यूलेस सिटी काउन्सिल मेम्बरमा नेपालीमुलका पौडेल विजयी

यूलेस सिटी काउन्सिल मेम्बरमा नेपालीमुलका पौडेल विजयी

टेक्सस। अमेरिकाको टेक्सस राज्यस्थित यूलेस सिटी काउन्सिल मेम्बरमा नेपालीमुलका टीका पौडेल निर्वाचित भएका छन्। शनिबार भएको मतगणनामा पौडेलले आफ्ना प्रतिस्पर्धी एरिक बन्सलाई पराजित गरेका हुन्।

सिटी काउन्सिल मेम्बरले स्थानीय विकास निर्माण, सुरक्षा, शिक्षालगायत क्षेत्रमा नीति निर्माणको काम गर्छन। निर्वाचित पौडेलको कार्यकाल दुई वर्षका लागि हुनेछ। विजयी भएपछि पौडेलले समुदायका मुद्दामा आफू केन्द्रित रहने प्रतिवद्धता व्यक्त गरे।

काउन्सिलको गत १ जुनमा पहिलो चरणको निर्वाचन भएको थियो। निर्वाचनमा प्रत्यासीले ५० प्रतिशत मत पनि प्राप्त गर्न नसकेपछि चुनावी प्रक्रिया ‘रनअफ राउण्ड’ मा गएको थियो। यो प्रावधानअनुसार बहुमत प्राप्त गर्ने दुई प्रत्यासी पौडेल र बन्सबीच पुनः निर्वाचन भएको थियो।

यूलेस सिटीमा करिव ८ हजारको हाराहारीमा नेपाली बसोबास गर्छन्। तीमध्ये अधिकांश ग्रीनकार्डधारी नेपाली हुन्। यो निर्वाचनमा मत खसाल्न अमेरिकी नागरिकता नै प्राप्त गरेको हुनुपर्दछ। अमेरिकी नागरिकता प्राप्त गैरआवासीय नेपालीको संख्या करिव ६ सय मात्र थियो, जो निर्वाचनमा मत हाल्न योग्य थिए।

जित हासिल गरेका पौडेलाई नेपाली अमेरिकी, एसियाली अमेरिकी, अफ्रिकी अमेरिकी तथा राष्ट्रपति जो बाइडेनको डेमोक्रेटिक पार्टीले सहयोग गरेका थिए।

पौडेललाई गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय सचिव गौरीराज जोशीले बधाई दिएका छन्। उनले शुभकामना दिँदै भनेका छन् , ‘हामी इतिहास कोर्ने कुरामा विश्वास गर्छौं। चितवनको ग्रामीण भेगबाट अमेरिका प्रवेश गरेको एउटा किसानको छोरोले यूलेस शहरको काउन्सिल मेम्बरको प्रतिनिधित्व गर्दैछ। तिम्रो सफलताको कथा, अमेरिकामा बसोबास गरिरहेका हामी सबै नेपालीको सफलताको कथा बनोस्। शुभकामना।’