‘सीप बिल्डिङ’मा फेल भएका सबैलाई परीक्षामा समावेश गराउन अदालतको आदेश

‘सीप बिल्डिङ’मा फेल भएका सबैलाई परीक्षामा समावेश गराउन अदालतको आदेश File Photo

काठमाडौँ। रोजगार अनुमति प्रणाली (इपिएस)अन्तरगत कोरियाको उत्पादनमूलक क्षेत्रमा हुन लागेको भाषा परीक्षामा ‘सीप बिल्डिङ’मा फेल भएका सबैलाई सामेल गराउन उच्च अदालतले आदेश दिएको छ।

गणेश राईलगायतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनले ‘सीप बिल्डिङ’ परीक्षामा फेल भएका सबैलाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा समावेश गराउन आदेश दिएको हो।

यसअघि जहाज निर्माण कम्पनी अर्थात् ‘सीप बिल्डिङ’ कामको भाषा परीक्षामा अनुत्तीर्ण भएकाहरूले उत्पादनमूलक क्षेत्रमा समेत आवेदन दिन पाउने व्यवस्थाको माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए।

इपिएसले ‘सीप बिल्डिङ’ को भाषा परीक्षामा फेल भएकाहरूले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने जनाएको थियो। यो निर्णयविरुद्ध ‘सीप बिल्डिङ’ को भाषा परीक्षामा सहभागी भइ फेल भएका सुरज पाठकसहित १८ जनाले रिट दिएका थिए।

रिटको सुनुवाइ गर्दै उच्च अदालत पाटनले ‘सीप बिल्डिङ’ मा फेल भएकाहरूलाई पनि उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा सहभागी गराउन आदेश दिएको हो।

उच्च अदालतको आदेशपछि इपिएस शाखाले रिट दायर गर्ने १८ जनालाई मात्र आवेदन भर्न बोलाएको थियो। त्यसपछि इपिएसको निर्णयविरुद्ध राईलगायतले फेरि रिट दायर गरेका थिए।

निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनले ‘सीप बिल्डिङ’ परीक्षामा फेल भएका सबैलाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा समावेश गराउन आदेश दिएको हो।

उच्च अदालतका न्यायाधीश चन्द्रमणी ज्ञवालीको एकल इजलासले सबैलाई आवेदन भर्न दिन र परीक्षामा समावेश गराउन आदेश जारी गरेको हो।

‘निवेदकहरूलगायत निवेदक सरहका समान प्रकृतिका इच्छुक व्यक्तिहरूलाई उल्लेखित मिति २०८०।८।१९ को सूचना बमोजिम मिति २०८०।९।२ बाट खुल्ला गरिएको आवेदन फारम भर्न रोक नलगाउनु र परीक्षा आवेदन फाराम भर्न दिनु दिलाउनु भनी विपक्षीहरूको नाउँमाउच्च अदालत नियमावली, २०७३ को नियम ४२९१० बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ। प्रस्तुत आदेशको जनाउ विपक्षीहरूलाई दिई नियमानुसार गर्नू,’ आदेशमा भनिएको छ।

अदालतको यो आदेशसँगै अब ‘सीप बिल्डिङ’ परीक्षामा फेल भएका सबैले उत्पादनमूलक क्षेत्रको भाषा परीक्षा दिन पाउने भएका छन्।

परीक्षा दिन नपाएको झोकमा ‘सीप बिल्डिङ’ परीक्षामा फेल भएकाहरूले शुक्रबार बिहानैदेखि इपिएस कार्यालयमा आन्दोलन चर्काइरहेका छन्। केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुसार अहिलेसम्म दुई आन्दोलनकारी युवाको ज्यान गइसकेको छ।

आन्दोलनमा प्रहरीको गोली लागेर दैलेखका २३ वर्षीय सुजन रावत तथा डोटी घर भएका २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको छ।

प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारी रावतको उपचारको क्रममा किष्ट अस्पतालमा तथा शाहको पाटन अस्पतालमा मृत्यु भएको हो।

आन्दोलन उग्र भइरहेको बेला उनीहरूले प्रहरीलाई ढंगामुढा गरेका थिए। सोही क्रममा प्रहरीले आन्दोलनकारीलाई तिरबितर बनाउन अश्रुग्यास प्रहार गरेको थियो।

प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा.२ झ ५८६१ नम्बरको गाडी समेत जलाएका छन्।