फ्रान्समा युरोपस्तरीय नेपाली फुटबल प्रतियोगिता

फ्रान्समा युरोपस्तरीय नेपाली फुटबल प्रतियोगिता

पेरिस। युरोपका विभिन्न मुलुकमा रहेका नेपालीहरुले युरोपस्तरीय फुटबल टुर्नामेन्ट खेल आयोजना गरेका छन्।

फ्रान्सस्थित तमु समाज फ्रान्सले आइतवार पेरिसमा आयोजना गरेको फूटबल खेलमा युरोपका १६ टोली सहभागि थिए।

आइतवार विहानदेखिनै सुरु भएको नक आउट पद्दतीको खेल दिनभरि खेलाइएको थियो।

धेरै समूह भएकाले एकै दिनमा खेल सक्नका लागि जम्मा ३० मिनेटको दरले प्रतिस्पर्धा गराइएको थियो।

१५ समूहबीच भएको खेलमा नेदरल्याण्ड्सको नेपाली ड्रिम टिम र फ्रान्सको काठमाडौं ब्वाईज एफ सि फाईनलमा पुगेका थिए।

ति दुई टोलीबीच भएको आधा घण्टाको प्रतिस्पर्धामा नेदरल्याण्ड्सको नेपाली ड्रिम टिम प्रथम भएको थियो।

ड्रिम टिमले काठमाडौं ब्वाईजलाई एककाविरुरुद्द पाँच गोल गरेको थियो। खेल दुवैतर्फबाट ज्यादै हार्दिकता, अत्यन्त सौम्य र भद्रतापूर्वक खेलिएको थियो।

आयोजक तमुसमाज फ्रान्सले फिफाको तर्फबाट प्रशिक्षित रेफ्री र लायसमेनहरुको ब्यवस्था गरेको थियो। खेल अवधिभर खानपिन र अन्य सुविधाको राम्रो प्रवन्ध गरिएको थियो।

खेल अवधिभरको समग्र मूल्यांकन गरेर उत्कृष्ठ वा अब्बल खेलाडी, सबैभन्दा धेरै गोल हान्ने खेलाडी र उत्कृष्ठ गोलरक्षकसमेत घोषणा गरियो।

प्रतिस्पर्धामा पहिलो हुने नेदरल्याण्ड्सको ड्रिम टिमलाई २५०० युरो नगद र ट्रफीको पुरस्कार दिइयो । त्यस्तै दोस्रो हुने काठमाडौं ब्याईजलाई पुरस्कार स्वरुप १५ सय युरो नगद र ट्रफ्री थियो।

खेलको अनुगमन र मूल्यांकन टोलीले उत्कृष्ठ खेलाडीमा सुजन घले, उत्कृष्ठ गोल रक्षक बिरेन गुरुङ र सबैभन्दा बढी गोल गर्ने सांगे तामाङलाई उत्कृष्ठ गोलकर्ता (बेस्ट स्कोर) घोषणा गरे। यि तीनै जना खेलाडी नेदरल्याण्ड्सको ड्रिम टिमसित आबद्द छन्।

आफ्नो आफ्नो भूमिकामा उत्कृष्ठ ठहरिएर उपाधी जितेका तीनै जना खेलाडीलाईसमेत पुरस्कार दिइएको थियो।

फाइनल खेल विजयी भएको र उत्कृष्ठ खेलाडीमा पनि तीन जनानै आफ्नो टोलीको परेकाले नेदरल्याण्ड्सको नेपाली ड्रिम टिमका खेलाडी र समर्थकहरु निकैबेर खुशियालीमा नाचेका थिए।

पुरस्कार वितरणमा फ्रान्सस्थित नेपाली राजदूत दीपक अधिकारीले यस्तो खेल नेपालीहरुले आयोजना गर्नु ज्यादै महत्वपूर्ण भएको बताए ।

उनले यस्तो खेल आयोजना गर्नाले एकतिर नेपालीहरुको विश्व प्रसिद्द फूटबल खेलमा विकास हुने र अर्कोतिर नेपालीको प्रतिष्ठा र गौरब बढ्ने बताए।

पुरस्कार वितरण समारोहमा तमु समाज फ्रान्स, गैर आवासीय नेपाली संघ फ्रान्स, ईनास फ्रान्स, नेपाली एकता समाज फ्रान्सलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले बधाई र शुभकामना दिएका थिए।

एकै दिनमा युरोपका विभिन्न मुलुकबाट आएका खेलाडीहरुलाई समेटेर ठूलो र व्यवस्थित कार्यक्रम आयोजना गरेको भन्दै तमु समाज फ्रान्सको धेरैले प्रशंसा गरेका थिए।

तमु समाज फ्रान्सले नेपालीहरुबस्युरोप स्तरिय यस्तो टुर्नामेन्ट हरेक वर्ष आयोजना गर्दै आएको छ।