विश्व चर्चित फुटबल खेलाडी पेलेको निधन

विश्व चर्चित फुटबल खेलाडी पेलेको निधन

काठमाडौँ। ब्राजिलका विश्व चर्चित फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ। केही वर्षयता मिर्गौला र प्रोटेस्टको समस्या झेलिरहेका पेलेको गए राति ब्राजिलस्थित साओपाउलोमा रहेको अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको हो।

पेलेले ब्राजिललाई विश्वकप फुटबल प्रतियोगिताको तीनपटक उपाधि दिलाएका थिए।

पेले सहभागी भएको सन् १९५८, १९६२ र १९७० को विश्वकप फुटबल प्रतियोगितामा ब्राजिलले उपाधि जितेको थियो। यसैगरी सन् २००० मा पेले फिफा प्लेयर अफ द सेन्चुरीको उपाधिबाट सम्मानित भएका थिए।

सत्र वर्षको उमेरमा अन्तर्राष्टिय फुटबलमा डेब्यु गरेका पेलेको वास्तविक नाम भने एजिडिसरन एरेन्टस डो नासिमेन्टो हो।

पेले पछिल्लो समय क्यान्सरबाट पीडित थिए। उनी ब्राजिलको मिनास गेराइसमा सन् १९४० अक्टोबर २३ मा जन्मिएका थिए।