साउदी अरेबियाले एआइ सम्बन्धी विश्व सम्मेलन गर्ने

साउदी अरेबियाले एआइ सम्बन्धी विश्व सम्मेलन गर्ने FILE PHOTO

रियाद। साउदी अरेबियाले ग्लोबल एआइ (आर्टिफिसियल इन्टेलिजेन्स) सम्मेलन गर्ने भएको छ।

साउदी अरेबियाको समाचार समिति, साउदी प्रेस एजेन्सीले दिएको जानकारी अनुसार साउदी अरेबियाले आगामी सेप्टेम्बर महिनामा दोस्रो विश्व सम्मेलन गर्न लागेको हो।

‘राम्रो मानवीयताका लागि आर्टिफिसियल इन्टेलिजेन्स’ भन्ने विषयमा केन्द्रित रहेर सो विश्व सम्मेलन गर्न लागिएको साउदी प्रेस एजेन्सीले जानकारी दिएको छ।

सो सम्मेलनमा आर्टिफिसियल इन्टेलिजेन्समा काम गरिरहेका विश्वका एक सय जना विज्ञ सहभागी हुने र आफ्नो विशेषज्ञताका विषयमा कार्यपत्र पनि प्रस्तुत गर्ने जनाइएको छ।

सो सम्मेलनमा स्मार्ट सिटी, मानवीय क्षमताको विकास, स्वास्थ्य क्षेत्र, यातायात, संस्कृति तथा सम्पदा, उर्जा आदिका क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्सले गर्नसक्ने कामहरुका बारेमा पनि छलफल गरिने छ।

मानिसको सहयोगी एवं मानवीय सेवा र जनशक्तिको पूर्तिका क्षेत्रमा यस आर्टिफिसियल इन्टेलिजेन्सले गर्नसक्ने कामका बारेमा सो सम्मेलनमा छलफल गरिने जनाइएको छ।

हाल विश्वमा प्रयोगमा आइरहेको आर्टिफिसियल इन्टेलिजेन्स विषयमा आवश्यक मात्रामा परामर्श र छलफल गरी यसको प्रयोगमा देखा परिरहेका चुनौती र त्यसको समाधानका उपायहरुका बारेमा पनि सो सम्मेलनमा छलफल हुने बताइएको छ।

मानवीय सेवाका क्षेत्रमा बढीभन्दा बढी यो आर्टिफिसियल इन्टेलिजेन्सलाई के कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा पनि सो सम्मेलनमा यसका विज्ञहरुका बीचमा छलफल हुने सो समाचारमा जनाइएको छ।