अमेरिकाको साधारण सभामा भएको उत्तेजित कार्यप्रति पुरानो कमिटीद्धारा खेद प्रकट

गल्ती सच्चाएर अघि बढ्न सुझाव

अमेरिकाको साधारण सभामा भएको उत्तेजित कार्यप्रति पुरानो कमिटीद्धारा खेद प्रकट

न्युयोर्क। गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वयन परिषद् अमेरिकाको साधारण सभामा भएको उत्तेजित कार्यप्रति पहिलो पल्ट पुरानो कमिटीले वक्तव्य जारी गरेको छ।

पूर्वअध्यक्ष सुनिल साह तथा पूर्वमहासचिव पाण्डेद्धारा जारी संयमित विज्ञप्तीमा नयाँ कमिटीलाई मिलेर अगाडी बढ्न तथा एनआरएनएको गरिमालाई अभिवृद्धि गर्न सुझाव दिइएको छ।

विज्ञप्तीमा आफ्नो दुई वर्षे कार्यकाललाई उपलब्धिमुलक बनाउन अमेरिकामा रहेका सदस्यहरूबाट पाएको सल्लाह, सुझाव तथा सहयोगप्रति धन्यबादज्ञापन गरिएको छ।

संघको न्युयोर्कमा भएको दसौं वार्षिक साधारण सभामा भएको असोभनिय कार्यप्रति खेद प्रकट गरिएको विज्ञप्तीमा भनिएको छ, ‘उद्घाटन सत्रको कार्यक्रम नसकिदैं जसरी शपथ कार्यक्रमलाई मनोमानी ढंगले जोडियो, त्यो कदापि शोभनीय थिएन। संघका तत्कालिन उपाध्यक्षसमेत रहनुभएको कन्भेनरले धन्यवाद मन्तव्य दिने कार्यक्रमलाई हामीले सरल रुपमा बुझेका थियौं। तर उहाँबाट शपथ खुवाउनको लागि प्रमुख निर्वाचन आयुक्तलगायत निर्वाचन आयुक्तलाई मञ्चमै बोलाएर आफैं कार्यक्रमको संचालक जस्तो गरी प्रस्तुत हुनुहोला भन्ने अनुमान गर्न नसकिएकै हो। कसैले पनि जिम्मेवार व्यक्तिवाट त्यस्तो अपेक्षा गर्ने कुरा पनि भएन।’

यस्तै, विज्ञप्तीमा अगाडी भनिएको छ–‘अचानक पूर्वनिर्धारित कार्यतालिकालाई गोलमटोल गरी उद्घाटनसत्र समेत नसकिएको अवस्थामा साधारण सभाको मुख्य विषय बन्द सत्र, अझ विधान संसोधनको समेत कार्यतालिका पूर्ण प्रभावित हुने गरी जुन रुपबाट कार्य गर्न खोजियो, त्यो विधिसम्मत छैन भनेर अध्यक्षले आफ्नो धारणा राख्नुपर्ने आवश्यकता महशुस गरी मञ्चमा गई अध्यक्षको रुपमा धारणा दिइएको हो।’

विज्ञप्तीमा शपथको कार्यक्रम पूर्वनिर्धारित कार्यतालिका भित्र रहेको र त्यसैको लागि पनि कार्यक्रमको नाम साधारण सभा तथा शपथ ग्रहण कार्यक्रम राखिएको बताइएको छ। ‘तर किन, के कारणले उद्घाटन सत्र नसकिदैं शपथ खानुपर्ने बाध्यता देखियो वा कन्भेनरबाट त्यस्तो हतारमा एक अर्थमा माइकको दुरुपयोग गरी किन त्यस्तो गरी निर्धारित कार्यक्रमलाई तोड्मोड गरियो, त्यो हामीले बुझ्न सकेका छैनौं,’ विज्ञप्तीमा भनिएको छ।

पूर्वअध्यक्ष साह तथा महासचिव पाण्डेद्धारा प्रेसित विज्ञप्तीमा भनिएकको छ– ‘अध्यक्षले अर्को नव निर्वाचित अध्यक्षलाई आफ्नो पदभार सुम्पने अवसर समेत सृजना भएन। हुनत साधारण सभाको क्रममा मिचिएको कार्यतालिका सन्दर्भमा अनेक प्रसंग वा भनौं शंकाका विषय उठाइएको देखिन्छ। यसमा हामी के भन्न चाहन्छौं भने पानी पर्ला कि भनेर घाम लागेकै समयमा छाता ओढेर कोही पनि बस्दैनन् तर त्यस्तै खालको गतिविधि गर्न खोजियो कि भन्ने हामीलाई लागेको छ।’

साधारण सभाको दौरान देखिएको असोभनीय कार्यप्रति संघको तत्कालीन अध्यक्ष र महासचिवको हैसियतले दुबैले माफी मागेका छन्। ‘संघ कदापि खराब हुँदैन। समय समयमा खराब पात्रहरुले आफ्नो अभिष्ट पुरा गर्न चाहन्छन् तर तपाई हामी सबै राम्रो र हाम्रो एनआरएनए बनाउने अभियानमा एकताबद्ध भई लाग्नुपर्दछ। गल्ती कमजोरी सबैबाट हुन्छ, त्यसलाई स्वीकार गरी नयाँ यात्राको थालनी गर्न सक्ने मात्रै सबैको मनमा बस्न सक्दछ। त्यो कार्य गर्न सबैको बुद्दि पुगोस् यही अपेक्षा राख्दछौं,’ विज्ञप्तीमा भनिएको छ।