क्यानडामा उच्च गर्मी, ६० जनाले ज्यान गुमाए

क्यानडामा उच्च गर्मी, ६० जनाले ज्यान गुमाए तस्वीर : रोयटर्स

ओटावा। क्यानडामा गर्मीका कारण ६० भन्दा बढीको मृत्यु भइसकेको छ। क्यानडाको दक्षिणी प्यासिफिक नर्थवेष्ट क्षेत्रमा एक्कासी तापक्रम बढेपछि यो घटना भएको हो। मृत्यु हुनेमा बुद्धबुद्धा बढी भएको बीबीसी न्युज एजेन्सीले बताएको छ। ब्रिटिश कोलम्बियास्थित लिटनमा आइतबार तापक्रम ४६.६ डिग्री सेल्सियस पुगेको थियो भने सोमवार बढेर ४७.९ डिग्री सेल्सियस पुग्यो। साता दिनअघि क्यानडामा ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम पुगेको थिएन। भ्यानकुभरको बाहिरीबस्ती बर्नेबीमा रहेको रोयल क्यानडियन माउन्टेड प्रहरी माइक कलान्जले आफ्ना छिमेकी र परिवारका सदस्य एवम् ज्येष्ठ नागरिकको विशेष हेरविचार गर्न समुदायलाई आग्रह गरेका छन्।

बर्नेबीमा मात्र प्रहरीले ‘एक्कासि मृत्यु’ भएका २५ वटा घटनामा प्रतिक्रिया जनाएको छ र त्यसमा धेरैजसो निवृत्तिभरण पाइसकेका मानिस छन्। ग्लोब र मेल पत्रिकाका अनुसार ब्रिटिश कोलम्बियाका स्वास्थ्यकर्मीले आइतबार तापक्रम बढ्दा समस्या भएको भन्दै सयभन्दा बढी मानिसले फोन गरेर मद्दत मागेका छन्।