दुबईमा चक्कु प्रहार गरि श्रीमती मार्ने नेपाली युवालाई २५ वर्षको जेल सजाय

दुबईमा चक्कु प्रहार गरि श्रीमती मार्ने नेपाली युवालाई २५ वर्षको जेल सजाय

काठमाडौं। आफ्नै श्रीमतीलाई ११ पल्ट चक्कु प्रहार गरि हत्या गरेको आरोपमा युनाइटेड अरब इमिरेट्स (यूएई) को अदालतले एक नेपाली युवालाई २५ वर्षको आजीवन कारावासको सजाय सुनाएको छ।

२५ सेप्टेम्बर २०२० मा दुबईमा आफू बस्ने घरमा उनले श्रीमतीको टाउको, छाती, घाँटी र पेटमा चक्कु प्रहार गरेका थिए।

दुबईको ‘क्रिमिनल कोर्ट’ ले हालै यो मुद्धाको फैसला गर्दै अभियुक्त नेपाली युवालाई २५ वर्ष जेल सजाय सुनाएको हो। उनले अब २५ वर्ष यूएईकै जेलमा सजाय भुक्तान गर्नु पर्नेछ भने यसपछि मात्र उनलाई नेपाल ‘डिपोर्ट’ गरिने छ।

यूएईबाट प्रकासित हुने चर्चित पत्रिका खालीज टाइम्सका अनुसार उनीहरूको बिहे सन् २०१९ मा भएको थियो। गत जुनमा आफ्नो श्रीमतीको अवैध सम्बन्धको विषयमा साथीभाईबाट थाहा पाएपछि यो घटना हुन पुगेको पत्रिकाले बताएको छ।

घटनाको दिन ती युवाले आफ्नी श्रीमतीलाई फोन गरेर अन्य व्यक्तिसँगको सम्बन्धबारे बुझ्न चाहेका थिए। तर, श्रीमतीको फोन अपरिचित पुरुषले उठाएर आफूहरूलाई ‘डिस्टर्ब’ नगर्न आग्रह गरेका थिए। उनले अन्तिम पटक बेलुका ६ बजे फोन गरेको तर उनको फोन नउठेको पत्रिकाले जनाएको छ।

पत्रिकाले लेखेको छ–‘आरोपीले श्रीमतीलाई मार्ने निर्णय गरेपछि नजिकैको सुपरमार्केटबाट चक्कु किनेका थिए। यसपछि उनी श्रीमती घर नफर्किदासम्म कुरेर बसेका थिए।’

प्रहरी रिपोर्टअनुसार हत्या गरिएकी महिला राती ८ बजेर १० मिनेटमा घर फर्किएकी थिइन। ती पुरुषले श्रीमतीसँग पहिले फोन नउठाएको कारणबारे सोधपुछ गरेका थिए। श्रीमतीले कुनै जवाफ नदिएपछि उनले फोन उठाउने व्यक्तिसँगको सम्बन्धबारे प्रश्न उठाउँदै चक्कु प्रहार गरेका थिए।

घटनापछि रगतको आहालमा डुबेकी श्रीमतीको फोटो खचेर उनले स्थानीय प्रहरीलाई फोन गरेका थिए। उनलाई प्रहरीले भवनका सुरक्षा गार्ड र एक जना ‘डेलिभरी ब्वाई’ को बयानका आधारमा पक्राउ गरेको थियो। प्रहरीले उनलाई शेख जायद रोडको २१ औं सेन्चुरी टावरबाट पक्राउ गरेको बताएको छ। आरोपीलाई प्रहरीले श्रीमतीलाई मार्न प्रयोग भएको चक्कुसहित पक्राउ गरेको थियो।

ती युवाले अदालतमा आफ्नो अपराध स्वीकार गरेका थिए भने अपराध गरेकोमा आफूलाई पछुतो नभएको बयान दिएका थिए।

अदालतको फैसलाबारे प्रवास खबरले यूएईस्थित नेपाली दूतावाससँग कुराकानी गरेको थियो। जवाफमा राजदूत कृष्णप्रसाद ढकालले औपचारिक जानकारी आफूले नपाएको बताए।