एनआरएन विश्व सम्मेलनमा प्रधानमन्त्रीलाई निम्तो

एनआरएन विश्व सम्मेलनमा प्रधानमन्त्रीलाई निम्तो

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले एघारौं महाधिवेशन तथा विश्व सम्मेलनमा प्रधानमन्त्रीलाई निम्तो दिएको छ।

संघका कार्यकारी अध्यक्ष डा.बद्री केसीको नेतृत्वको एक प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेटेर विश्व सम्मेलनका लागि निमन्त्रणा दिएको हो।

अध्यक्ष डा केसीले आगामी अक्टोबरमा हुने आगामी महाधिवेश तथा विश्व सम्मेलनका विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।

प्रधानमन्त्री दाहालले विश्व सम्मेलन सफलताको शुभकामना दिँदै आफू उपस्थित हुने प्रतिबद्धता व्यक्त गरे।

भेटमा संघका अर्का अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली नागरिकता प्राप्तिको बाटो खुलिसकेको बताउँदै नियमावली निर्माणको चरणमा रहेकाले त्यसलाई सहज र एनआरएनमैत्री बनाउन प्रधानमन्त्री तहबाटै पहलकदमी लिन अनुरोध गरे।

जवाफमा प्रधानमन्त्री दाहालले गैरआवासीय नेपाली नागरिकताको सहज कार्यान्वयनमा सरकार सकारात्मक रहेको भन्दै केही अप्ठ्यारो देखिए सुल्झाउँदै अघि बढ्ने बताए।

यस्तै, संघका उपाध्यक्ष आरके शर्माले इराक र कुवेतमा पासपोर्ट नवीकरणलगायत नेपालीहरुले व्यहोर्नुपरेको अन्य समस्या सम्बोधनका लागि कुटनीतिक पहलका लागि प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराए।

प्रधानमन्त्री दाहालले त्यसका लागि पछिल्लो अवस्था मूल्यांकन गरी कूटनीतिक पहल अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

फरक प्रशंगमा प्रधानमन्त्री दाहालले योगदानमा आधारित सामाजिक सुरक्षा कोषको कार्यान्वयनमा गैरआवासीय नेपाली संघले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा उक्त योजनालाई अझ बृहत रुपमा अघि बढाउन आग्रह गरे।

उपाध्यक्षद्वय महेश श्रेष्ठ र डीबी क्षेत्री, महासचिव केशव पौडेल, एनसीसी पूर्व मानार्थ परिषद् सदस्य, सनी वली, पूर्व सल्लाहकार सुरेन्द्र श्रेष्ठ, संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतलगायको सहभागिता थियो।