अमेरिकामा १२ वर्षकी बालिकामाथि यौनहिंसा गरेको आरोपमा नेपाली युवालाई १० वर्ष जेल

अमेरिकामा १२ वर्षकी बालिकामाथि यौनहिंसा गरेको आरोपमा नेपाली युवालाई १० वर्ष जेल

फ्लोरिडा,अमेरिका । अमेरिकाको ज्याक्सनभिलेमा बस्दै आएका एक नेपालीलाई यौनहिंसाको आरोपमा १० वर्षको जेल सजाय सुनाइएको छ।

जिल्ला न्यायाधीश मार्सिया मोरालेस हार्वडले ज्याक्सनभिलेमा बस्दै आएका नेपाली युवा सञ्जय लामालाई यौनहिंसाको आरोपमा १० वर्षको जेल सजाय सुनाएको अमेरिकाको न्याय विभागले जनाएको छ।

लामामाथि एक १२ वर्षीय बालिकाकालाई इन्टरनेटमार्फत ललाइफकाइ गरी यौनहिंसा गरेको आरोप लागेको थियो ।

आरोपित लामालाई सन् २०१९ को २५ सेप्टेम्बरमा ज्याक्सनभिलेबाट पक्राउ गरिएको थियो।

लामा वैधानिक रुपमा अमेरिका बसोबास गर्दै आएको र एउटा स्थानीय कम्पनीमा सूचनाप्रविधि विशेषज्ञको रुपमा काम गर्दै आएको बताइएको छ।

संघीय इजलासले लामालाई २६ मार्च, २०२१ मा दोषी प्रमाणित गरेको बताइएको छ।

लामाले एक ‘सोसल मिडिया एप’को प्रयोग गरी गोप्य रुपमा काम गर्ने एजेन्टसँग अनलाइन कुराकानी गरेको पाइएको थियो। उनीहरुले सो ‘एप’ प्रयोग गरी यौन क्रियाकलापको लागि व्यक्तिहरुलाई भेट्ने र कुराकानी गर्ने माध्यम बनाएका थिए।

लामाले पक्राउ पर्ने बेलासम्ममा ती १२ वर्षीया बालिकासँग यौनक्रियाकलाप गर्न चाहेको इच्छा जाहेर गर्दै १ सय ६० वटा सन्देश पठाइसकेको बताइएको छ।

लामाले आफूले बालिकाप्रति गर्न चाहेको यौनव्यवहारको ग्राफिक विवरण समेत पठाएका थिए। उनी आफ्नो कार्यस्थलबाट साउथ ज्याक्सनभिलस्थित सपिङ सेन्टरमा बालिकालाई भेट्न मोटरसाइकल चढी पुगेका थिए,जुन पूर्वनिर्धारित योजना अनुसार थियो। उनले ती बालिकालाई आफ्नो नजिकको कोठामा लगेर यौन क्रियाकलापमा संलग्न गराउने योजना बनाएका थिए।

भेट हुने पूर्व निर्धारित स्थानमा लामाले गोप्यरुपमा काम गर्ने एजेन्टलाई भेटिसकेका थिए। त्यसैबखत उनले आफ्नो सेलफोनबाट बालिकालाई ‘टेक्स्ट मेसेज’ (सन्देश) गर्दै गरेको अवस्थामा पक्राउ परेका थिए।

यस घटनाको अनुसन्धान फेडरल ब्यूरो अफ इन्भेस्टिगेसन ज्याक्सनभिलमा गरिएको थियो।