नेपालबाट कम्बोडियामा मानव तस्करी

नेपालबाट कम्बोडियामा मानव तस्करी

बैंकक। गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाका अध्यक्ष लालसिंह खड्काले नेपालबाट कम्बोडियातर्फ मानव तस्कर बढ्दै गइरहेको बताएका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौ एशिया प्यासिफिक सम्मलेनमा बोल्दै अध्यक्ष खड्काले नेपाली र कम्बोडियन दलालमार्फत नेपालबाट मानव तस्कर भै रहेको बताए भइरहेको बताए।

उनका अनुसार आकर्षक रोजगारीको प्रलोभन देखाएर दलालले नेपाली कामदारलाई कम्बोडिया भित्राउने गरेका छन्।

तर, कम्बोडिया पुगेपछि रात्रिकालिन बजार र क्यासिनोमा जबरजस्ती काम गर्न लगाउने गरेको उनले बताए।

यस्ता गतविधिले नेपाली कामदारहरु शारिरीक र मानसिक रुपमा शोषणा हुने घटना बढी रहेको अध्यक्ष खड्काले बताए।

नेपालबाट कम्बोडियामा मानव तस्करका घटना बढेका कारण कम्बोडिया सरकारको नेपाली कामदारप्रतिको दृष्टिकोण नकरात्मक भएको उनले गुनासो गरे।

“यस्तो भएमा कम्बोडियाबाट हामीले लिन सक्ने ब्यापार, रोजगार तथा अन्य सुबिधा जोखिममा पर्नेछ,” उनले भने ।

कम्बोडिया र नेपालबीच धार्मिक, साँस्कृतिक तथा अन्य ऐतिहासिक सम्बन्ध प्रगाढ बनाउनु पर्ने उनले सुझाए। सम्बन्ध निर्माणको कार्य सरकारी स्तरबाट नै पहल हुन सकेमा नेपालको पर्यटनमा थप टेवा पुग्ने उनले दाबी गरे।

त्यस्तै, नेपाल सरकारले नयाँ विमानस्थल गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट कम्बोडियाको सिधा उडानको व्यवस्था गरेमा दुवै देशका पर्यटक तथा यहाँ रहेका नेपालीलाई धेरै सहज हुनेछ।

कम्बोडियामा करिव २०० जना नेपाली छन्। केही अध्ययनका लागि कम्बोडियामा बसेका छन् भने केही नेपाली कारोबारको सिलसिलामा पनि कम्बोडिया पुगेका छन्।

कम्बोडियामा नेपाली दूतावास भने छैन। कम्बोडियामा रहेको नेपालीलाई थाईल्याण्डको दूतावासले हेर्ने गर्छ।