एनआरएनए अमेरिकामा चुनाव लाग्यो, बञ्जाडे समूहको उम्मेदवारी घोषणा

एनआरएनए अमेरिकामा चुनाव लाग्यो, बञ्जाडे समूहको उम्मेदवारी घोषणा फोटो : हिमालय खबर

काठमाडौं। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) अमेरिकामा चुनावी माहोल सुरु भएको छ।

एनसीसी अमेरिकाकाको आगामी कार्यकालका लागि विभिन्न पदका आकांक्षीहरूले दावी गर्न थालेका छन्।

यसैबीच डा. अर्जुन बञ्जाडे समूहले आइतबार ड्यालसको अर्भिङबाट आफ्नो प्यानलको उम्मेदवारी घोषणा गरेको छ।

बञ्जाडे यसअघि पनि नेतृत्वका आकांक्षी थिए। तर, चुनावी नतिजा भने उनको पोल्टामा परेन।

उम्मेदवारी घोषणा गर्दै उनले एनआरएनए अमेरिकालाई अझ उचाईमा पुर्‍याउने बताएका छन्।

संघलाई पारदर्शी, समावेशी, विश्वसनीय र अपनत्व महसुस हुने गरी रूपान्तरण गर्न आवश्यक भएको बताउँदै यसमा आफ्नो योगदान महत्वपूर्ण हुने दावी उनले गरे।

बञ्जाडेको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा विकास उप्रेती र महासचिवमा गोपेन्द्र भट्टराईले पनि उम्मेदवारी घोषणा गरेका छन्।

यस्तै, उनकै समूहबाट उपाध्यक्षमा प्रेम तामाङ, ज्ञानेन्द्र गुरुङ र नेत्र पाण्डेले पनि उम्मेदवारी घोषणा गरेका छन्। यो समूहले युवा उपाध्यक्षमा रामचन्द्र पन्तलाई उम्मेदवार बनाएको छ।

यसैगरी, शान्ति पौडेललाई महिला सचिवमा उठाउने बञ्जाडे समूहको तयारी छ।

बञ्जाडे समूहलाई केन्द्रीय महासचिव गौरीराज जोशीलगायत उच्च पदाधिकारीको सहयोग रहेको बताइन्छ।

उम्मेदवारी घोषणा सभामा पुगेका महासचिव जोशीले एनआरएनए अमेरिकालाई गतिशिल बनाउन बञ्जाडे योग्य र सक्षम भएको बताए।

यता, दिलु पराजुली समूहले शनिबार नै केन्टुकीबाट प्यानल घोषणा गरेको छ।