काठमाडौं महानगर र एनआरएनए प्रतिनिधिबीच भेटघाट

काठमाडौं महानगर र एनआरएनए प्रतिनिधिबीच भेटघाट

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)को एउटा प्रतिनिधि टोलीले काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहसँग भेट गरेको छ।

एनआरएनए केन्द्रीय अध्यक्ष कुल आचार्य, उपाध्यक्ष महेश श्रेष्ठ, युरोप क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा, एसिया प्यासिफिक क्षेत्रीय सचिव प्रदीप न्यौपानेलगायतको टोलीले बिहीबार बिहान महानगरप्रमुखसँग भेटेर विधिध विषयमा छलफल गरेको थियो।

त्यसक्रममा महानगर प्रमुख बालेन्द्र साहले विदेशमा नेपाली संस्कृतिलाई प्रचार प्रसार गरेर यहाँको पर्यटन प्रवर्द्धनमा सघाउन आग्रह गरेका थिए।

उनले एनआरएनए भएका हरेक देशमा नेपाली चाडपर्वहरूलाई मनाउने, सांस्कृतिक कार्यक्रमहरू गर्ने र नेपाली चाडपर्वसहितको एउटा क्यालेन्डर बनाएर त्यसलाई लागु गर्न पनि एनआरएनए प्रतिनिधिसँग अपिल गरेका थिए।

त्यस्तै अध्यक्ष आचार्य र उपाध्यक्ष श्रेष्ठले महानगर विकासका लागि एनआरएनए सहयोग र सहकार्यका लागि तयार रहेको भन्दै त्यसका लागि महानगरलाई हातेमालो गर्न आग्रह गरेका थिए। उनीहरूले नेपालीले विदेशमा सिकेका सिप, प्रविधि र ज्ञानलाई भित्र्याएर महानगरको विकास र समृद्धिमा हात बढाउन सहयोग पुग्ने अपेक्षा पनि गरेका थिए।

त्यसक्रममा काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापन, सार्वजनिक सौचालय, ट्राफिक व्यवस्थापन, धुलोरहित काठमाडौं बनाउनेलगायतका विषयमा आपसी सहकार्यबारे पनि छलफल भएको थियो।