बज्राचार्यको रिटमा सर्वोच्चद्धारा परराष्ट्र र एनआरएनएलाई १५ दिनभित्र ‘कारण देखाउ आदेश’

बज्राचार्यको रिटमा सर्वोच्चद्धारा परराष्ट्र र एनआरएनएलाई १५ दिनभित्र ‘कारण देखाउ आदेश’

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी निर्वाचनमा प्रतिनिधि छनोट प्रक्रियामा धाँधली भएको भन्दै विधान संसोधन समितिका उप–संयोजक रवीन बज्राचार्यको रिटमा सर्वोच्च अदालतले विपक्षीहरूलाई कारण देखाउ आदेश जारी गरेको छ।

असोज ४ गते अमेरिका निवासी बज्राचार्यले परराष्ट्र मन्त्रालय र एनआरएनएविरूद्ध रिट दर्ता गराएका थिए।

उनको रिटमाथि आइतबार न्यायाधीस दीपकुमार कार्कीको एकल इजलासले सुनुवाई गर्दै भनेको छ, ‘यो आदेश प्राप्त भएको मितिले बाटाका म्याद बाहेक १५ दिनभित्र विपक्षी नं. १ ले महान्यायाधिवक्ताको कार्यालयमार्फत र अन्य विपक्षीहरू (एनआरएनए) ले आफै वा आफ्नो प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्नु भनी यो आदेश र रिट निवेदनको प्रतिलिपि साथै राखी विपक्षीहरूका नाममा म्याद सूचना पठाई म्यादभित्र लिखित जवाफ परे वा अवधि नाघे पछि नियमानुसार पेश गर्नु।’

बज्राचार्यले एनआरएनएको आगामी अक्टोबरमा हुने निर्वाचनमा अमेरिकाबाट प्रतिनिधि पठाउने सम्बन्धमा विधान विपरित काम भएको भन्दै थुप्रै पल्ट संघमा उजुरी गरेका थिए। तर, उनको उजुरीमाथि कुनै सुनुवाई नभएपछि उनले सर्वोच्च अदालतको ढोका ढकढकाएका हुन्।