छुट्टीको विषयमा विवाद हुँदा दुबईमा श्रमिकले गरे मालिकको हत्या

छुट्टीको विषयमा विवाद हुँदा दुबईमा श्रमिकले गरे मालिकको हत्या सांकेतीक तस्वीर

दुबई। सँयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत एक आप्रवासी  श्रमिकलाई आजीवन कारावासको सजाय सुनाइएको छ।

दुबईको फौजदारी अदालतले बिदाको विषयमा विवाद हुँदा ग्यारेज मालिकको हत्या गरेको अभियोगमा एक श्रमिकलाई आजीवन कारावासको सजाय सुनाएको हो।

स्थानीय सञ्चार माध्यमकाअनुसार यो घटना सन् २०२० जुनको हो। घटनाको बारेमा त्यतिबेला थाहा भयो जब गाडी मर्मत गर्ने ग्यारेजका श्रमिकहरूले आफ्नो मालिकलाई अफिसमा मृत अवस्थामा फेला पारे।

उनी घाँटी र पेटमा छुराको चोट लागेको र टाउकोमा गम्भीर चोट लागेको अवस्थामा भेटिएका थिए।

प्रहरीले गरेको अनुसन्धान विवरणका अनुसार दुबईको अल क्वोज इन्डस्ट्रियल एरिया २ को ग्यारेजमा हत्या भएको खबर पाएपछि एक अधिकारी घटनास्थलमा पुगेका थिए।

प्रहरीकाअनुसार पीडित रगतले लतपतिएको, घाँटी झुन्डिएको र अनुहार कुच्चिएको अवस्थामा फेला परेका थिए। उनको शरीरको माथिल्लो भागमा छुराले हानिएको र चोटपटक लागेको थियो।

अधिकारीले घटनास्थलबाट रगत लत्पतिएको अवस्थाको मध्यम आकारको चक्कु, कैंची र एउटा फलामको हथौडा पनि बरामद गरेका थिए।

सो ग्यारेजका अन्य स्टाफहरु केही सामान किन्न २० मिनेटको लागि कार्यस्थलबाट बाहिर निस्किएका थिए। उनीहरु फर्किँदा ग्यारेजको प्रवेशद्वार भित्रबाट बन्द गरिएको थियो। त्यसैले तिनीहरू पछाडिको ढोकाबाट भित्र पसेका थिए। त्यतिबेला तिनीहरूमध्ये एकले आफ्नो कार्यालयमा मालिकको शरीर रगतले लतपतिएको अवस्थामा देखेका थिए।

प्रहरीले मृतकको शव फेला पर्दा त्यहाँ उपस्थित नभएका एक जना श्रमिकलाई शंका गरेको थियो।

एसियाली मूलका ती अभियुक्तलाई दुबईस्थित उसको देशको वाणिज्य दूतावास नजिकैबाट पक्राउ गरिएको थियो।

सोधपुछका क्रममा ती आरोपीतले अपराध स्वीकार गर्दै देश छोड्ने प्रबन्ध मिलाउन आफ्नो देशको वाणिज्य दूतावास गएको बताएका थिए।

घटना भएको दिन ती श्रमिक स्वदेश फर्कन चाहेकोले वार्षिक बिदाको बिषयमा मालिकसँग झगडा भएको थियो। प्रहरीलाई उनले बताएअनुसार अभियुक्त (श्रमिक)ले फिर्ताको टिकट बुक गरिदिन भनेका थिए।

यात्राको मितिलाई लिएर उनीहरुबीच भनाभन भएको थियो। त्यसपछि पीडितले आरोपितलाई तुरुन्तै काम छोड्न भनेका थिए।

अभियुक्तले प्रहरीसँग बयान गर्दा आफू अपमानित भएको महसुस गरेपछि वर्कशपमा तल गएर भित्रबाट ढोका बन्द गरी चक्कु लगेर हाकिमको कार्यकक्षमा गएकाे बताएका थिए। त्यहाँ गएपछि उनले ती हाकिममाथि आक्रमण गरेको बताएका हुन्।

ती अभियुक्तले पीडितलाई छुरा प्रहार गरी टाउकोमा हथौडाले हिर्काएका थिए।