एनआरएनए मध्यपूर्वका ‘किङ मेकर’ क्षेत्री भन्छन्– मध्यपूर्वमा ठूलो पहिरो जान्न दिन्न

एनआरएनए मध्यपूर्वका ‘किङ मेकर’ क्षेत्री भन्छन्– मध्यपूर्वमा ठूलो पहिरो जान्न दिन्न फाइल फोटो

डिबी क्षेत्री गैरआवासीय नेपाली संघ (एनआरएनए) मा आवद्ध व्यक्तिहरूका लागि नौलो नाम होइन। ओमनलाई आफ्नो कर्मथलो बनाएर लामो समयदेखि गैरआवासीय अभियानमा सक्रिय क्षेत्री हाल संघको प्रवक्ता छन्।कुनै बेला मध्यपूर्वको ‘किङ मेकर’ मानिने क्षेत्रीले गत निर्वाचनमा महासचिव पदको उम्मेदवारी घोषणा गरेपनि अन्तिम समय पछि हटेका थिए।

उनको यो कार्यको आलोचना भएको थियो। यसले उनको पुरानो छवीमा धक्का लागेको मान्ने पनि छन्। मजदुरको हकहित र अधिकारका लागि आवाज बुलन्द पार्ने अभियन्ता भएका कारण उनलाई प्रायःले श्रमिक नेताको रुपमा पनि चिन्ने गर्छन।

क्षेत्री सन् २००९ देखिनै एनआरएनमा सक्रिय छन्। उनले ओमन एनसीसीको केन्द्रीय सदस्य, प्रवक्ता हुँदै २०११ देखी २०१५ सम्म लगातार २ कार्यकालका लागि अध्यक्षको नेतृत्व सम्हालेका थिए।

विगत १८ वर्षदेखि ओमनलाई कर्मथलो बनाउँदै आइरहेका क्षेत्री २०१५–१७ कार्यकालमा मध्यपूर्व संयोजक हुँदै २०१७–१९ मा केन्द्रिय सचिवमा निर्वाचित भएका थिए। ओमनलाई आफ्नो कर्मथलो बनाउनुअघि उनी ५ वर्ष साउदी अरबमा कार्यरत थिए।

वैदेशिक रोजगारीमा जाने नेपालीका लागि सञ्चय कोषको ब्यवस्था, हाइड्रो पावरलगायत बिभिन्न योजनामा लगानीको वातावरण निर्माण र पर्यटन विकासमा टेवा पुर्याउने लगायतका योजनामा उनको विशेष जोड थियो। २०१३ मा बहराइनमा सम्पन्न एनआरएनए बैठकमा उनले वैदेशिक कामदारका लागि सामाजिक सुरक्षा कोष सम्बन्धी अवधारणा प्रस्तुत गरेका थिए। उनले २०१५ मा ‘हजारे’ अभियानको समेत घोषणा गरेका थिए।

नीतिगत कुरामा बढी जोडदिने क्षेत्री संघको आगामी कार्यकालका लागि उपाध्यक्षमा उम्मेदवारी दिने तयारीमा छन्। उनीसँग विगत र वर्तमानको कुरालाई लिएर प्रवास खबरका लागि बिनेश खनालले अन्तर्वार्ता लिएका थिए। जसको सारसंक्षेप यस प्रकार छः

तपाईं वैदेशिक रोजगारका मुद्दालाई लिएर एनआरएनए अभियानमा जोेडिएको लामो समय भइसक्यो। वैदेशिक रोजगारीका क्षेत्रमा के–के सुधार भए?

एनआरएनए एउटा विशाल संगठन हो। यसमा धैरै विज्ञ साथी आवद्ध हुनुहुन्छ। उहाँहरुको आ–आफ्नो जिम्मेवारी छ। अहिलेसम्म मैले सबै साथीलाई सघाउँदै आएको छु। वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित तथा नीतिगत तहमा सुधार गर्न हातेमालो गर्दै आएको छु। धेरै हदसम्म सफल पनि भएको छौं। सबैले मलाई ‘हजारे अभियन्ता’ भनेर चिन्ने गर्छन। कृष्णबहादुर महरा अर्थमन्त्री हुँदा हामीले सञ्चय कोषको मुद्धा उठाएका थियौं। विदेशमा रहेका नेपालीले सञ्चय कोष र सामाजिक सुरक्षामा भाग लिन पाउनु पर्छ भनेर पनि अभियानको थालनी गरेका थियौं। यी विषय यही कार्यकालमा सक्ने अभियानमा छौं। नभए अर्को कार्यकालमा पूरा गरेर छोड्छौं।

वास्तवमा वैदेशिक रोजगारीमा गएका नेपालीहरू आर्थिक सिपाही हुन्। यसको सम्मान हुनुपर्छ भनेर मैले आवाज उठाएको थिएँ। अहिले पनि मेरो निरन्तरको प्रयास यही रहेको छ। २०१२ सालदेखि नीतिगत सुधारतर्फ धेरै काम भएका छन्। समग्रमा भन्दा वैदेशिक रोजगारलाई कसैले अपमानित नगरुन्। एनआरएनएको पहिलो मुद्धा नै वैदेशिक रोजगारमा गएका नेपालीहरूको सुरक्षा हो। अहिलेसम्म जे जति भएको छ, राम्रै भए जस्तो लाग्छ।

तपाई आफै पनि वैदेशिक रोजगारीका लागि खाडी मुलुक जानु भएको थियो, पछिल्लो समय यसमा भएका सुधारलाई कुन रुपमा हेर्नुभएको छ?

विगतमा वैदेशिक रोजगारीमा हिँडेका हामी जस्ता नेपालीका लागि विदेशमा कुटनैतिक नियोग नहुनु नै ठूलो पिडाको कुरा थियो। विदेशमा नियोग स्थापना गराउने विषयमा ठूलो लडाईं लडियो। एनआरएनए ओमनको पहिलो कार्यकालका लागि चुनिएर आएपछि मैले नै ओमनमा दूतावास स्थापना गर्न पहल गरेको हुँ। दोस्रो कार्यकालमा अध्यक्ष हुँदै गर्दा ओमनमा दूतावास स्थापना गराउने कुरा सम्भव भयो।

सुशिल कोइराला प्रधानमन्त्री तथा डा. रामशरण महत अर्थमन्त्री हुँदा एउटा महत्वपूर्ण काम भएको छ। त्यसको व्याख्या भलै राम्रोसँग हुन सकेको छैन। तर, हाम्रै पहलमा वैदेशिक रोजगारीमा दूर्घटनामा परि अंगभंग भएका र मृत्युवरण गरेका श्रमिकका छोराछोरीलाई छात्रावृत्तिका लागि ५ सय रुपैयाँ नेपाल सरकारले उपलब्ध गराउने निर्णय भएको थियो। थप अझै हुन बाँकी छ। पहिलाभन्दा इन्सुरेन्सको पैसा बढेको छ। वैदेशिक रोजगारीका क्रममा मृत्युवरण गरेका श्रमिकको परिवारलाई सहयोग रकम बढेको छ। वैदेशिक रोजगारीमा जाने नेपालीहरू टाठो भएका छन्। उनीहरू आफ्नो समस्या बुझ्ने र निराकरण गर्नेतर्फ अग्रसर देखिन्छन्।

‘रिक्रयुटमेन्ट प्रोसेस डिमाण्ड’ मा पनि गोकर्ण विष्ट श्रम तथा रोजगार मन्त्री हुँदा पारदर्शीतालगायत थुप्रै काम भएका थिए। केही सच्चाउनु पर्नेछ। विदेशबाटै पुनः श्रमस्वीकृति गराउन पाइने नीतिगत नियम पास भइसकेको छ। यसले गर्दा नेपालमा यी काम हुँदा घुस लेनदेन हुने कार्य समाप्त भएको छ। विदेशमै श्रमस्वीकृति नवीकरण भएपछि अवैधानिक हुने समस्या निराकरण भएको छ। नेपालको राजस्वमा पनि टेवा पुगेको छ। ‘स्किल म्यापिङ’ योजनाअन्तर्गत विदेशबाट फर्किएका नेपालीलाई स्वरोजगारको कार्यक्रममा समावेश गराउन र ‘इन्टरपेनर’ बन्न सघाउने उद्देश्यले काम भएका छन्। विदेशमा भएका नेपालीले पनि राम्रो सीप सिकून भनेर हामीले कार्यक्रम सञ्चालन गर्न लागेका छौं। म खुसी नै छु। नीतिगत रुपमा धेरै काम भएका छन्। सतहमा नदेखिएपनि यसले ठूलो महत्व र प्रभाव राखेको छ। तर, केही काम अझै हुन सकेको छैन। विदेशमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोष अनिवार्य छ। वार्षिक ८०–९० अर्ब रुपैयाँ आउँछ। यसका लागि हामी निरन्तर प्रयासमा छौं।

तपाईहरू सुरक्षित र मर्यादित वैदेशिक रोजगारीको कुरा गर्नु हुन्छ। तर, एनआरएनमा आवद्ध थुप्रै पदाधिकारी आफै मानव तस्करी, श्रम शोषण, चेलीबेटीको मुद्धामा संलग्न भएको समाचार सार्वजनिक हुने गरेको छ, यो वेथितिको निराकरणका लागि कस्तो उपाय अपनाउनु भएको छ?

तपाईले उठाउनु भएको विषय केहि हदसम्म सही होला। एनआरएनए एउटा ठूलो सञ्जाल हो। आफ्नो उद्देश्यपूर्तिका लागि देखिने वा नदेखिने गरि यस्ता मानिस संस्थामा आवद्ध भएका होलान। हामीले भेटेको खण्डमा उनीहरूलाई कार्यवाही पनि गरेका छौं। संघ आफैले यस्तो कार्य गर्दैन। व्यक्तिले गर्ने काम भएको हुँदा संस्था बदनाम भएको छ। यस्ता व्यक्तिविरूद्ध संघलगायत सबै मिडिया, राजनीतिककर्मी तथा समाज मिलेर संगठित रुपमा तिरस्कार गर्नुपर्छ। विगतमा जति कुरा बाहिर आए, ती सबै ठ्याक्कै सुनेझै सत्य पनि छैनन्। तर, यो भन्दै गर्दा बेथिति नै नभएको भने होइन। समाज हो, यसमा सबै विचारधाराका मान्छे समाहित छन्। फेरि सबैलाई पहिले नै ‘स्क्रिनिङ’ गरेर ल्याउन पनि सकिन्न। तपाईले उठाएका कतिपय कुरा सत्य हुन्। यस विषयमा हामी गम्भीर छौं।

खाडी र युरोप–अमेरिकाका गैरआवसीय नेपालीबीच असमान्ता छ भन्ने कुरा आइरहन्छ। कतिपय खाडीमै बस्ने नेपालीले एनआरएनएको आवश्यकता छैन भन्छन्। युरोप अमेरिकाका नेपालीले आफ्नो स्वार्थपूर्तिका लागि मात्र खाडीका नेपालीलाई भोट बैंकको रुपमा प्रयोग गर्ने आरोप लाग्ने गरेको छ। के अवस्था यही हो?

मैले जोड दिएरै भन्नुपर्दा तीन वटा मुख्य समस्या देखेको छु। सबै क्षेत्रको आ–आफ्नै मुद्धा भएको हुनाले सबैलाई आफ्नो मुद्धा प्यारो लाग्ने हो। त्यही कारण मध्यपूर्वको कुरा नभएका होलान।

पहिलो कुरा– सबैले भन्नु हुन्छ, मध्यपूर्वमा मुद्धाको बुझाईमा कमजोरी छ। यसले असर गरेको छ।

दोस्रो कुरा– हाम्रो आफ्नै प्रस्तुतीमा पनि कमजोरी छ। हामी नीतिगत कुरामा अगाडि बढ्नु जरुरी छ। विचारा भनेर होइन। फर्किएर गएपछिको जीवन के हो? त्यहाँ बस्दाको जीवनको मूल्यमान्यता के हुन्छ? त्यो स्पष्ट हुनु जरुरी छ। हामी ‘एक्सन’मा जाऔं। उद्धार र सहयोग भनेको ‘रियाक्सन’ हुन्। हामी ‘एक्सन’ मा जानुपर्छ भन्न खोजेको कुरा नीतिगत स्पष्टता हुनुपर्छ भन्ने नै हो।

तेस्रो कुरा– यो अभियानमा जोडिन पनि चाहने र बाहिर बसेर गाली गरिरहने मान्छे पनि छन्। हामीहरूमा पनि कमजोरी छ। मध्यपूर्वमा बसेर आफूलाई अर्के ग्रहको मान्छे सोच्ने परिपाटी राम्रो होइन। यो व्यक्ति विशेषको कुण्ठा हो। त्यसैले मुद्धाहरू आ–आफ्नो हिसाबले फरक देखिएको हो। खाडीका गैरआवासीय नेपालीविरूद्ध ठूलो अमानवीय व्यवहार भएको छ जस्तो मलाई लाग्दैन।

प्रसंग बदलौं, एनआरएनएको चुनाव नजिकिँदै जाँदा तपाईले उपाध्यक्षमा उम्मेदवारी दिने कुरा आएको छ। गत चुनावमा महासचिवमा उम्मेदवारी घोषणा गरेर अन्तिम समय आफ्नो स्वार्थपूर्तिका लागि पछि हट्नु भयो भन्ने आरोप छ। यसपालि पनि त्यस्तै हुने त होइन?

मेरो भनाइ स्पष्टसँग लेखिदिनु होला। दुई वर्षअघि म महासचिव पदबाट पछि हड्दै गर्दा यतिकै महत्वपूर्ण पदमा नियुक्त भएको थिएँ। त्यतिबेला मैले छोड्दा धेरै साथीहरूलाई सहज हुने र समाज मिल्ने कारण छोडेको हुँ। एनआरएनएको अभियान भनेको समाजिक अभियान हो। यो अभियानमा लाग्दा कसैले पनि ‘मेरो गोरुको बाह्रै टक्का’ भन्नु हुँदैन। टिमको कुरा महत्वपूर्ण हुन्छ। म टिममा थिएँ।

अझ, जोडदिएर भन्नु पर्दा यदि मैले आर्थिक लाभकै लागि उम्मेदवारी छोडेको थिए भने मलाई प्रवक्ता किन नियुक्त गरियो? मैले छोडेको मान्छे भनेको डा. हेमराज शर्मा र जानकी गुरुङ हो। उहाँ दुई जनाले मलाई आर्थिक लाभ पुर्‍याउनु भयो भन्ने हल्ला हो। यो ‘बच्चलनहरू’ को भाषा हो, अशोभनीय कुरा हो। अरुको सम्मानमा चोट पुर्‍याउने व्यक्तिले फैलाएको अफवाह हो।

वैदेशिक रोजगारीमा मध्यपूर्व, एसिया र अफ्रिकी मुलक गएका नेपालीले मलाई निकै रुचाउँनु हुन्छ। म राम्रो र धनी भएर होइन, उहाँहरूको जायज मुद्धा यसले उठाउँछ भनेर सबैले माया गर्नु हुन्छ। त्यसैले मलाई ‘साइज’ मा ल्याउनु पर्छ भनेर बदनाम गर्ने दुस्प्रयास भएको हो। यसको प्रतिवाद मैले कहिकत्तै गरेको छैन। गर्न पनि चाहन्न। तपाईले मलाई बुँदागत रुपमा सोधेको हुनाले मात्र मलाई भन्न कर लागेको हो।

अहिले म आइएसमा छु। कतिपय देशका प्रतिनिधिहरूको मुद्धा अहिले पनि यथावत छ। हामीहरू विभिन्न ठाउँमा जोडिएका छौं। केहि कुरा बाँकी रहेको हुनाले मैले पदीय मर्यादाका कारण आफ्नो घोषणा आफै गर्न मिल्दैन। तर, साथीहरूले आउनु पर्छ भनिरहेका छन्। स–सम्मानीत किसिमले चुनाव लड्ने हो। त्यसैले यी सबै निराधार कुरामा ध्यान नदिनुहोला। मेरो उम्मेदवारी रहन्छ। म चुनाव लड्ने हो। मैले साथीहरूसँग बसेको बेला पनि भनेको छु– यदि भोलि टिमले नै हार्ने अवस्था सिर्जना भएको खण्डमा मैले मात्र होइन, सबैले त्याग गर्नुपर्छ।

गत चुनावमा तपाई पछाडि हटेपछि मध्यपूर्वकै धेरै साथीहरू रुस्ट छन्, यस्तो अवस्थामा तपाईको उम्मेदवारी सहज बन्ला?

मलाई वास्तविक रूपमा माया गर्ने साथीहरूसँग मैले विभिन्न फोरमबाट माफी मागिसकेको छु। अझै पनि माग्छु। मैले उहाँहरूको विश्वासलाई कायम राखे कि राखिन अलग कुरा होला तर, यसो भन्दै गर्दा मुद्धा उठाउने ठाउँमा म निरन्तर उहाँहरूको आवाज उठाइरहेको छु। यो अभियान निरन्तर चल्ने अभियान हो। उहाँहरूको माया मलाई निरन्तर रहन्छ। जसले मलाई माया गर्नुभएको थियो, उहाँहरूले गाली पनि गर्नुभयो। हामीहरू यो अभियानमा कसैलाई आरोप–प्रत्यारोप लगाउन आएका होइनौं। सबैलाई केहि न केहि आरोप छ। तर, मलाई बढी लागेको कारण जनमानसको विश्वास म प्रति अलि बढी छ। त्यसैले मलाई फुत्त छोड्यो भन्ने आरोप कति हिसाबले जायज पनि छ। साथीभाईसँग माफी पनि माग्नुपर्छ। तर, ‘बचल्लन’ कुरा गर्नेको कुरामा मैले ध्यान दिनुहुँदैन।

मध्यपूर्वमा तपाईलाई ‘किङ मेकर’ मानिन्छ। विगतमा तपाईले सबैलाई मिलाएर लगेको इतिहास साक्षी छ। तर, यसपटक मध्यपूर्वमा विगतझै एकता देखिदैन। यसलाई हामीले कुन अर्थमा बुझ्दा हुन्छ?

पहिलो कुरा, म क्षेत्रीय संयोजक भएर नआउँदासम्म मध्यपूर्वमा चुनाव हुन्थेन। मेरो पालामा चुनाव भयो। क्षेत्रीय संयोजकको चुनाव जितेर म आएदेखि पुनः मध्यपूर्वमा सर्वसहमत मात्र भएको छ। मैले क्षेत्रीय संयोजक हुँदै सचिव पदमा काम गर्दा मध्यपूर्वलाई व्यवस्थित बनाए। अहिले पनि त्यस्तो विभाजन छैन।

मलाई भन्न मन लागेको कुरा, एनआरएनएको गत निर्वाचनमा जसरी अखिल र नेवि संघको नाममा लडियो, त्यो दुःखद थियो। त्यसको असर अहिले मध्यपूर्वमा मात्र नभएर सबैतिर फैलिएको छ। मध्यपूर्वमा जो सुकै, जुन सुकै खेमाबाट उठेपनि मेरो भनाई त्यो मान्छेलाई मध्यपूर्वले भोट हाल्नुपर्छ भन्ने नै हो। मेरो पहिलो भोट उहाँहरूलाई नै जान्छ। सधै विचार मिलेर बस्नुपर्छ भन्ने होइन। परिवारका दाजुभाई त उमेर पुगेपछि अलग–अलग हुन्छन् भने परिपक्व भएपछि आफ्नो विचार लागू गर्ने हुनाले यो स्वभाविक हो। त्यसैले म मध्यपूर्वमा ठूलो पहिरो जान दिन्न। सम्हाल्छु।

अन्तमा केही भन्न चाहनुहुन्छ?

मेरो भनाइ यत्ति हो कि कोरोना महामारीको प्रतिकूल अवस्थामा सर्वसहमतीय नेतृत्व चुनौं। योगदानको हिसाबले, दक्षताको हिसाबले नेतृत्वलाई अगाडि बढाऔं। सबै मिलेर अहिले पनि सहमति गराऔं। आफूलाई फाइदा पुर्‍याउन फुटको राजनीति गर्ने व्यक्तिको पछाडि नलागौं। गैरआवासीय नेपाली संघ विश्वभरि छरिएर बसेका नेपालीको साझा चौतारी हो। यो चौतारीलाई फोहोर नगरौं, मेरो यत्ति भनाइ छ।