विदेशमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोष : एनआरएनएको अभियानमा नयाँ अध्याय

विदेशमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोष : एनआरएनएको अभियानमा नयाँ अध्याय

काठमाडौं। सामाजिक सुरक्षा कोषले अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा गएका श्रमिकलाई पनि सामाजिक सुरक्षाको दायराभित्र ल्याउने घोषणा गरेको छ।

अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई समेत कोषमा आवद्ध गर्ने सामाजिक सुरक्षा कोषको घोषणालाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले स्वागत गरेको छ। र, त्यसलाई एनआरएनएको अभियानमा एउटा ठूलो उपलब्धी भन्दै नेपाल सरकारलाई धन्यवाद पनि दिएको छ।

सामाजिक सुरक्षा दिवसको अवसरमा मंगलबार एउटा कार्यविधि सार्वजनिक गर्दै सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई त्यसको दायरामा ल्याउने औपचारिक घोषणा गरेको थियो।

यो कार्यविधिअनुसार कोषले वैदेशिक रोजगारीमा गएकाको हकमा फागुन २५ र अनौपचारिक एवं स्वरोजगार श्रमिकका लागि ०८० वैशाख १ देखि सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा ल्याउनेछ।

‘जब नेपालमा सामाजिक सुरक्षा कोषको स्थापना भयो त्यो भन्दा पहिलेदेखि नै गैरआवासीय नेपाली संघले यस कोषमा विदेशमा रहेका नेपालीलाई पनि समेटिनु पर्छ भनेर वकालत तथा पैरवी गर्दै आएको थियो’, संघका उपाध्यक्ष तथा वैदेशिक रोजगार कल्याणकारी विभागका सभापति डि.बि क्षेत्रीले एउटा विज्ञप्ति निकाल्दै भनेका छन्, ‘ओमनमा हजारे अभियानको प्रस्तावमाथि बृहत छलफल गर्दै यो अभियान प्रारम्भिक रुपमा सुरु भई पहिलो संविधानसभाबाट वैदेशिक रोजगारमा गएकाहरुलाई समेट्नेगरी प्रस्ताव पारित गराएका थियौ र यस कार्यका लागि तत्कालीन प्रधानमन्त्री र अर्थ मन्त्रीलाई संघको तर्फबाट धन्यवाद ज्ञापन गरिएको थियो।’

उनका अनुसार यसका लागि संघले नै दायित्व लिएर सरकारसँग विभिन्न चरणमा छलफल, समन्वय गर्दै आएको थियो। साथमा संघमा विशेषगरी भारतसहित, मध्य पूर्व अनि अन्य श्रम बजारमा रहेका रहेका नेपाली श्रमिकको आवाजको प्रतिनिधित्व संघले गरेको थियो।

एक दशकभन्दा बढी समयपछि त्यो छलफल र संघको पहलले मूर्त रुप लिएको संघले जनाएको छ। संघले वैदेशिक रोजगारीमा रहेका लाखौं नेपाली श्रमिक पनि सामाजिक सुरक्षा कोषमा औपचारिक रुपमा जोडिन बाटो खुलेको र सम्पूर्ण वैदेशिक रोगारीमा रहेका अनि गैरआवासीय नेपालीका लागि यो गौरवको विषय रहेको पनि जनाएको छ।

नेपाल सरकार र सरोकारवालाहरुसँग विभिन्न चरणमा छलफई सन् २०१६ मा सुरक्षाकोषमा सहकार्य गर्न संघ र सरकार बीच सम्झौता भएको थियो। त्यही वर्ष सञ्चय कोषसँग पनि सम्झौता भएको थियो।

हाल, वैदेशिक रोजगारीका क्षेत्रमा विस्तार गरी योगदानमा आधारित सामाजिक सुरक्षालाई व्यापक र प्रभावकारी बनाउदै यस प्रणालीलाई समतामूलक र समाजवाद उन्मुख अर्थतन्त्रको एक संवाहकको रूपमा स्थापित गर्नको लागि नेपाल सरकारसँग संघले सहकार्य समेत गरिरहेको छ।

‘आगामी दिनमा पनि नेपाल सरकारसंग सहकार्य र समन्वय गरी यो कार्यको प्रचार प्रसार, अभिमुखीकरण एवं समयसापेक्ष योजना बनाई त्यसको कार्यक्रम गर्ने लगायतका कार्यमा हामी नेपाल सरकारको सहयात्री बन्न चाहान्छौं र सरकारले संघप्रति गरेको विश्वास र हामीले सरकारमाथि गरेको भरोसा मिलाएर यो अभियानलाई सफल बनाउन संघ प्रतिवद्ध छ’, विज्ञप्तिमा भनिएको, ‘एनआरएनएको लागि एउटा उपलब्धिको दिन र समग्र नेपाली आप्रवासीका लागि नयाँ अध्यायको सुरुवात पनि हो।’

यो सफलताका लागि संघले नेपाल सरकार, सरकारी अधिकारीहरू, सरोकारवालाहरु, सम्पूर्ण गैरआवासीय नेपाली अभियन्ता तथा अग्रजहरू, सञ्चारकर्मीलगायतलाई धन्यवाद पनि भनेको छ।