चिलीमा एनआएनएको नयाँ शाखा विस्तार, नेतृत्वमा भट्टराई

चिलीमा एनआएनएको नयाँ शाखा विस्तार, नेतृत्वमा भट्टराई

चिली । गैरआवासीय नेपाली संघ (एनआरएनए) को चिलीमा शाखा विस्तार भएको छ । योसँगै संघको सञ्जाल विश्वका विभिन्न ८६ मुलुकमा पुगेको छ।

चिली अमेरिकाज क्षेत्रमा पर्ने देश हो । संघका अमेरिकाज क्षेत्रीय संयोजक राजन त्रिपाठीका अनुसार चिलीमा केही समयअघि सरोज अर्यालको संयोजक्तवमा तयारी समिति गठन भएको थियो । यसले कार्यसमिति निर्माणको लागि निर्वाचनको आयोजना गरेको थियो।

‘चार पदबाहेक अन्य सबैमा निर्विरोध पदाधिकारी चयन गर्न सफल भएका थियौं,’ संयोजक त्रिपाठीले प्रवास खबरसँग भने, ‘अध्यक्ष, महासचिव, कोषाध्यक्ष र युवा संयोजकमा भने निर्वाचन प्रक्रिया अपनाइएको हो।’

जसअनुसार शनिबार निर्वाचन भएको थियो । निर्वाचनबाट कृष्ण चन्द्र भट्टराई नेतृत्वमा विजयी भएका छन् । भट्टराईले निकटतम प्रतिद्वन्दी रामजी लामिछानेलाई ३९ मतले पराजित गरेका हुन्।
भट्टराईले ९४ मत पाउँदा लामिछानेले ५५ मत ल्याएका थिए।

यसैगरी महासचिवमा शमूएल सुनुवार विजयी भएका छन् । सुनुवारले प्रतिस्पर्धी श्याम गाहालाई २९ भोटले पराजित गरे । सुनुवारको ८५ मत आएको थियो भने गाहाले ५६ भोट पाए।

यस्त कोषाध्यक्षमा गुरुदत्त सापकोटालाई फराकिलो मतले पराजित गर्दै नवीन निश्चल गुरुङ विजयी भए । ३८ मत ल्याएका सापकोटालाई गुरुङले ६२ मतले पछाडी पारेका थिए।

यस्तै ९८ मत ल्याउँदै मान बहादुर राई युवा संयोजकमा विजयी भएका छन् । उनका प्रतिद्वन्दी गिरीराज पाण्डेले ४३ भोटमै चित्त बुझाउन पर्‍याे।

यसअघि उपाध्यक्षमा सर्वदा काफ्ले, सरोज अर्याल र विनोद केसी, सचिवमा नवीन श्रेष्ठ, र सहकोषाध्यक्षमा मनोज धिताल निर्विरोध चुनिएका थिए ।

यस्तै महिला संयोजकको जिम्मेवारी पविता थापाले पाएकी छिन्।

यस्तै निर्वाचित कार्यसमिति सदस्यहरुमा भिम प्रसाद खनाल, सुदिप ढकाल, बलबहादुर थापा मगर, पुरुषोतम सापकोटा र मन कुमार गुरुङ रहेका छन् ।

यसअघि क्षेत्रीय संयोजक त्रिपाठीकै पहलमा कोष्टारिका र मेक्सिकोमा नयाँ राष्ट्रिय समन्वय परिषद् गठन भएका थिए । योसँगै अमेरिका क्षेत्रमा ५ एनसीसी भएका छन् ।