एनआरएनए अमेरिकामा लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिति

एनआरएनए अमेरिकामा लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिति

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको नयाँ नेतृत्वमा कृष्ण लामिछाने चयन भएका छन्।

संघका अमेरिका क्षेत्रीय संयोजक प्रकाश सापकोटाका अनुसार यसअघि बुद्धिसागर सुबेदीको अध्यक्षतामा रहेको कार्यसमिति संघको ८२ औं बैठकको निर्णय बमोजिम स्वतः खारेज भएपछि लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो।

सदस्यहरुको शुल्क पटक-पटक ताकेता गर्दा समेत संघको केन्द्रीय कार्यालयमा नबुझाएपछि सुवेदीको कार्यसमिति कारवाहीमा परेको हो।

संघको विधान अनुरुप केन्द्रको निर्णय नमान्ने राष्ट्रिय समितिको आबद्धता खारेज गर्न सकिने प्रावधान छ ।

संघको विधान २००३ को (संसोधन २०२१० दफा १७. ७) अनुसार सुबेदीको नेतृत्वमा रहेको कार्य समितिको मान्यता स्वतः खारेज भइ नयाँ कार्यसमितिको निर्वाचनका लागि तदर्थ समिति गठन गर्नुपर्ने अवस्था आएको संयोजक सापकोटाको भनाइ छ।

सुवेदी संघका पूर्वअध्यक्ष शेष घले निकटवर्ती मानिन्छन् । उनले २० हजार पंन्जिकृत सदस्यहरुको सदस्यता शुल्क करिव१ लाख डलर केन्द्रमा बुझाएका छैनन्।

यसअघि अमेरिका क्षेत्रीय समितिको एक बैठकले सुवेदीको कार्यकालको लागि धन्यवाद दिंदै हरहिसाव बुझाउन निर्देशन दिने निर्णय गरेको थियो।

बैठकमा क्षेत्रीय उपसंयोजकद्धय अभिमन्यु बस्नेत, पशुपती पाण्डे, पुरुषोत्तम बोहरालगायतको उपस्थिति थियो। संयोजक सापकोटाले क्षेत्रीय समितिको पछिल्लो निर्णय संघका अध्यक्षत्रय कुल आचार्य, रविना थापा र डा. बद्री केसीलाई जानकारी दिएको बताए।