मलेसियाका मानव संसाधन मन्त्रीलाई नेपाल भम्रणको निम्तो

मलेसियाका मानव संसाधन मन्त्रीलाई नेपाल भम्रणको निम्तो

क्वाललम्पुर । मलेसियाको औपचारिक भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले यहाँका मानव संसाधन मन्त्री दातुक सेरी एम. सराभनसँग छलफल गरेका छन्। श्रेष्ठ नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले शुक्रबार मन्त्री सराभनसँग द्विपक्षीय बैठक गरेको हो।

बैठकमा नेपाली युवाले मलेसियाली श्रम बजारमा पुर्याएको योगदानले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाएको भन्दै मन्त्री सराभनले प्रसंशा गरेका थिए।

क्वालाल्पुरस्थित नेपाली दूतावासका अनुसार बैठकमा नेपाल र मलेसियाबीच सन् २०१८ मा हस्ताक्षर भइ हाल कार्यान्वयनमा रहेको द्विपक्षीय समझदारीपत्रलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्ने विषयमा छलफल भएको थियो।

यस्तै बैठकमा मलेसियाको श्रमबजारको आवश्यकता बमोजिम नेपाली युवालाई सीपयुक्त बनाई थप रोजगारीका अवसर प्रदान गर्ने, रोजगारीको लागि युवाको छनौट तथा नियुक्तिलाई शुन्य लागतसहितको स्वच्छ नियुक्तिको सिद्धान्तलाई थप प्रभावकारी बनाउने, मलेसियामा रोजगारीमा रहेका नेपाली नागरिकहरुको स्वास्थ्य, सामाजिक सुरक्षा र सामाजिक कल्याणलाई थप सवलीकरण गर्ने, चौबिसै घण्टा प्रभावकारी हुने बीमा सुविधाको व्यवस्था गर्ने विषयमा वृहत छलफल भएको थियो।

यसैगरी बैठकमा नेपाली श्रमिकलाई आफ्ना अधिकार र आफूले पालना गर्नुपर्ने शर्तहरुको विषयमा मलेसिया प्रवेश गर्नुअघि नै सचेत गराइ कामको सिलसिलामा कुनै समस्या आए तुरुन्त गुनासो गर्ने र प्राप्त गुनासाको समयमै सम्बोधन गर्ने व्यवस्था मिलाउनेलगायतका विषयमा समेत छलफल भएको थियो।

भेटमा मन्त्री श्रेष्ठले मलेसियाको निजी सुरक्षा गार्डको रुपमा नेपाली यूवालाई अवसर दिएकोमा धन्यवाद दिँदै दिएका थिए। उनले सुरक्षा गार्डको रुपमा कार्यरत युवको तलब बढाउन, स्वास्थ्य उपचारमा ध्यान दिन, सामाजिक सुरक्षा र कल्याणका क्षेत्रलगायतका सुविधाहरुको प्रवर्द्धन गराउन मन्त्री सराभनसँग आग्रह गरेका थिए।

त्यस्तै नेपाल र मलेसियाबीच कायम रहेको श्रम सम्बन्धी संयुक्त कार्यदलको तेस्रो बैठक छिटै काठमाडाै‌मा गर्ने र बैठकमा छलफल भएका विषयलाई औपचारिकता दिने समेत सहमति भएको छ।

मन्त्री श्रेष्ठले मलेसियाका मानव संसाधन मन्त्रीलाई नेपाल भ्रमण गर्न आमन्त्रण गरेका छन्। मन्त्री सराभननले पनि छिटै नेपाल भ्रमण गर्ने जनाएका छन्।

मन्त्रीसहितको प्रतिनिधिमण्डलले मलेसियस्थित सामाजिक सुरक्षा संस्था (सोक्सो) को समेत भ्रमण गरेको छन्।

भेटमा सामाजिक सुरक्षा संस्थाका प्रमुख कार्यकारी अधिकृतले सन् २०२३ को जनवरीदेखि लागुहुने गरी २४ सै घण्टा प्रभावकारी हुने बीमा सुविधाको व्यवस्था गर्ने प्रक्रिया अघि बढाउने प्रतिवद्धता गरेका थिए।

भ्रमणकै क्रममा मन्त्री श्रेष्ठले मलेसियास्थित नेपाली राजदूतावासको निरीक्षण समेत गरेका थिए। उनले दूतावासबाट हुने सेवा प्रवाहको सम्बन्धमा जानकारी लिएका थिए।

मन्त्री श्रेष्ठले विदेशमा रहेका नेपाली श्रमिकलाई सामाजिक सुरक्षालाई सुनिश्चित गर्नको लागि श्रम स्वीकृति नवीकरण गर्ने प्रक्रियालाई तत्काल थप सरलीकरण गर्ने जानकारी गराए।

मन्त्री श्रेष्ठले पुत्रजयामा नेपाली दूतावासको भवन निर्माणको लागि खरिद गरिएको जग्गाको अवलोकन समेत गरेका थियो।

मन्त्रीको भ्रमणदलमा मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल र उपसचिव डा. थानेश्वर भुसाललगायत सहभागी छन् । द्विपक्षीय वैठकमा नेपाली दूतावासका कार्यवाहक राजदूत मोतिबहादुर श्रीस र श्रम काउन्सुलर दीपक ढकालको उपस्थिती रहेको थियो ।