‘म र केशवजीबीच मात्र सहमति भएको हो, अन्य पदमा छलफल भएको छैन’

‘म र केशवजीबीच मात्र सहमति भएको हो, अन्य पदमा छलफल भएको छैन’

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आउँदो कार्यकालका लागि अध्यक्षका प्रत्यासी महेश श्रेष्ठले आफूले टीम खडा नगरेको बताएका छन्।

प्रवास खबरसँग कुरा गर्दै उनले आफू र अध्यक्षका प्रत्यासी डा. केशव पौडेलबीच एकजना मात्र अघि बढ्ने गरी सहमति भएको बताए।

अहिले आफूले कुनै प्यानल नबनाएको तर्क उनको छ।

‘केशव जीको पनि नेतृत्वमा आउने इच्छा थियो। तर, लामो छलफलपछि हामी दुई जनाबीच मिलेर जाऔं भन्ने सहमति भएको हो,’ उनले भने, ‘अन्य पदमा त्यस्तो केही कुरा भएको छैन। टीममा पनि क–कसलाई अघि बढाउने भन्ने विषयमा अहिलेसम्म त्यस्तो छलफल केही भएको छैन।’

सबैलाई समेटेर अघि बढ्ने उनको भनाइ छ।

यसअघि महासचिवमा अमेरिकाका निर्वतमान अध्यक्ष बुद्धीसागर सुवेदीलाई अघि बढाउने गरी सहमति भएको समाचार आएका थिए। तर, श्रेष्ठले भने अन्य पदमा अहिलेसम्म कुनै सहमति नभएको दावी गरेका छन्।

‘टीम बनाउँदा सबैलाई समेट्ने योजना छ। अहिलेसम्म टीमबारे केही कुरा भएको छैन,’ उनको दावी छ।

चुनावी माहोल मिलाउन आएका श्रेष्ठ आजै नेपालबाट फर्किएका छन्।