मानव तस्करीमा संलग्न सूर्य कर्पोरेसनसँग दुबईमा अवार्ड गर्न चलचित्र विकास बोर्डको सम्झौता

मानव तस्करीमा संलग्न सूर्य कर्पोरेसनसँग दुबईमा अवार्ड गर्न चलचित्र विकास बोर्डको सम्झौता

काठमाडौँ । चलचित्र विकास बोर्डले ‘टेकिङ नेपाली सिनेमा टु दि वर्ल्ड’ भन्ने नारासहित आयोजना गर्न लागेको ‘नेपाली सिनेमा फेस्ट २०२३’का लागि बोर्ड र विवादास्पद कम्पनी सूर्य कर्पोरेसनबीच सम्झौता भएको छ।

बिहीवार बोर्डले पत्रकार सम्मेलन आयोजना गरी कार्यक्रमको ब्यवस्थापन कर्पोरेसनलाई दिने गरी बोर्ड अध्यक्ष भुवन केसी र कर्पोरेसनका सीईओ बासुदेव लामिछानेबीच सम्झौतामा हस्ताक्षर गरेको हो।

संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा आगामी १३ फेब्रुअरीदेखि १५ सम्म यो कार्यक्रमको आयोजना हुँदैछ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव र चलचित्र विकास बोर्डका अध्यक्षबीचको कार्ययोजना अनुसारको बोर्डको बार्षिक कार्यक्रमअन्तर्गत निजी क्षेत्रसँगको सहकार्यमा अन्तर्राष्ट्रिय स्तरमा कार्यक्रम आयोजना हुने शीर्षकमा यो कार्यक्रम आयोजना हुन लागेको हो।

यो कार्यक्रम चलचित्र विकास बोर्डद्वारा आयोजना हुने अन्तराष्ट्रियस्तरको पहिलो कार्यक्रम हो।

तीन दिनको कार्यक्रममा अरबी भाषामा सबटाइटाल गरी नेपाली चलचित्रको प्रदर्शनी, नेपालबाट जाने तथा यूएईमै रहने कलाकारहरुको विभिन्न प्रस्तुतिहरु, यूएईमा नेपाली चलचित्रको बजार विस्तार तथा छायांकन सुविधा पहलका लागि त्यहाँको सरकारका प्रतिनिधिहरु, त्यहाँस्थित नेपाली दूतावास, व्यापारी, बिशिष्ट व्यक्तिहरु तथा कलाकर्मीहरूबीच अन्तर्क्रिया हुने बताइएको छ।

कार्यक्रममा ‘फिल्मिङ डेष्टिनेशन अफ नेपाल’ परियोजनाअन्तर्गत गण्डकी प्रदेशको डकुमेन्ट्री दुबईका कूटनीतिक अधिकारीहरुको साथमा अरबी भाषामा सबटाइटल गरी प्रदर्शन हुनेछ।

बोर्डका अध्यक्ष भुवन केसीले अन्तराष्ट्रिय स्तरमा नेपाली चलचित्रको बजार विस्तारको पहलको लागि सुरु गरिएको यो कार्यक्रम नेपाली राष्ट्रिय चलचित्र उद्योगको लागि अत्यन्त महत्वपूर्ण रहेको बताए।

उनले नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको यूएईमा नेपाली चलचित्रको सेन्सरमा सहजता ल्याउन, निरन्तर रुपमा चलचित्र प्रदर्शनीको वातावरण मिलाउन, नेपाल आफैंमा एक खुल्ला छायांकन स्टुडियो हो भनेर संसारलाई चिनाउन, युएई र नेपालको कला संस्कृतिको सहकार्यताको लागि यो कार्यक्रमले महत्वपूर्ण भूमिका निभाउने उल्लेख गरे।

सूर्य नेपाल विवादास्पद कम्पनी हो। यसले विभिन्न अवार्ड कार्यक्रमका नाममा विदेशमा मानव तस्करी गर्दै आएको छ। केही समयअघि आन्तरिक राजस्व कार्यालयले सूर्य कर्पोरेसनको कार्यालयमा छापा मारेको थियो। कलाकार बनाएर धेरै मानिसलाई यसका सञ्चालक लामिछानेले विदेश पठाउँदै आएको चलचित्रकर्मीहरु बताउँछन्।