कुवेतको विमानस्थल विदेशी श्रमिकका लागि जुन अन्त्यसम्म सूचारु हुने

कुवेतको विमानस्थल विदेशी श्रमिकका लागि जुन अन्त्यसम्म सूचारु हुने कुवेत एयरपोर्ट

कुवेत । कोभिड–१९ को संक्रमण विस्तारै कम हुन थालेपछि कुवेत सरकारले क्रमशः लकडाउन खुल्ला गर्दै जाने भएको छ।

अहिलेकै गतिमा संक्रमण दर कम हुँदै गएमा तथा कोभिड विरुद्धको खोप लगाउनेको संख्या वृद्धि हुँदै भएमा व्यवसायिक गतिविधिलाई क्रमशः चलयामान बनाइनेछ ।

सुरुका तीन महिना (जुन, जुलाइ र अगस्ट) लाई महामारी विरुद्धको लडाइमा निर्णायक समयको रुपमा हेरिएको छ। यस अवधिमा यहाँ ५ लाखदेखि १० लाख व्यक्तिले कोभिड विरुद्धको खोप प्राप्त गरिसक्ने बताइएको छ ।

यसैक्रममा आप्रवासी श्रमिक तथा अन्य व्यक्तिको लागि कुवेतको विमानस्थल यही महिना (जुनं) को अन्त्यसम्ममा सूचारु हुने अनुमान गरिएको छ।

आवासीय अनुमतिपत्र (रेसिडेन्स) प्राप्त कुवेत फर्कन चाहने आप्रवासीले यहाँको सरकारले स्वीकृति दिएको कोभिड विरुद्धको खोप कम्तिमा एक मात्रा लगाइसकेको हुनुपर्नेछ। अल क्युवासले बताए अनुसार कुवेतले स्वीकृति नदिएको खोप अन्य देशमा प्राप्त गरिसकेका व्यक्तिको हकमा कुवेत प्रवेश गरेसँगै यहाँ स्वीकृत खोपको एक डोज लगाइनेछ।

त्यस्तै, स्वास्थ्य मापदण्डलाई पालना गर्दै सेप्टेम्बरमा नर्सरीहरु संचालन हुनेछन्।

कोभिड विरुद्धको खोप प्राप्त दरको आधारमा विद्यालयहरु सञ्चालन हुनेछन्। यदि ६० प्रतिशतले कोभिड विरुद्धको खोप प्राप्त गरेको भएमा विद्यालयहरु पूर्णरुपमा खुल्नेछन्। सो भन्दा कमले मात्र खोप प्राप्त गरेको भएमा विद्यालयहरु क्रमशः खुल्नेछन्।

त्यसैगरी, अन्य क्रियाकलापहरूको लागि पनि यहाँ खोप प्राप्त गरेका व्यक्तिहरुको प्रतिशतलाई मध्यनजर गर्दै क्रमशः खुल्ला हुँदै जाने अपेक्षा गरिएको छ। त्यसरि खुल्ला हुँदै जाने क्रममा आवश्यक स्वास्थ्य मापदण्डहरूको भने पालना गर्नुपर्नेछ।