मलेसिया रोजगारीमा सिन्डिकेटको ‘स’ पनि कल्पना गरेको छैन : राजदूत पौडेल (भिडियोसहित)

मलेसिया रोजगारीमा सिन्डिकेटको ‘स’ पनि कल्पना गरेको छैन : राजदूत पौडेल (भिडियोसहित)

क्वालालम्पुर। पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मलेसियाका गृहमन्त्रीसँग गरेको भेटका विषयमा यहाँस्थित राजदूत डिल्लीराज पाण्डेले स्पष्टिकरण दिएका छन्।

केहीदिन अघि इण्डोनेशिया जानेबेलामा नेपाल क्वालालम्पुर ओर्लिएर गृहमन्त्री सैफुद्दिनसँग भेट गरेका थिए। गृहमन्त्रीसँग भेटघाटको चाँजोपाँजो नेपाली दूतावासले मिलाएको थियो।

नेपाललाई क्वालालम्पुर उतार्न राजदूत पौडेलको जोडबल थियो।

राजदूत पौडेलमाथि पूर्वप्रधानमन्त्री नेपाललाई साक्षी राखेर आफ्नो व्यापारिक प्रस्ताव मलेसियन सरकारसमक्ष राखेको आरोप लागेको थियो।

यहाँसम्मकी मलेसियाका गृहमन्त्रीसमक्ष नेपाललाई एक वर्षपछिको प्रधानमन्त्री भनेर परिचय गराएको गम्भिर आरोप राजदूत पौडेललाई लागेको थियो।

माधव नेपालकै पार्टी नेकपा एकीकृत समाजवादीको भागमा मलेसियाका राजदूत भएका उनी अमेरिकामा बस्दै आएका थिए।

मलेसिया भम्रणमा रहेका बेला पत्रकार बिनेश खनालले पछिल्लो घटनाक्रम र मलेसियामा नेपालीले भोग्नु परेका समस्याका विषयमा राजदूत पौडेलसँग कुरा गरेका छन्।

कुराकानीका क्रममा राजदूत पौडेलले पछिल्लो समय आफूमाथि उठेका विषयमा ठाडै अस्वीकार गरेका छन्। राजदूतको कुर्सीमा बसेर आफूले यस्तो विषय कल्पना समेत गर्न नसक्ने दावी उनले गरेका छन्।

पूर्वप्रधानमन्त्री नेपाल र मलेसियन गृहमन्त्री सैफुद्दिनबीचको भेटघाट मलेसियाका श्रमिकको हितमा भएको दावी उनको छ। नेपाल र गृहमन्त्रीबीच शिष्टाचार भेट गराएको बताउँदै यो भेटघाटले भविष्यमा राम्रो परिणाम आउने उनले बताए।

आफू मलेसिया पुगेपछि श्रमिकका समस्या न्यूनीकरण गर्न जरैदेखि लागेको र केही समस्या समाधान पनि भइसकेको उनले बताए। तर, केही गलत काम गर्दै नेपालीलाई दुःख दिँदै आएका व्यक्तिहरूलाई पछिल्लो समय आफूले गरेका कामले टाउको दुखाई भएको उनको भनाइ छ।

राजदूत पौडेलले सिमित म्यानपावर व्यवासायीको रिमोटका रूपमा काम गरेको आरोपहरू छन्।

उनले भने आफूलाई सिण्डिकेटको ‘स’ भन्ने शब्द पनि थाहा नभएको बताउँदै राजदूत एक्लैले चाहेर पनि रोजगारीमा सिण्डिकेट लगाउन नसक्ने दावी गरे।

मलेसियन गृहमन्त्रीसँगको भेटमा राजदूत पौडेलले नेपाली श्रमिकका हितका लागि भन्दै ८ बुँदे प्रस्तावको मस्यौदा पेश गरेका थिए। आफूले पेश गरेका प्रस्तावका सबै बुँदा श्रमिकमैत्री भएको उनको दावी छ।

केही म्यानपावर व्यवसायीसँग मिलेर श्रमसहचारीलाई बाइपास गर्दै मागपत्र आफैले प्रमाणित गर्ने गरेको आरोप उनीमाथि थियो। तर, उनले भने दूतावासका सबै कर्मचारीसँग आफ्नो तालमेल राम्रो भएको बताएका छन्। दूतावासलाई चुस्त बनाउन सबै कर्मचारीको सहयोग आफूले पाएको उनको भनाइ छ।

भिडियोमा हेर्नुहोस् राजदूत पौडेलसँगको कुराकानी