उच्च अदालतको आदेशबारे कोरियालाई जानकारी दिएका छौं : इपिएस प्रमुख

उच्च अदालतको आदेशबारे कोरियालाई जानकारी दिएका छौं : इपिएस प्रमुख File Photo

काठमाडौं। रोजगार अनुमति प्रणाली (इपिएस)अन्तरगत कोरियाको उत्पादनमूलक क्षेत्रमा हुन लागेको भाषा परीक्षाका सम्बन्धमा पाटन उच्च अदालतले जारी गरेको अन्तरिम आदेशको जानकारी कोरियालाई पठाइएको छ।

इपिएस कोरिया शाखाका प्रमुख गुरुदत्त सुवेदीले उच्च अदालतले दिएको आदेशका सम्बन्धमा आफूहरूले कोरियाली निकायलाई पत्रचार गरेको जानकारी दिए।

‘नेपालको उच्च अदालतबाट यस्तो आदेश आएको छ भनेर हामीले पत्रमार्फत जानकारी पठाएका छौं ,’ सुवेदीले प्रवास खबरसँग भने।

यसअघि जहाज कम्पनी अर्थात् ‘सिप बिल्डिङ’ कामको भाषा परिक्षामा अनुत्तीर्ण भएकाहरूले उत्पादनमूलक क्षेत्रमा समेत आवेदन दिन पाउने व्यवस्थाको माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए।

इपिएसले ‘सिप बिल्डिङ’ को भाषा परीक्षामा फेल भएकाहरूले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने जनाएको थियो। यो निर्णयविरुद्ध ‘सिप बिल्डिङ’ को भाषा परीक्षामा सहभागी भइ फेल भएका १८ जनाले रिट दिएका थिए।

रिटको सुनुवाइ गर्दै उच्च अदालत पाटनले ‘सिप बिल्डिङ’ मा फेल भएकाहरूलाई पनि उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा सहभागी गराउन आदेश दिएको हो।

‘सिप बिल्डिङ’मा फेल भएकाहरूलाई पनि उत्पादनमूलक क्षेत्रमा पनि सहभागी हुन पाउने व्यवस्था मिलाउन आदेश भएको छ,’ सुवेदीले भने, ‘यसको जानकारी हामीले पठाएका छौं। उताबाट (कोरियाली निकाय) आउने निर्णयको पर्खाइमा छौँ।’

इपिएसले उत्पादनमूलक क्षेत्रकाे भाषा परीक्षाका लागि गत सोमवारदेखि आवेदन खुलाएको थियो। आवेदन दिन पाउने आज (शुक्रबार) अन्तिम म्याद हो।

इपिएस प्रमुख सुवेदी कोरियाकाे निर्णय आएपछि मात्र यस सम्बन्धमा आफूहरूले काम कारवाही अघि बढाउने बताउँछन्।

‘कोरियाली निकायसँगको समन्वयबिना हामीले केही पनि गर्न सक्दैनौं, मिल्दैन। म्याद थप गर्ने अधिकार पनि हाम्रो हातमा हुँदैन,’ उनले भने।

उनकाअनुसार उत्पादनमुलक क्षेत्रका लागि आवेदन दिन पाउने मिति आजै सकिनेछ। ‘तालिकाअनुसार नै हुन्छ। आजसम्म मात्र आवेदन दिन पाइन्छ,’ उनले भने

उत्पादनमुलुक क्षेत्रमा आवेदन दिनेहरूले समस्या भइरहेको गुनासाे गरिरहेका छन्। वेबसाइटको सर्भरको क्षमता कम भएकाले समस्या आएको हुनसक्ने अनुमान गरिएको छ।

‘पछिल्लो  दुई दिनमा आवेदन दिनेहरूकाे चाप उच्च छ। यो संख्या धेरै भएका कारणले हो। दुई दिनमा मात्र ५० हजार बढीको आवेदन आएको छ,’ उनले भने।

उत्पादनमुलुक क्षेत्रमा अहिलेसम्म ७० हजारभन्दा बढीले आवेदन भरेका छन्।