अमेरिकामा नेपालीले मनाए दसैँ

अमेरिकामा नेपालीले मनाए दसैँ

वाशिङ्गटन डिसी। अमेरिकामा स्थायी बसोबास गर्दै आएका नेपालीले आफ्नो परम्परा र संस्कृतिको जगेर्ना गर्दै निकै रमाइलो वातावरणमा वडादसैँ मनाएका छन्। अमेरिकाका कैयौँ राज्यमा छरिएर बसोबास गर्दै आएका नेपालीले विजया दशमी २०७९ का अवसरमा बुधबार आफ्ना मान्यजनबाट टीका, जमरा र प्रसाद ग्रहण गरेर दसैँ मनाएका हुन्। नेपालीले कतै आआफ्ना घरबस्तीमा त कतै मन्दिर या सार्वजनिकस्थलमा जम्मा भएर सामूहिकरुपमा दसैँ पर्व मनाएका हुन्।

अमेरिकी जीवनशैलीमा व्यस्त भएर आफ्नो जीवनयापन चलाइरहेका नेपालीले विभिन्न राज्यमा स्थापित मन्दिरमा पुगेरै टीका ग्रहण गरेका तस्वीर पनि सामाजिक सञ्जालमा राखेका छन्। नेपालीको उपस्थिति बाक्लो रहेका टेक्सस, न्यूयोर्क, मेरिल्याण्ड, क्यालिफोर्निया, भर्जिनियालगायतका क्षेत्रमा नौरथा सुरु भएदेखि नै घरमा मकै र जौका जमरा राखेर स्थानीय समयानुसार बुधबार टीका र जमरा ग्रहण गरेका हुन्।

पछिल्ला वर्षमा नेपालीले अपार्टमेन्टको बसाईभन्दा व्यक्तिगत घर खरिद गर्ने सङ्ख्या पनि उल्लेख्यमात्रामा बढ्दै गएकाले पनि आफ्ना घरमा नै घटस्थापना गरेर जमरा राख्ने प्रचलन बढेको देखिएको छ। एकै स्थानमा ४०–५० को सङ्ख्यामा नेपालीको घर भएका स्थानमा एकापसमा मिलेर जमरा राखेर टीकाको दिन त्यही स्थानबाट बाँडफाँट गर्ने गरेको पनि पाइन्छ । यसरी राखिएको जमरा विजया दशमीका दिन मान्यजनको हातबाट टीकासहित ग्रहण गरिन्छ।

विगत १६ वर्षदेखि न्यूयोर्कमा बस्दै आएका भागवत शर्माले दसैँका लागि भनेर एक महिना पहिला नै आफू काम गर्ने कम्पनीबाट बिदा लिएर बसेको बताए। उनले भने, “एक दशकअघिको तुलनामा अहिले दसैँ मनाउने समूह बढ्दै गएको छ। उनको अनुभवमा एक दशकअघिसम्म जमरा राख्न पनि गाह्रो पर्ने गरेकामा विगत चार पाँच वर्षयता जमरा राख्न सजिलो भएको र जमघटमा पनि बाक्लो उपस्थिति हुने गरेको छ। यसरी अमेरिका बसोबास गर्ने नेपालीबीच पनि दसैँ मनाउनेक्रम बढ्दै गएको देखिएको छ।”

शर्मा भन्छन, “पछिल्ला वर्षमा नेपालीको कडा परिश्रमका कारणले व्यवसाय तथा रोजगारीमा वृद्धि भएसँगै आफ्ना चाडबाड र रीतिरिवाजमा बढी ध्यान गएको मैले अनुभूति गरेको छु। यसले हामीबीच आपसी भाइचारा र सम्बन्धमा विस्तार भएको छ र कुनै महत्वपूर्ण अवसर या कसैलाई गाह्रो सारो पर्दा पनि एकजुट हुन सजिलो भएको छ।”

कोरोना महामारीपछि आफ्ना नजिकका आफन्तजनसँग कुराकानी, भेटघाट गर्न र दसैँ मनाउन कतिपय नेपाली एक राज्यबाट अर्को राज्यसम्म यात्रा गर्ने गरेका पनि बताउँछन्। कोरोना महामारीका कारणले आक्रान्त बनेको अमेरिकामा बस्दै आएका नेपालीमा विगतको तुलनामा आपसी सहकार्य र सम्बन्ध पनि वृद्धि हुँदै गएको छ। सय वर्षपछि ठप्प भएको अमेरिकी जनजीवनलाई नजिकबाट भोग्न पाएका आप्रवासी नेपालीलाई आफ्नो चाडबाड र आफन्तको खोजीमा चासो हुन थालेको देखिन्छ। सायद यसैकारणले होला यसपटकको दसैँमा हरेक राज्यमा बाक्लो जमघट भएका दृश्य यत्रतत्र देखिएको छ।

दसैँका लागि भनेर नेपालबाटसमेत अभिभावक झिकाएर अमेरिकाको भूमिमा दसैँमान्न पाउने आफूलाई भाग्यमानी सम्झन्छन्। उनीहरुले नेपालबाट आएका अभिभावकसँगै प्रवासी भूमिमा दसैँमान्न पाउँदा असाध्यै खुसी लागेको प्रतिक्रिया दिएका छन्।

वडादसैँको अवसर पारेर अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले शुभकामना सन्देश सम्प्रेषित गरेका छन। उनले सन्देशमा संयुक्त राज्य अमेरिकामा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गरेका छन।