशन सफलतापूर्वक सम्पन्न गरेर ३१ अगष्टभित्र अन्तर्राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिको नामावली पठाइसकेका छन्। एनसीसीहरूले पठाएका नामवलीमध्ये केही प्रकाशित समेत भइसकेको छ। केही एनसीसीमा भने प्रमाणीकरण गर्नुपर्ने भएकाले हामीले विशेष कमिटि गठन गरेका छौँ। प्रतिनिधि छनोटमा केही देशहरूमा कमीकमजोरी छन् कि भन्ने हिसाबले निर्वाचन आयोगलाई अन्तिम नामावली प्रदान गर्नुभन्दा पहिला त्यसलाई छानविन गरेर अन्तिमरुप दिने क्रममा छौं। केहीदिनमै प्रतिनिधिहरूको नामवली फाइनल हुन्छ।

महाधिवेशनलाई सफल बनाउन विभिन्न्न उपसमितिहरू निर्माण गर्ने तयारीमा छौं। महाधिवेशनमा हुने खर्च सम्बन्धमा पनि छलफल भइरहेको छ। महाधिवेशनका अवसरमा विभिन्न मुद्दाहरूमा बहस गर्ने योजना बनाएका छौँ। यी सबै कामका लागि हाम्रो सचिवलायमार्फत तयारी भइरहेको छ।

१७ अक्टोबरमा महाधिवेशनको उद्घाटन हुनेछ भने २० अक्टोबरमा समापन कार्यक्रम छ।

अघिल्लोपटक तपाईंहरूबीच किचलो भयो। नेपालका केही राजनीतिक दलबाट हस्तक्षेप समेत भयो। गुट–उपगुट बने, महाधिवेशन विथोलियो। नेतृत्व हत्याउने दाउपेचमा अन्तत: संघ नै फुट्यो। इतिहासमै तीन अध्यक्षसहितको जम्बो समिति बनाइयो। यसपटक पनि त्यस्तै त हुने होला नि!

हामी विश्वस्त छौँ, यसपटकको महाधिवेशन स्वच्छ र शान्तिपूर्वक सम्पन्न हुनेछ।

हो, दशौं महाधिवेशनमा केही समस्याहरू देखिए। हामीले महाधिवेशन समयमा गराउन असफल भयौँ। विवाद देखिएपछि अन्तिममा समाधानको बाटो खोजेका थियौँ।

त्योबेला केही साथीहरू छुट्टिएर जाने प्रयास गर्नुभयो। त्यसलाई पनि हामीले अत्यन्तै, सहजतापूर्ण तरिकाले लिएर अहिले काम गरिरहेका छौँ। जो साथीहरू छुट्ने प्रयासमा हुनुहुन्थ्यो, उहाँहरूलाई अहिले हामीले बाटो सिर्जना गरेर छलफल गरिरहेका छौँ। असन्तुष्ट साथीहरूलाई पनि मूल नेतृत्वमै फर्काउने प्रयासमा छौँ।

कतिपय साथीहरू अहिले पनि बाहिर हुनुहुन्छ। तर, यो अध्ययनको मूलधार अति महत्वपूर्ण पाटो हो।

कुनै शंका छैन, गत वर्षभन्दा पनि अहिले निकै चुनौती थियो। अहिले सबै सदस्यहरू एमआइएस सिष्टममार्फत बनेका हुन्। फेस भेरिफिकेशन गरेर मात्र सदस्य बनाइएको छ।

अनलाइन प्रणाली लागू गर्न ठूलो चुनौती थियो। तर, पनि हामी यसमा सफल भएका छौं। अहिले एमआइएस सिष्टमलाई हरेका एनसीसीले विश्वास गरेको अवस्था छ। संघभित्र अब त्यत्ति ठूला विवाद केही छैनन्। असमझदारी छन् जस्तो मलाई लाग्दैन।

११ वटा एनसीसीमा त निर्विरोध कार्यसमिति चयन भए। यसलाई सकारात्मकरूपमा लिनुपर्छ।

हो, साथीहरूका केही सामान्य असन्तुष्टीहरू छन्, त्यस्ता समस्या हामी समाधान गरेर अघि बढ्छौं।

११ औँ महाधिवेशनमा विभिन्न देशका साथीहरूले इच्छा देखाउनु भएको छ। मलाई विश्वास छ, कुनै समस्याबिना साथीहरू निर्वाचन प्रक्रियामा समावेश हुन पाउनुहुनेछ।

हाम्रो, पहिलो प्रयास सहमतिका लागि हुनेछ। मिलेर सहमतिको नेतृत्व खोजौं भन्ने पहिलो प्रयास रहनेछ। निर्विरोध कार्यसमिति चयन गर्न सबैले भूमिका खेल्नेछौँ।

यति सहमति जुट्न सकेन भने प्रजातन्त्रिक प्रणाली अपनाइनेछ। अत्यन्तै सहज तरिकाले निर्वाचनका प्रक्रिया हुनेछन्। मतदान गर्न काठमाडौंमै आउनुपर्ने झन्झट अहिले छैन। नेपालमा आउने प्रतिनिधिले काठमाडौंमा प्रत्यक्ष भोट हाल्न पाउनुहुनेछ। विदेशमा बस्नेले अनलाइनबाटै मतदान गरेर यसपटकको कार्यसमिति चयन हुनेछ। यसपटकको महाधिवेशन सौहाद्रपूर्ण वातावारमा सम्पन्न हुनेछ।

दशौं महाधिवेशनमा विवादको मुख्य जड नै प्रतिनिधि छनोटको थियो। यसपटक पनि प्रतिनिधि चयनमा समस्या देखिएका छन्। ४२ सय प्रतिनिधिमध्ये ३२ सयको मात्र नाम सार्वजानिक गर्नुभएको छ। अहिले पनि प्रतिनिधिकै विषयमा लफडा हुने देखिन्छ त!

यो विषयलाई त्यसरी लिनु हुँदैन। ३१ अगष्टभित्र प्रतिनिधिको नामवली पठाइसक्नुपर्ने प्रावधान हाम्रो विधानमा थियो। प्राविधिक कारणले केही साथीहरूका नाम छुटेका छन्। हामीले त्यति ठूलो रुपमा लिएका छैनौं। अस्तिको आइएस बैठकले जुन नाम छुटेको छ छानविन गरेर समावेश गर्ने निर्णय गरेको छ। साथीहरू छुटेका नामहरू पठाउने प्रक्रियामा हुनुहुन्छ। यसलाई ठूलो इस्यूको रुपमा लिनुहुँदैन। अहिले कुनै पनि देशमा त्यति ठूलो विवाद छैन।

९० प्रतिशत प्रतिनिधि प्राथामिकताका आधारमा एनसीसीले पठाउनुपर्ने नियम छ। यस्तै, १० प्रतिशत प्रतिनिधि निर्वाचित अध्यक्ष्यले सिफारिस गर्न पाउने व्यवस्था छ। यसमा केही साथीहरू छुटेकी वा सूचना समयमा पुगेन अथवा ढिलो गरिएको थियो केही आंशाका छन्। यद्यपि यी आशांका समाधान गर्न हाम्रो न्यायिक समिति छ।

तोकिएकै समयमा महाधिवेशन गराउन हामी सम्यमम् छौं। कहीँकतै कमि कमजोरी रह्यो भने सच्याउँछौं।

अघिल्लो पटक आफू निकटका उम्मेदवारलाई जिताउन नेपाली कांग्रेसका केही व्यक्तिले परराष्ट्र मन्त्रालयका कर्मचारीलाई दवाव दिएर हस्तक्षेप गरेका थिए। जसको परिणाम संघ टुक्रा–टुक्रा भयो। यसपटक पनि जसको शक्ति त्यसकै भक्ति त हुने होइन?

त्यो अहिले मलाई लाग्दैन। राजनीति दलले पनि यो संगठनलाई एउटा स्वतन्त्र संगठनको रुपमा लिनुपर्छ। एनआरएनएलाई राजनीतिमुक्त संस्था बनाउनुपर्छ।

नेपालभन्दा पनि बाहिर एउटा नेपाल छ। त्यो संगठनलाई आफ्नो स्वार्थको लागि पूरा गर्नुहुँदैन। यसमा पक्कै पनि दलका नेताहरू छन्, हुनुपर्छ। एक महिनादेखि हाम्रा अध्यक्षलगायत संघका धेरै पदाधिकारी साथीहरू नेपालमा हुनुहुन्छ। अहिलेसम्म कुनै पनि दलले आफ्नो प्रतिनिधि यो भनेर अगाडी ल्याएको अवस्था छैन। सायद अहिले त्यस्तो नहोला। गत वर्षको किचलोले पारेको असरका बारेमा पक्कै पार्टीका नेताहरू जानकार हुनुहुन्छ।

मैलै के बुझेको छु भने, यसपटक सरकार पनि अत्यन्तै संयम भएको छ। संघका पदाधिकारी पनि अत्यन्तै गम्भिर भएर संस्थालाई बचाउनुपर्छ भनेर लागिपरेका छन्। संस्था जोगाउनकै लागि हामीबीच ठूलो समझदारी भएको छ। यो कुरा राजनीतिक दलका नेताले राम्रोसँग बुझनु भएको छ। पार्टीका नेताले हस्तक्षेप गर्दैमा महाधिवेशन रोकिन्न।

गतवर्ष भएको जस्तो समस्या यसपटक देखिएको छैन। एघारौं महाधिवेशन स्वच्छ, शान्त र भव्यरुपमा सफल हुन्छ।