युवापुस्तामा एनआरएनएप्रति विश्वास जगाउन मेरो उम्मेदवारी : राज रेग्मी

युवापुस्तामा एनआरएनएप्रति विश्वास जगाउन मेरो उम्मेदवारी : राज रेग्मी

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को अक्टोवरमा हुने निर्वाचनमा उपाध्यक्ष पदमा कतारबाट राज रेग्मी (राजु)ले उम्मेदवारी दिने घोषणा गरेका छन्।

अहिले युवा उपाध्यध्यक्ष रहेका रेग्मी संघमा युवा सहभागिता र उद्यमशिलता बढाउने लक्ष्यसहित खुल्ला उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका हुन्।

संघको अभियानमा स्थापनाकालदेखि नै योगदान पुर्‍याउँदै आएका उनी सन् २०१९–२१ कार्यकालमा मध्यपूर्व क्षेत्रको युवा संयोजक भएर काम गरे।

एनआरएन अभियानमा उदयीमान तथा उर्जाशील रेग्मी कतारमा सफल व्यवसायीका अलावा समाजसेवीका रुपमा परिचित छन्।

संघको अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजहरूको आग्रह र साथीभाईको अनुरोधमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयमा आफू पुगेको रेग्मीको भनाइ छ।

कतार तथा नेपालमा सामाजिक कार्यका लागि सदैव अग्रस्थानमा रहेर सहयोग तथा समर्थन गर्दै आएका रेग्मी कसैसँग नबिझाउने पात्र हुन्। उपाध्यक्षमा उनको उपस्थितिलाई विश्वभरका नेपालीले स्वागत गरेका छन्।

चुनावी तयारीलाई लिएर उनीसँग गरिएको कुराकानीको सम्पादित अंश:

केन्द्रीय उपाध्यक्ष पदमा भिड्न तयारी अवस्थामा हुनुहुन्छ। उपाध्यक्ष पद नै किन रोज्नु भएको हो?

हो, मैले आगामी कार्यकालका लागि उपाध्यक्ष (खुल्ला) पदमा उम्मेदवारी दिंदैछु। गैरआवासीय नेपाली संघ जुन उद्देश्य बोकेर सन् २००३ मा स्थापना भयो। यसले लिएको उद्देश्यहरूलाई निष्कर्षमा पुर्‍याउनका लागि अबको नेतृत्व उर्जाशील हुनुपर्छ।

दोस्रो पुस्ताका साथीहरूलाई यो अभियानमा समेटेर यो संस्थाप्रतिको ट्रान्सफर्मेसनका लागि केही गर्ने जमर्को गरेर म आउने कार्यकालका लागि उपाध्यक्ष पदमा अगाडि बढ्ने मनासाय बनाएको छु।

धेरै साथीहरूलाई मैले मेरो उम्मेदवारीका बारेमा भनिसकेको छु। अहिले युवा उपाध्यक्ष भएकाले अब अघिको बाटो नै उपाध्यक्ष हो। र, छिट्टै म औपचारिक रुपमा उम्मेद्वारी घोषणा गर्नेछु।

एनआरएनएमा युवा नेतृत्व कत्तिको स्वीकार्य छ?

गैरआवासीय नेपाली संघ एकपल्टको नेपाली सधैको नेपाली र समृद्ध नेपालको सपना बोकेर २००३ मा स्थापना गर्नुहुने अग्रज दाइहरू उपेन्द्र महतो, जीवा लामिछाने, देवमान हिराचन, भीम उदासलगायत सबै अग्रज दाजुहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहान्छु। यहाँहरूले जुन अभियानका साथ यो यात्रा सुरु गर्नु भयो, त्यही अभियानले गर्दा आज हामी डायस्पोरामा रहेका सम्पूर्ण नेपालीहरू एक ठाउँमा उभिने माध्यम बनेको छ। यो माध्यममार्फत सुखी र समृद्ध नेपाल बनाउने जिम्मेवारी हाम्रो काँधमा आएको छ।

गैरआवासीय अभियानमा धेरै अग्रज अभियान्ताहरूले योगदान दिनुभएको छ। संघले जन्मभूमिप्रति पूरा गर्ने जिम्मेवारी राम्रोसँग निभाएको मैले अनुभव गरेको छु। विदेशमा अप्ठ्यारोमा परेका दाजुभाई दिदिबहिनीहरूको हकहितको लागि यो अभियानले सहयोगको काम गरेको छ। गैरआवासीय नेपाली संघ साच्चिकै समृद्ध नेपाल बनाउनका लागि सारथी हो भन्ने लाग्छ मलाई। अग्रजको योगदानको उच्च मुल्यांकन गर्दै अव केही परिवर्तनका लागि युवाको आवश्यकता छ। एनआरएनएभित्र पनि परिवर्तनको जरुरी छ। हामीजस्ता युवाहरूको आवस्यकता अपरिहार्य छ भन्ने लाग्छ।

तपाईँले छोटो समयमै एनआरएनएको नेतृत्वमा तहमा कसरी छलाङ मार्नुभयो?

त्यस्तो होइन। म २००३ सालमा कतारमा श्रमिकको रुपमा छिरेको हुँ। अग्रज दाईहरूले लिएर आएका उद्देश्यहरू साथै संघले संकल्प गरेका उद्देश्यमा म कतै न कतै जोडिइरहेको छु।

एनआरएनएले बोकेर हिँडेका नाराहरूप्रति म बढी प्रभावित भएर मैले पनि यो अभियानमा जोडिएर केही गर्न सक्छु भन्ने मनासायका साथ आएको हुँ। मैले अप्रत्यक्ष रुपमा पहिलादेखि नै सहयोग गर्दै आइरहेको थिएँ। मलाई पदमै गएर केही गर्नुपर्छ भन्दा पनि संस्थाको लागि सामाजिक काममा सबै मिलेर केही गर्नुपर्छ भन्ने लाग्छ। पछिल्लो समय धेरै अग्रज दाईहरूको साथ, सुझाव र सल्लाहअनुसार म अगाडि बढेको हुँ।

विशेष गरेर मध्यपूर्व वा श्रम गन्तव्य मुलुकबाट पनि एनआरएनएमा चासो राख्ने, राम्रो नेतृत्व गर्नसक्ने क्षमताका व्यक्तित्व पनि छन् भन्ने देखाउनुपर्ने अवस्था आएको छ। संघमा धेरै अभियान्ता तथा अग्रजहरूले दिएको सुझावअनुसार यो पदमा गएर केही गर्न सकिन्छ भन्ने अभिप्राय मेरो छ।

पछिल्लो कार्यकाल म युवा संयोजक, युवा उपाध्यक्षको रुपमा रहेर काम गर्ने मौका पाए। त्यसबेला मैले केही फरक किसिमको कार्यक्रमहरू पनि गरेको थिए। आगामी दिनहरूमा सम्पूर्ण सुभचिन्तक साथीहरूले मप्रति विश्वास गर्नुभयो र ममा केही देख्नुभयो भने पक्कै पनि काम गर्ने मौका दिनुहुन्छ भन्ने आशा र विश्वास पनि गरेको छु।

दशौं महाधिवेशनमा संघ फट्यो। टुटेका मनहरू बाहिर छन्, अवको यात्रा सँगै गर्न तपाईको के भूमिका रहन्छ? 

आगामी कार्यकालको महत्वपूर्ण जिम्मेवारी भनेकै समृद्ध नेपाल बनाउने हो। विचार फरक भए पनि बाटो फरक भए पनि सबैलाई एकैठाउँमा जोडेर अगाडि बढ्नु महत्वपूर्ण पाटो हो।

त्यसका लागि आगामी कार्यकालमा सकेसम्म दशौं महाधिवेशनमा फरक विचार राखेर बस्नुभएका सबै अग्रजहरूलाई मैले विशेष अनुरोध गर्छु की, तपाईं-हामीहरू सिमित समयको लागि बाहिर बसेका छौँ, बाहिर बसे पनि हाम्रो मन, माया मातृभूमिप्रति छ। तसर्थ साँच्चिकै मातृभूमिको विकासको लागि केही गर्ने हो भने तपाईं-हामी फुटेर होइन जुटेर अगाडि बढ्नुपर्छ।

हामीसँग भएका केही असमझदारीहरूलाई एकआपसमा सल्लाह गरेर सबैको मनोभावनालाई समेटेर एकजुट भएर जानुपर्छ। सम्पूर्ण डायस्पोरामा बस्ने नेपालीहरूको माग पनि त्यही हो र त्यसका लागि अगाडि बढ्नुपर्छ र एकता नै हामी सबैको विजयको प्रतिक हो भन्न चाहान्छु। हामी मिल्नुको विकल्प नै छैन।

तपाईँंलाई जिताउनपर्ने आधारहरू?

गैरआवासीय नेपाली संघले स्थापनाकालदेखि नै ल्याएका मुख्य एजेन्डाहरू नै मेरा पनि एजेन्डा हुन्।

नागरिकताको निरन्तरताको विषय नेपाल सरकारले संसोधन गरिसकेको अवस्था छ। त्यसलाई कार्यन्वयन गर्नुपर्नेछ। त्यो जिम्मेवारी हाम्रो काँधमा छ।

त्यो सँगसँगै विशेष गरी मध्यपूर्वलगायत अन्य श्रमिक रहेका देशहरूमा काम गर्ने नेपालीहरूको हकहितको लागि लामो समयदेखि उठाएको सामाजिक सुरक्षा कोष लगभग नेपाल सरकारले सम्बोधन गरेको अवस्था छ। त्यसलाई पनि छिटोभन्दा छिटो कार्यन्वयनमा अगाडि बढाउनु पर्नेछ। सामाजिक सुरक्षा कोषमा सबैलाई जोड्ने हाम्रो जिम्मेवारी हो भन्ने मैले अनुभूति गरेको छु।

यो सँगसँगै अब संघको मुख्य एजेन्डा सुखी र समृद्ध नेपाल बनाउने नै हो। तपाईँ हामी तमाम डायस्पोरामा बस्ने नेपालीहरू छौं। श्रमिकका रुपमा काम गर्दैगर्दा सिकेको ज्ञान र सीप होस् वा अध्ययनका क्रममा विदेशमा हासिल गरेको दक्षता होस्, अव नेपालमा लगानी गर्नुपर्छ। हामीले नेपालको सम्भाव्य क्षेत्रको पहिचान गरी गैरआवासीय नेपाली संघको अभियानमार्फत सामूहिक लगानी गरेर छिटोभन्दा छिटो हाम्रो देशलाई समृद्ध बनाउनु छ। त्यो नै मेरो मुख्य एजेन्डा हो। समृद्धि सँगसँगै हाम्रो एकतालाई बलियो बनाएर संघलाई संस्थाको रुपमा मात्रै नभएर लामो समयसम्मको अभियानको रुपमा बुलन्द बनाउँदै अगाडि बढ्नुपर्ने हाम्रो जिम्मेवारी काँधमा आएको छ। त्यसको लागि म एकदमै अगाडि बढ्नेछु।

एनआरएनए पवित्र उदेश्य बोकेको संस्था तर विकृतिरहित एनआरएनए त बन्न सकेन नि!

हो, हाम्रो निर्वाचनमा प्रतिनिधि छनोट नै अहिलेको असन्तुष्टिको मुख्य जड हो जस्तो लाग्छ। हामी यो अभियानमा जोडिँदा निस्वार्थ भावनाका साथ जोडिने हो। वैचारिक हिसाबको लडाईं गर्ने हो भने वैचारिक हिसाबका संगठनहरू छन्। एकआपसमा इगो लिएर यो सामाजिक संस्थाको पवित्र अभियानमा जुठो बनाउनुहुन्न भन्ने मेरो विचार पनि हो।

यो सामाजिक अभियानमा जोडिंदै गर्दा तपार्इँ हामी एउटै मुलमन्त्रका साथ अगाडि बढ्नुपर्छ। विभिन्न क्षेत्र, वर्ग र विचार बोकेका साथीहरूको संयुक्त ‘फ्यूजन’ हो गैरआवासीय अभियान। आगामी दिनहरूमा यी सबैका मनलाई जोड्नु हाम्रो अपरिहार्यता हो। र, निर्वाचनको प्रकृयालाई सहज बनाउन जति पनि पञ्जिकृत सदस्यहरू हुनुहुन्छ, अनलाइन भोटिङको व्यवस्था हुनुपर्छ। जसले जटिल परिस्थिति भोग्नु पर्दैन।

समयअनुसार फरकफरक किसिमका आवश्यकताहरू हुन्छन्। आवश्यकताअनुसार सबै चिजहरूको परिमार्जन गर्नुपर्छ। जसरी परिमार्जन गरेर अघि बढ्दा संस्थालाई राम्रो हुन्छ यो अभियानले सफलता पाउँछ, यो हिसाबले सोच्न जरुरी छ। एघारौं अधिवेशनपछि सबैं समस्या हल हुन्छ।

अन्तिममा, केही छ भन्नलाई?

म सन् २००३ मा श्रमिककै रुपमा कतार गएको हुँ। ३-४ वर्ष मैले दोहामा रोजगारी गरे। त्यहाँ बसाईको क्रममा मैले धेरै कुराहरू सिक्न पाएँ र केही गर्न सकिन्छ भन्ने लाग्यो। श्रमिकमा गएर आज धेरैथोरै नेपालीहरूलाई रोजगारी दिन सकेको छु। मैले आफूले आफैलाई आत्मसन्तुष्टी महशुस गरेको छु।

जुन उद्देश्यका साथ संघको अभियान सुरु भएको हो। त्यो अभियानमार्फत समृद्ध नेपालको लागि केही गरौं भनेर विगत केही कार्यकालदेखि सोच बनाएको छु। तपाईं हामीले सोचेअनुसारको संघ अघि बढाउन, सुखी र समृद्ध नेपाल बनाउन र आफ्नो मातृभूमिलाई विकसित बनाउनका लागि यो अभियानमार्फत केही गर्न सकिन्छ कि भन्ने अभिप्रायका साथ आगामी महावेशनमा मैले खुल्ला उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरिसकेको छु।

संघमा आवद्ध, अग्रज, अभियान्ताज्युहरू, मेरा समकक्षी साथीहरूलगायत मातृभूमि नेपाललाई माया गर्नुहुने नेपालीजनहरूमा मलाई अत्याधिक मतसहित विजयी गराएर मैले सोचेअनुरुपको कार्यकुशलता यो अभियानमार्फत लगाएर संस्थाको लागि, अभियानको लागि र समृद्ध नेपालको लागि केही गर्न दिनुहुनेछ भन्ने हार्दिक अनुरोध गर्न चाहन्छु।