पर्यटन प्रवर्द्धनका नाममा दुबईमा ‘शंकास्पद’ सांस्कृतिक कार्यक्रम, कालो धन चलखेलको आशंका

पर्यटन प्रवर्द्धनका नाममा दुबईमा ‘शंकास्पद’ सांस्कृतिक कार्यक्रम, कालो धन चलखेलको आशंका

काठमाडौं। आउँदो २१ अगष्ट आईतबार नेपालको पर्यटन प्रवर्द्धन गर्ने भन्दै संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा विशाल सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ।

‘नेपालको पर्यटन प्रवर्द्धन, कला संस्कृतिको सम्वर्द्धन तथा प्रचार–प्रसारका लागि’ भनेर हरितालिका तीजको अवसर पारेर ‘नेपाल इभ टुरिजम टूर दुबई–२०२२’ नामक कार्यक्रम गरिँदैछ।

सार्वजानिक गरिएको पोष्टरमा भनिएअनुसार यस्तो किसिमको कार्यक्रम यूएईमा पहिलो पटक हुँदैछ। यसअघि यूएईमा हुँदै आएका नेपाली कार्यक्रमहरुभन्दा यो विशेष भएको आयोजकको दावी छ। त्यसैले यो कार्यक्रमलाई आयोजक टिमले ‘ऐतिहासिक’ भनेको छ।

कार्यक्रममा नेपालका चर्चित अभिनेता, अभिनेत्रीदेखि ख्यातीप्राप्त गायक,गायिकालाई बोलाइएको छ। महानायक राजेश हमाल, नायिका केकी अधिकारी, स्वस्तिमा खड्का, कमेडियन सन्दीप क्षेत्री, गायक शिव परियार, गायिका सुनिता दुलाल कार्यक्रमका विशेष आकर्षक हुन्। यस्तै ‘डिआइडी लिटिल मास्टर’ तेरिया मगर र मोडल अञ्जली अधिकारीले पनि कार्यक्रममा प्रस्तुती दिँदैछन्।

कार्यक्रम दुबई वर्ल्ड ट्रेड सेन्टरको शेख रसिद हलमा हुने आयोजक टिमले जनाएको छ।

को हुन्, आयोजक ?                

सार्वजानिक गरिएको पोष्टर र आयोजक टीमको दावी अनुसार कार्यक्रम देशको हितका निम्ति हुँदैछ। नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‌याउने कार्यक्रमको मुख्य उद्धेश्य हो। त्यसैले त कार्यक्रमको पोष्टरमै भनिएको छ – एक नेपालीले कम्तिमा दुई जना पर्यटक नेपाल पठाउन प्रेरित गरौं, देशको पर्यटन विकासमा योगदान पुर्‌याऔं।’

झट् हेर्दा र सुन्दा कार्यक्रमको उद्धेश्य निकै राम्रो छ। देशकै फाइदाका लागि आयोजना गरिएका यस्ता कार्यक्रम दुबईमा मात्र होइन संसारभर गरिनुपर्छ।

तर, वास्तविकता भने अलि फरक छ। यसरी देशमा पर्यटक भित्र्याउने चिन्ता लिएर कार्यक्रम गर्ने आयोजकहरु भने ‘व्यापारिक घराना’का हुन्। नेपाल सरकारको पर्यटन प्रवर्द्धन गर्ने निकायसँग उनीहरुको कुनै साइनो छैन। कार्यक्रम विशुद्ध व्यापारिक प्रयोजनका लागि गरिएको हो।

कार्यक्रमको आयोजकका रुपमा अहिले बाहिर तीन जना देखिएका छन्, कमल जीसी, विकास खतिवडा र विजय वस्याल। कार्यक्रम कोर्डिनेटरको जिम्मेवारी जीसीले लिएका छन् भने टेक्निकल पार्टको जिम्मा वस्यालको हो। उनीहरुले यसअघि नेपालमा पनि विभिन्न कार्यक्रमहरु गर्दै आएका थिए।

आयोजकमध्येका खतिवडाको ठमेलस्थित नाइट क्लव ‘एलओडी’मा लगानी छ। स्रोतका अनुसार उनी एलओडीका ‘साइलेन्स पार्टनर’ हुन्। यो टिमलाई दुबईमा भने भिम मल्ल ठकुरीले सघाइरहेका छन्। ठकुरी गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईका युवा संयोजक हुन्।

आयोजकमध्येका वस्यालले बताएअनुसार अहिले कार्यक्रमको तयारी तीव्र रुपमा भइरहेको छ। जसका लागि कार्यक्रम कोर्डिनेटर जीसी दुबई पुगिसकेका छन्।

वस्यालले कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र पर्यटन बोर्डको समन्वयमा गर्न लागिएको दावी गरेका छन्। ‘हामीले यो कार्यक्रम टुरिजम प्रमोशनकै लागि गर्न लागेका हौं। यस विषयमा पर्यटन मन्त्रालय र बोर्डसँग बैठक गरेका थियौँ। मन्त्रालय र बोर्डसँगको समन्वयमै कार्यक्रम हुँदैछ,’ वस्यालले प्रवास खबरको टेलिफोन कुराकानीमा भने, ‘त्यसैले हामीले कार्यक्रमको पोष्टरमा मन्त्रालय र बोर्डको लोगो हालेका हौं।’

आम्दानीभन्दा खर्च बढी

आयोजक टीमले नेपालको पर्यटन प्रवर्द्धनका लागि भनेर कार्यक्रम गर्न लागेको दावी गरेतापनि यसमा पर्यटन बोर्डले कुनै पनि आर्थिक सहयोग गरेको देखिदैन। आबुधावीस्थित नेपाली दूतावासले पनि यो कार्यक्रम गर्न सहयोग गरेको छैन।

कार्यक्रम गर्न लागिएको हल दुबई वर्ल्ड ट्रेड सेन्टर यूएईको अत्यन्तै मँहगो एरिया हो। यो ठाउँमा अहिलेसम्म कुनै पनि नेपाली कार्यक्रम भएका छैनन्। त्यहाँका नेपाली संघ–संस्थाले पनि अहिलेसम्म यति महंगो हलमा कार्यक्रमहरू गरेका छैनन्।

आयोजक वस्यालकै भनाइ अनुसार यो हलको भाडा नेपाली करिब ४६ लाख रुपैयाँभन्दा (१ लाख ३५ हजार दिराम)  छ। यो हलको दर्शक अटाउने क्षमता भने २५ सय हो।

कार्यक्रममा २५ दिरामको टिकट राखिएको छ। यसबाहेक भिआइपी टिकट भनेर ५ सय दिरामको टिकट विक्रीमा राखिएको छ। तर, यूएईमा कार्यरत अधिकांश नेपालीले सस्तो टिकट काटेर हेर्छन्।

मानौं, कार्यक्रममा दर्शक पूरै भरिभराउ भए पनि २५ सय जनाले २५ दिरामका दरले टिकट काट्दा जम्मा ६२ हजार ५ सय दिराम मात्रै आम्दानी हुन्छ। तर, हल भरिन्छ भन्ने सम्भावना एकदमै न्यून छ। किनभने यस्ता नेपाली कार्यक्रम यूएईमा सधैजसो भइरहेका हुन्छन्। नेपालीलाई यस्ता सांस्कृतिक कार्यक्रमप्रति खासै चासो पनि हुँदैन। खर्च मात्रै गर्नुपर्ने कार्यक्रममा जानुभन्दा विदाको समयमा अरु तरिकाले नै रमाइलो गरौँ भन्ने चाहाना उनीहरुमा हुन्छ।

खर्च हल भाडामा मात्र हुँदैन। आयोजक टीमले दुबईको सम्बन्धित निकायबाट कार्यक्रम गर्न स्वीकृति लिनकै लागि ५ हजार दिराम खर्च गरिसकेको छ। यस्तै दर्शकका लागि नि:शुल्क यातयात सुविधा पनि व्यवस्था गरिएको छ। यातयात सुविधाकै लागि आयोजकले १५ हजारभन्दा बढी खर्च गर्नुपर्ने हुन्छ। योबाहेक नेपालबाट बोलाइएका कलाकारहरुका लागि ठूलो रकम खर्च गर्नुपर्छ।

नेपालबाट कम्तिमा १० जना कलाकार जाँदैछन्। कलाकारबाहेक १०-१२ जना अरु व्यक्तिलाई पनि कार्यक्रममा बोलाइएको छ। उनीहरु सबैलाई हवाइ टिकटको व्यवस्था गर्नुपर्छ। स्टार होटलमा राख्नुपर्ने हुन्छ। घुमाउनेदेखि सपिङसम्म आयोजकले गराउनुपर्छ।

कलाकारले पाउने पारिश्रमिक झन धेरै नै हुन्छ। त्यस्तै कार्यक्रमको व्यवस्थापनमा अरू पनि खर्च आउँछ।

लगानीमा शंका

सामान्य रुपले अनुमान लगाउँदा पनि कार्यक्रममा खर्च भयंकर हुने देखिन्छ। तर, आयोजकले आम्दानी गर्नसक्ने श्रोत भने सीमित छन्। नेपालमा विदेशी पर्यटक भित्र्याउने भनेर राखिए पनि कार्यक्रमका दर्शक भने विदेशी होइनन् यूएईमा कार्यरत श्रमिक हुन्। त्यसैले आम्दानीको मुख्य श्रोत मानिने टिकटको पैसाले कार्यक्रम धान्न सक्दैन।

आम्दानीको अर्को श्रोत भनेको प्रायोजक हुन्। यो कार्यक्रमलाई विदेशी ठूला कम्पनीले प्रायोजन गर्ने सम्भावाना न्यून छ। किनभने यो कार्यक्रम विशुद्ध नेपालीलाई लक्षित गरिएको छ। कार्यक्रममा केही प्रायोजक भेटिए भने पनि ती नेपाली हुन्। यूएईमा नेपालीले गर्ने भनेको सामान्य रेष्टुरेण्ट, ट्राभल कम्पनीलगायतका व्यवसाय हुन्। सानो लगानीमा थोरै कमाउने व्यवसायीहरुले यति ठूला कार्यक्रममा प्रायोजन गर्न गाह्रो हुन्छ। कसैले गरिहाले पनि बढीमा ५ सयदेखि १ हजार दिरामसम्मको हो।

यो कार्यक्रम आयोजना गर्ने टोली कुनै सामाजिक संस्था होइन, व्यापारिक घराना हो। त्यसैले उनीहरुले कार्यक्रम पक्कै फाइदाका लागि गरेका हुन्। खर्च बढी हुनु र आम्दानी हुने श्रोत न्यून हुनुले यो कार्यक्रमको लगानीमाथि शंका उठेको छ। घाटा हुने कार्यक्रममा यति ठूलो लगानी किन गरिँदैछ? भनेर यूएईका नेपाली संघ–संस्था आश्चर्यमा परेका छन्।

राजनैतिक लगानी- पुनम यादवदेखि दुर्गा प्रसाइँसम्म

कार्यक्रम आयोजकका रुपमा मैदानमा तीन जना देखिए पनि यहाँ लगानी गर्नेहरु भने राजनैतिक पार्टीका नेता भएको खुलेको छ। विसी, वस्याल र खतिवडा कार्यक्रममा व्यवस्थापनमा खटिएका छन्, यसमा लगानी भने अरुको पनि छ।

यो कार्यक्रमकी मुख्य लगानीकर्ता हुन् नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य पुनम यादव। यसबाहेक नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पनि यो कार्यक्रममा समावेश छन्। प्रसाईँ पछि मात्रै जोडिएका हुन्।

प्रसाईँ त यो कार्यक्रमका लागि खुलेरै मैदानमा उत्रिएका छन्। उनले भिडियोमार्फत यूएईमा हुने नेपालीलाई कार्यक्रममा सहभागी हुन् आग्रह गरिरहेका छन्।

यो कार्यक्रमकी अध्यक्ष नै पुनम हुन्। आयोजक वस्यालले प्रवास खबरलाई बताएअनुसार ४ जनाको टिममा अध्यक्ष यादवलाई बनाइएको छ। यो कार्यक्रमको तयारीका लागि पुनम आफै दुबई पनि पुगेकी थिइन्। तर, पुनमको आर्थिक लगानी भने नरहेको वस्यालको दावी छ।

हलभाडा प्रायोजकले तिर्ने हो : वस्याल

आयोजकमध्येका वस्यालसँग प्रवास खबरले घाटा हुने कार्यक्रम किन गर्दै हुनुहुन्छ ? भन्ने जिज्ञाशा राखेको थियो। जवाफमा वस्यालले कार्यक्रम घाटामा नजाने बताए। उनका अनुसार कार्यक्रमलाई दुबईको ‘ब्लुचीप’ नामक कम्पनीले मुख्य प्रायोजन गरेको छ। यही कम्पनीले हल भाडावापतको ४६ लाख नेपाली रुपैयाँ (करसमेत गरेर)  तिरिदिने भएको छ।

हल भाडावापतको रकम जुटाउन पुनमले पहल गरेको वस्यालको भनाइ छ। ‘हल भाडावापतको खर्च सबै उक्त कम्पनीले तिर्ने भएको छ। यसमा हाम्रो केही खर्च हुँदैन। ठूलो खर्च हलभाडामा हो। अरु त, टिकटलगायत स्पोन्सरबाट म्यानज गर्न सकिन्छ। त्यसैले कार्यक्रम गर्ने आँट गरेका हौं,’ वस्यालले भने, ‘पुनम जीको पीआर राम्रो छ। त्यसैले कम्पनीले यो भाडा तिरिदिएको हो।’

सिल्सेसबाट लगानी आउने चर्चा

वस्यालले कार्यक्रममा हुने लगानीको विषयमा शंका गर्नुपर्ने कुनै ठाउँ नरहेको दावी गरेका छन्। ठूलो खर्च प्रायोजकले तिरिदिने भएकाले आफूहरु कार्यक्रम गर्न तयार भएको उनको भनाइ छ।

तर, यूएईको नेपाली समुदायमा भने यो कार्यक्रमलाई लिएर विभिन्न टिका–टिप्पणी भइरहेका छन्। कमाईभन्दा खर्च बढी हुने भन्दै उनीहरुले आयोजकमाथि शंका गरिरहेका छन्।

यो कार्यक्रमका लागि सिल्सेसबाट दुबईमा पैसा ल्याउन लागिएको एक नेपाली संस्थाका उच्च पदाधिकारीको दावी छ। अवैध धनलाई वैध बनाउन कार्यक्रमको नाटक गरिएको दावी उनको छ।

‘सिल्सेसबाट पैसा आउने रे भन्ने सुनेका छौँ। शंका गर्नुपर्ने थुप्रै ठाउँ देखिएका छन्। हामी बढो अच्चममा परेका छौं,’ ती पदाधिकारीले प्रवास खबरसँग टेलिफोनमा भने।

तर, वस्यालले भने सिल्सेसबाट पैसा आउने कुरा अफवाह भएको बताए। ‘हामीले कार्यक्रम गर्न लागेकोमा त्यहाँ रहेका केही नेपाली संघ–संस्थालाई चित्त दुखेको छ। त्यसैले नभएका कुराहरु गरिदैछ,’ वस्याल भन्छन्, ‘सिल्सेसबाट पैसा ल्याउने भन्ने कुरा हावा हो। कालो धनलाई सेतो बनाउन खोजेको भए दुबईमा अरु उपाय नि होलान्। त्यसका लागि यत्रो दुः ख गरेर कार्यक्रम नै गर्नुपर्छ भन्ने छैन।’

तपाईँहरु नेपालबाट कार्यक्रम गर्न त्यहाँ जानुभएको छ। कानून अनुसार नेपालबाट पैसा बाहिर लैजान मिल्दैन। उताको खर्च कसरी व्यवस्थापन गर्दैहुनुहुन्छ? भनेर प्रवास खबरले वस्याललाई सोधेको थियो। उनको जवाफ थियो– दुबईमा हाम्रा साथीहरु हुनुहुन्छ। चिनजानका केही व्यवासायी पनि हुनुहुन्छ। उहाँहरुले सहयोग गरिरहनुभएको छ।

यस्तै अर्का एक नेपाली संस्थाका अध्यक्ष भने कार्यक्रमको नाममा मानव तस्करी पनि हुनसक्ने जोखिम रहेको बताउँछन्। ‘यति ठूलो कार्यक्रम किन गरिदैंछ? आफैमा शंका उत्पन्न हुन्छ। कार्यक्रम छ भन्दै अतिथिका नाममा नेपालबाट चर्को रकम असुलेर भिजिटमा मान्छे ल्याउने काम पनि हुनसक्छ। यसमा दूतावास, नेपालको अध्यागमन विभाग सचेत हुनुपर्ने देखिन्छ,’ उनले प्रवास खबरसँग भने।

नेपाली संघ–संस्था सहयोग गर्न तयार भएनन्

कार्यक्रम गर्ने सोचका साथ आयोजक टीम केही समयअघि दुबई पुगेको थियो। टीमले सुरुमा नेपाली कलाकर्मीहरुको अन्तर्राष्ट्रिय संस्था इनासको यूएई शाखासँग सहयोग मागेको थियो।

इनासका यूएई अध्यक्ष एमडी बोहोरासँगको छलफलपछि मिलेर कार्यक्रम गर्ने सहमतिसम्म भएको थियो। तर, कार्यक्रममा लगानीको विषयमा प्रश्न उठ्यो।

सुरुमा आयोजक तीन जना मात्र भनिएको थियो। तर, पछि पुनम पनि टीममा रहेको बताइयो। इनास सामाजिक संस्था थियो, नाफा कमाउने उद्धेश्य संस्थाको थिएन। अन्तत : इनासले कार्यक्रममा सहयोग नगर्ने भन्दै पछि हट्यो।

यसविषयमा प्रवास खबरले अध्यक्ष बोहोरालाई सोधेको थियो। उनले संस्थाको प्रोटोकलका कारण आफू बाहिरिएको बताए। ‘सुरुमा मिलेर गरौँ भन्ने कुरा भएको हो। यो अन्तर्राष्ट्रिय संस्था हो। मैले सबैतिर जवाफ दिनुपर्छ,’ बोहोराले भने, ‘मिलेर कार्यक्रम गर्दा संस्थाको नीति, नियमभित्र रहेर गर्नुपर्छ। तर, प्रोटोकल कार्यान्वयन गर्न उहाँहरु तयार हुनुभएन त्यसैले बाहिरिएको हो।’

आयोजक टीमले यूएईका अन्य नेपाली संघ–संस्थासँग पनि सहयोग गर्न आग्रह गरेको थियो। प्रवास खबरलाई प्राप्त जानकारी अनुसार टिकटवापत आउने रकम आधा–आधा गराउने प्रस्ताव आयोजक टीमको थियो। तर, कार्यक्रममा हुने लगानीको विषयमा आयोजकले प्रष्ट जवाफ नदिँदा कुनैपनि संस्था सहयोगका लागि तयार भएनन्।

सहकार्यको प्रस्ताव आएको थियो, ‘नो’ भन्यौं : एनआरएनए अध्यक्ष ढुंगाना

आयोजक टीमले कार्यक्रम गर्न सहयोग गरिदिनुहोस् भन्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईका पदाधिकारीसँग पनि छलफल गरेको थियो।

एनआरएनएसँग पनि टिकटको पैसा आधा–आधा गराउने प्रस्ताव थियो। तर, आयोजकको प्रस्ताव एनआरएनएले अस्वीकार गरेको अध्यक्ष ठाकुर ढुंगानाले बताए।

‘हामीसँग पनि उहाँहरु सहयोग गर्नुहोस् भन्दै आउनु भएको थियो। तर, गर्न लागेको कार्यक्रमको उद्देश्य र भूमिकाको विषयमा उहाँहरुले प्रस्ट पार्नु भएन’, अध्यक्ष ढुंगानाले प्रवास खबरसँग भने, ‘एनआरएनए सामाजिक संस्था हो। सामाजिक हितका लागि भए सहयोग गरिन्छ। तर, व्यापारिक फाइदामा गर्न सक्दैनौं भनेर ‘नो’ भन्यौं।’

आयोजक टीमले एनआरएनएसँग स्पोन्सर खोजिदिन समेत आग्रह गरेको थियो। ‘व्यापारिक उद्देश्यका लागि स्पोन्सर खोज्दिने कुरा भएन। फुर्सद भए कार्यक्रम हेर्न आउँछौं। टिकट काटेर कार्यक्रम हेरिदिन्छौ भनेर पठायौँ,’ उनले भने।