विदेशमा आफ्नै नेपाली साथी नै बेइमान भएपछि खुट्टा गुमाएर देश फर्किए धीरेन्द्र

एनआरएनएको सक्रियता र पहलमा स्वदेश पठाइयो

विदेशमा आफ्नै नेपाली साथी नै बेइमान भएपछि खुट्टा गुमाएर देश फर्किए धीरेन्द्र मलेसियाबाट उद्धार गरिएका धिरेन्द्र ठाकुर

काठमाडौं । भनिन्छ नि,औँला दिँदा डँडुल्नो निल्ने । ठयाक्कै यस्तै भयो,धीरेन्द्र ठाकुर,२४ को जीवनमा । जीवनको चक्का चलाउन अन्य नेपाली युवाजस्तै उनी पनि वैदेशिक रोजगारको सिलसिलामा कतार हान्निए,साढे दुई बर्षअघि । केही समय घरमै बिताएपछि धीरेन्द्रको बाटो सोझियो,मलेसियातिर । काम उनलाई राम्रै लागेको थियो । पारिश्रमिक पनि ठिकै थियो ।

मलेसियामा धनुषाका धीरेन्द्रका वीरगन्जका दुई साथी थिए,मन मिल्ने । दुखका साथी थिए । सुखका साथी थिए । परदेशमा पीर,मर्का पोख्थे । एकदिन यस्तै भयो,ती दुई साथीले धीरेन्द्रसँग ४ हजार मलेसियन रिङगेट (करिब १ लाख १७ हजार नेपाली रुपियाँ) सापट मागे । उनले धेरै नसोचेर साथीलाई पैसा सापट दिए । तर, पैसाको ब्यवहार बैरी भइदियो । धीरेन्द्रले आफ्नो पैसा माग्न थाले । साथीहरुले ‘भोली–भोली’ भन्दै गए।

तर, दिन सधैँ एकनासको हुदैन । धीरेन्द्रको जीवनमा १२ डिसेम्बर त्यस्तै दिन थियो । साथीहरुले फोन गरेर ‘पैसा लिन आउनु’ भने । स्वभाविक थियो,साथीले भनेको ठाउँमा धीरेन्द्र पुगे । तर, त्यहाँको दृश्य कुनै चलचित्रको दृश्यभन्दा फरक थिएन । पैसा दिन बोलाएका साथीहरु त्यो ठाउँमा आफुहरुमात्र आएका थिएनन् । केही स्थानीय तामिल गुण्डा युवाहरु पनि उनीहरुको साथमा थिए । धीरेन्द्रलाई बुझ्न कठिन भएन,आफू चक्रब्युहमा परिसकेको । पैसा फिर्ता पाउने आशमा त्यहाँ पुगेका धीरेन्द्र अब जीवन मरणको दोसाधँमा पुगे।

धीरेन्द्रको बगलीमा २ हजार मलेसियन रिङगेट थियो । त्यो पनि तिनै भाडाका गुण्डाहरुले लुटे । प्रतिबाद गर्न सक्ने अवस्थामा थिएनन,धीरेन्द्र । किनकी यसबेला उनका साथी नै उनका लागि बैरी बनेर उभिएका थिए । आफूले दिएको सापटी फिर्ता दिएनन । त्यसमाथि आफुसँग भएको पैसा पनि लुटे । यत्तिले पनि नपुगेर धीरेन्द्रलाई अरु पैसा मगाउन र नदिए मार्नेसम्मको धम्की दिए।

चारतल्ले भवनको माथिल्लो तलाको एउटा अध्यारो कोठामा उनलाई बन्धक बनाइयो । अर्को कोठामा धीरेन्द्रका साथी र भाडाका गुण्डा बसेर खानपिन गर्दै थिए । धीरेन्द्रलाई लाग्यो,अब जीवनको यो अन्तिम रात हो । किनकी अर्को कोठाबाट ‘पैसा नदिए मार्ने’ भन्दै कुरा गरेको उनले सुनिरहेका थिए । धीरेन्द्रले बाँच्ने उपाय खोजी हेरे । चारतल्ले अग्लो भवनको झ्यालबाट सडकमा फाल हाल्नुबाहेक उनले अर्को उपाय भेटेनन् । कोठामा बसिरहे मर्ने नीश्चित देखेपछि उनले फाल हाल्ने निर्णय गरे ।

अर्को दिन अर्थात डिसेम्बर १३ । बिहान झिसमिसेमा उनी सडकमा लडिरहेका थिए । होस थिएन । जब होस खुल्यो,त्यतिबेला शरीर रगत्याम्य थियो । सडकबाट उठ्न खोजे,उठ्न सकेनन् । अन्य साथीहरुको सहयोग पाएपछि उनी अस्पताल पुरयाइए । उनी बाँचे । तर एउटा खुट्टा भने गुमाए।

सपना भत्किएपछि धीरेन्द्रसँग स्वदेश फर्किनुबाहेक अर्को विकल्प बाँकी रहने कुरै भएन । तब त २ जनवरी दिँउसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल देखिए,धीरेन्द्र । तर, उनी जसरी मलेसिया पुगेका थिए,फर्किदाको परिस्थिती बेग्लै थियो । एउटा खुट्टा काटिएको थियो । ह्विल चियरमा गुडदै तपक्क चुहिन थालेका आँशु लुकाउदै धीरेन्द्र सपना विहिन जस्ता देखिन्थे । विमानस्थलमा धीरेन्द्रको लोलाएका अनुहार हेर्दा यस्तो लाग्थ्यो,प्रवासमा पुगेका यस्ता कति नेपालीका सपना भत्किएका होलान ।

धन्यवाद एनआरएनए

एनआरएनए जसले धीरेन्द्रलाई मलेसियामा विचल्ली हुन दिएन । एनआरएनएका उपाध्यक्ष डा.बद्री केसीका अनुसार मलेसियामा एनआरएनएले धीरेन्द्रलाई सेल्टरको व्यवस्थापनमात्र गरेन,मलेसियास्थित नेपाली दूतावाससँग समन्वय गरेर नेपाल पठाउनका लागि पहल समेत गर्‍यो।

‘गैरआवासिय नेपाली संघका नेपालमा रहेका स्वंसेवकहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा गएर धीरेन्द्रलाई स्वागत गर्दै घर जानका लागि जनकपुरको हवाई टिकटसमेत उपलब्ध गराएका छौं,’ एनआरएनएका उपाध्यक्ष तथा यसै संस्थाका वैदेशिक रोजगार विभाग संयोजक केसी भन्छन,‘धीरेन्द्रलाई एनआरएनले एउटा ह्वीलचियरसमेत उपलब्ध गराउने छ ।’

एनआरएनएले केसी नेतृत्वको यो विभागमार्फत मलेसिया तथा खाडी राष्ट्रमा समस्यामा परेका नेपालीको ब्यवस्थापन तथा उद्यार गर्दै आएको छ।

मलेसियाबाट यसरी स्वदेश फर्किनेमा धीरेन्द्र एक्ला थिएनन । उनीसहित १४ जना नेपाली एनआरएनको सहयोगमा स्वदेश फर्किएका थिए । एनआरएनले अहिलेसम्म झण्डै ६ हजार जनालाई प्रत्यक्ष सहयोग गरिसकेको तथा भोलिका दिनमा पनि गर्ने केसीले बताए । कोभिडका कारण विदेशमा कुनै समस्या परेमा वा घरफिर्तिका लागि सहयोग आवश्यक भएमा एनआरएनएसँग सम्पर्क राख्न उपाध्यक्ष तथा वैदेशिक रोजगार विभागका संयोजक केसीले बताएका छन् ।