युरोप र अमेरिकामा हुने एनआरएनए सम्मेलन अन्योलमा

युरोप र अमेरिकामा हुने एनआरएनए सम्मेलन अन्योलमा

काठमाडौं। युरोप र अमेरिकी क्षेत्रमा तय भएका गैरआवासीय नेपाली संघ (एनआरएनए)का क्षेत्रीय सम्मेलनहरू तयारीकै सुरुवातमा विवादित भएका छन्। युरोप क्षेत्रीय सम्मेलन ५ देखि ७ मेसम्म चेक गणतन्त्रको राजधानी प्राग र अमेरिकाज् क्षेत्रको सम्मेलन १४ देखि १५ मेसम्म क्यानडाको टोरोन्टोमा तय भएका थिए।

तर, सम्मेलनको मिति नजिकिदैँ गर्दा संघभित्र आन्तरिक किचोलो बढेको छ। विवाद बढेसँगै यी सम्मेलनहरू हुने नहुने अन्योलता देखिएको पदाधिकारी बताउँछन्।

‘६ महिनापछि एनआरएनएको चुनाव छ। यी क्षेत्रीय सम्मेलनलाई पनि चुनावसँग जोडेर हेरिएको छ। फेरि गुट–उपगुट सुरु भएका छन्,’ संघका एकजना उपाध्यक्षले प्रवास खबरसँग भने ‘कस्तो लाजै मर्दो बनाए ! कम्तिमा तय भइसकेका कार्यक्रम त मिलेर गर्नुपर्छ नि ! एनआरएनएमा एकताको हार्मोनी नै हरायो। बिजोगै बनाए।’

युरोप क्षेत्रीय सम्मेलनको व्यवस्थापनको जिम्मा एनआरएनए चेक रिपब्लिकले लिएको छ। सम्मेलनलाई सफल बनाउन युरोप क्षेत्रीय संयोजकहरू सन्तोष भट्टराई र चिन्तामणि सापकोटाको नेतृत्वमा आयोजक कमिटी समेत गठन गरिएको छ। जसमा सदस्य सचिवको जिम्मेवारी डा. चिरञ्जिवी खड्कालाई दिइएको छ।

एनआरएनए केन्द्रको वेभसाइट र एनसीसी चेकको फेसबुक अपडेट अनुसार युरोप क्षेत्रीय सम्मेलनको तयारी तीव्र रुपमा अघि बढिरहेको देखिन्छ। सम्मेलनमा सहभागी हुने प्रतिनिधिको रजिष्ट्रेसनदेखि होटल बुकिङका लागि अनलाइन प्लेटफर्म खुला गरिएको छ। यस्तै, संघका उच्च पदाधिकारी, एनसीसीका पदाधिकारीलगायत विभिन्न व्यापारिक घरानाबाट स्पोन्सर जुटाउने कार्य भइरहेको छ। सम्मेलनका लागि युरोप क्षेत्रमा रहेका एनसीसीले पनि सहयोग गर्ने प्रतिबद्धता जनाइरहेका छन्।

ओबी बैठकमा युरोप सम्मेलन रोक्न प्रस्ता

युरोप सम्मेलनमा सहभागी हुने अतिथि, प्रतिनिधि, व्यापारी र पत्रकारलाई भिसालगायतका प्रक्रियाका लागि काठमाडौंस्थित सचिवालयबाट निमन्त्रणा पत्र बाँड्न सुरु भइसकेको छ। केहीले त भिसा प्रक्रिया समेत सुरु गरिसकेका छन्।

तर, तयारीको चरणमा आइपुग्दा सम्मेलन नै स्थगित हुने सम्भावना बढेको छ। गत आइतबार बसेको अफिस ब्यारियल (ओबी) बैठकमा सहभागीहरूले युरोपको सम्मेलनमा एकतर्फी हालिमुहाली बढेको भन्दै सम्मेलन नै रोक्नुपर्ने प्रस्ताव गरेका थिए।

ओबी बैठकमा सहभागी एक पदाधिकारीका अनुसार सहभागीले क्षेत्रीय संयोजक सन्तोष भट्टराई र सदस्य सचिव चिरञ्जिवी खड्काले अर्का क्षेत्रीय संयोजक चिन्तामणि सापकोटालगायतका अन्य पदाधिकारीसँग छलफल नै नगरी सम्मेलनका गतिविधि सुरु गरेको भन्दै सम्मेलन रोक्नुपर्ने प्रस्ताव गरेका थिए।

भट्टराई र खड्कामाथि एकतर्फी ढंगले काम गरेको आरोप छ। ‘आफ्नै तरिकाले काम गरेका छन्। छलफल केही विषयमा पनि गर्दैनन्,’ असुन्तष्ट रहेका युरोपका एक पदाधिकारीले प्रवास खबरसँग भने, ‘एमालेको सम्मेलन हो कि एनआरएनएको हो? छुट्याउन मुस्किल छ। त्यसैले यो सम्मेलन रोक्नुको विकल्प छैन।’

प्रवासी मञ्चसँग सम्बन्धित व्यक्तिहरूलाई भट्टराई र खड्काले प्राथामिकता दिएको ती पदाधिकारीको आरोप छ। यो एमालेको प्रवास विभाग संगठन हो।

‘सबैलाई जानकारी भएकै विषय हो, अहिले एनआरएनका सबै पदमा दुई वा दुईभन्दा बढी व्यक्ति छन्। काम गर्दा सबैको सल्लाहमा गर्नुपर्छ। तर, यहाँ सबै एक पक्षीय ढंगबाट भएका छन्। असम्बन्धित व्यक्तिहरूले पनि हालिमुहाली गर्ने प्रयास गरेका छन्,’ ती पदाधिकारी भन्छन्, ‘दुवै आरसी (क्षेत्रीय संयोजक) ले गरेका निर्णय मात्र हामीलाई मान्य हुन्छ। होइन भने सम्मेलन त रोक्नैपर्छ।’

चेकमै विवाद

युरोप क्षेत्रीय सम्मेलनलाई लिएर चेक रिपब्लिककै केही पूर्वपदाधिकारीहरू असुन्तष्ट देखिएका छन्। एनआरएनए चेकको स्थापनाकालमा सक्रिय रहेका केही व्यक्तिहरूको एनआरएनए चेकका अहिलेका पदाधिकारीसँग मतभेद छ। अहिले एनआरएनए चेकमा नयाँ पुस्ताको बाहुल्य छ। जसमा केही विद्यार्थी समेत छन्।

‘यहाँ पुरानाले नयाँलाई नगन्ने, नयाँले पुरानालाई नगर्ने प्रवृत्ति छ। धेरै समयअघि आएकाहरू व्यवसायमा जमेर बसेका छन्। नयाँ पुस्ता भने अलिकति पढेलेखेका छन्,’ चेकमा रहेका एक सदस्यले प्रवास खबरलाई सुनाए, ‘नयाँले हामी सबै जानेका, पढेलेखेका भनेर पुरानालाई गन्दैनन्। पुरानाले भर्खर आएका फुच्चेहरूलाई धेरै भाउ किन दिने?, यिनीहरूले हामीले भनेको मान्नुपर्छ भनेर नयाँलाई टेर्देनन्। त्यसैले यहाँ बेला–बेला लफडा मच्चिन्छ। बाहिर मात्र नआएको हो।’

चेकमा नेपालीको संख्या न्यून छ। कोभिडपछि  करिब १५ सय नेपाली मात्र चेकममा रहेको अनुमान छ। तर, यति थोरै संख्यामा रहेका नेपाली पनि एक आपसमा मिलेर बस्न नसक्नु दुःखद भएको उनले सुनाए। पछिल्लो समय एनआरएनए चेकमा राजनीति पनि घुस्न थालेको उनको अनुभव छ।

आफूहरूसँग छलफल नै नगरी चेकमा सम्मेलन आयोजना गरिएको भन्दै केही व्यक्तिहरू यसलाई असफल गराउन सक्रिय भएका छन्। सम्मेलनकै बेला पनि त्यहाँ गएर विरोध गर्ने उनीहरुको तयारी छ।

‘हामीसँग छलफल नै नगरी सम्मेलन गर्दैछन्। हेरौँ, कसरी गर्ने रहेछन्। विश्वभरिबाट प्रतिनिधि आउलान् हामीले पनि बोल्छौँ केही कुरा,’ प्रागमा भेटिएका एक अर्का नेपालीले प्रवास खबरका प्रतिनिधिलाई भने।

भिसा जारी नर्गनु’ भन्दै दिल्लीस्थित दूतावासमा इमेल पठाउने तयारी

युरोप क्षेत्रीय सम्मेलनको तयारी जोडतोडले चलिरहेको छ। चेकको दूतावास काठमाडौंमा छैन। नेपाललबाट सहभागी हुने प्रतिनिधिले दिल्लीस्थित दूतावासमा भिसाको लागि आवेदन दिनुपर्छ। चेक जाने तयारी गरिरहेका केही प्रतिनिधिले यो प्रक्रिया सुरु पनि गरिसकेका छन्।

तर, चेकलगायत अन्य देशहरूबाट केही नेपालीले दिल्लीस्थित दूतावासमा इमेल लेखेर ‘कसैलाई पनि भिसा नदिनु, सम्मेलन केही होइन, मानव तस्करी गर्न नाटक गरेका हुन्’ भन्दै इमेल पठाउने तयारी गरिरहेको सूचना प्रवास खबरले प्राप्त गरेको छ। सकभर सम्मेलन हुनै नदिने, यदि भएमा दूतावासमा इमेल पठाउने तयारी उनीहरूको छ। केही चेककै नेपाली हुन् भने कतिपय अन्य युरोपेली मुलुकमा बस्ने नेपाली त्यो तयारीमा जुटेका छन्।

अमेरिकामा पनि उस्तै समस्या

अमेरिका क्षेत्रीय सम्मेलनको समस्या पनि उस्तै छ। सम्मेलनको मिति धेरै नजिक आइसकेको छ। तर, तयारी भने शून्य छ। अमेरिकाका दुई क्षेत्रीय संयोजक आरसी पोख्रेल र प्रकाश सापकोटाबीच सहमति जुट्न नसक्दा तोकिएको समयमा सम्मेलन नै नहुने लगभग निश्यित भइसकेको छ।

अमेरिकाको मुख्य विवाद अतिथिमा क–कसलाई बोलाउने भन्ने हो।

‘क्यानाडा आउने धेरैको इच्छा हुन्छ। इन्भाइटेसन किनबेच समेत हुने गर्छ,’ एक उच्च पदाधिकारी भन्छन्, ‘यही कारण क्यानाडाको अन्योलमा छ।’