नेपाल एयरलाइन्सको उडान अब कतारको पुरानो विमानस्थलबाट

नेपाल एयरलाइन्सको उडान अब कतारको पुरानो विमानस्थलबाट File Photo

दोहा। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को दोहा– काठमाडौं–दोहा उडान अबदेखि दोहा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने भएको छ।

कतारको नागरिक उड्डयन प्राधिकरणले निगमको उडानलाई दोहा अन्तर्राष्ट्रिय विमानस्थलमा परिवर्तन गराएको हो।

१५ सेप्टेम्बरदेखि ३० डिसेम्बर २०२२ सम्म निगमले अब दोहा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान–अवतरण गर्नेछ। यो कतारको पुरानो अन्तर्राष्ट्रिय विमानस्थल हो।

कतार विश्वकपको संघारमा छ। विश्वकपका बेला हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा चाप बढ्ने भएपछि उसले पुरानो विमानस्थलाई समेत प्रयोगमा ल्याएको हाे।

नेपाललगायत अन्य एसियाली मुलुकका लागि हुने उडानहरु पुरानो विमानस्थलबाट गराउने कतारको तयारी छ।

यस्तै, विश्वकप अवधिभर कतारले नेपाललगायतका एसियाली मुलुकमा उडान संख्या पनि घटाउने भएको छ।