एनआरएनएले पोखारामा अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृह बनाउने

एनआरएनएले पोखारामा अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृह बनाउने

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोगार्थ पोखराको महेन्द्रपुलमा निर्माण हुन लागेको अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृहको शिलान्यास भएको छ।

संघका अध्यक्षद्वय बद्री केसी तथा रबिना थापा र महानगरका प्रमुख धनराज आचार्यले संयुक्त रुपमा शिलान्यास गरेका हुन्।

संघकी अध्यक्ष रबिना थापाको संयोजकत्वमा बन्न लागेको शौचालय र चमेना निर्माण पोखरा महानगरपालिकाको स्वामित्वमा बन्नेछ।

उक्त परियोजनाको अनुमानित लागत करीब १ करोड रहेको छ। महेन्द्रपुलको उत्तर तर्फ रहेको कि.न. ८२ को ५ आना क्षेत्रफलमा एनआरएनए र पोखरा महानगरपालिको संयुक्त लगानीमा सुरु हुन लागेको योजनामा एनआरएनएले ६० प्रतिशत र पोखरा महानगरपालिकाले ४० प्रतिशत खर्च गर्ने समझदारी भएको छ।

संघकी अध्यक्ष थापाले लामो समयदेखिको पहल सार्थक भएको भन्दै छिट्टै निर्माण सम्पन्न गर्न आग्रह गरिन्।

यस्तै, संघका कार्यकारी अध्यक्ष डा बद्री केसीले विदेशी स्तरको शौचालय र चमेनागृह निर्माण हुने बताए।

महानगरका प्रमुख धनराज आचार्यले शौचालय सुविधा सम्पन्न होटेलको बराबर हुने बताए। शौचालयबाट ग्याँस निकालिने र त्यसको प्रयोगबाट नेपाली शैलीको चमेना गृह सञ्चालन हुने मेयर बताए।

उक्त क्षेत्र आसपासमा केही चौतारीहरू निर्माण गरिने र अधिकांश स्थान खुल्ला नै राखिने आचार्यले बताए।

‘यो शौचालय पोखराका लागि नमुना शौचालय हुनेछ। अत्याधुनिक प्रविधिको प्रयोग मार्फत स्मार्ट शौचालय निर्माण हुनेछ। चमेनागृहसहित महिला दिदीबहिनीहरूका लागि स्तनपान कक्ष र सेनेटरी प्याडको भेन्डर समेत समावेश हुनेछ’, प्रमुख आचार्यले भने। आगामी जेठ १५ गते गणतन्त्र दिवसका दिन उद्घाटन गर्ने गरी निर्माण कार्य अघि बढाइनेछ।