नेपालीलाई टर्कीमा १४ दिन अनिवार्य संस्थागत क्वारेन्टाइन

नेपालीलाई टर्कीमा १४ दिन अनिवार्य संस्थागत क्वारेन्टाइन

इस्तानबुल । कोभिड(१९ को संक्रमणलाई रोकथाम गर्ने उद्देश्यले टर्कीले नेपालसहित आठ देशका यात्रीको लागि १४ दिनको संस्थागत क्वारेन्टाइन अनिवार्य गरेको छ।

टर्की एयरलाइन्सले १ जुन, मगंलबार सार्वजनिक गरेको नयाँ ‘ट्राभल एड्भाइजरी’ अनुसार नेपाललगायत भारत, अफगानिस्तान, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, ब्राजिल र दक्षिण अफ्रिकाबाट यहाँ प्रवेश गर्ने यात्रीलाई गभर्नरले निर्धारण गरेको स्थानमा १४ दिनसम्म अलग्गै बस्नुपर्नेछ।

त्यस्तै पछिल्ला १४ दिनमा ती देशमा गइ आएका यात्रीको हकमा टर्की प्रवेश गर्नुभन्दा ७२ घण्टा पहिले सम्ममा परीक्षण गरिएको ‘नेगेटिभ’ पीसीआर रिपोर्ट अनिवार्य पेश गर्नुपर्नेछ।

टर्किस एयरलाइन्सको काठमाडों–इस्तानबुल उडान तालिका सार्वजानिक

त्यस्तैगरी, अन्य देशबाट प्रस्थान गर्ने यात्रीहरुले टर्की प्रवेश गर्नुभन्दा पहिले १४ दिन भित्रमा कोभिड विरुद्धको खोप लगाइसकेको खण्डमा पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने छैन। त्यस्तै, पछिल्लो छ महिनामा कोभिड संक्रमण भइ निको भइसकेका यात्रीको हकमा समेत यही नियम लागू हुनेछ।

खोप लगाएको रिपोर्ट प्रस्तुत गर्न नसकेमा वा छ महिनामा संक्रमण भइ निको भएको प्रमाण पेश गर्न नसकेमा टर्की प्रस्थान गर्नु भन्दा पहिले ७२ घण्टा भित्रमा गरिएको पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट वा ‘रेपिड एन्टिजन टेस्ट’ भएमा ४८ घण्टा भित्रमा गरिएको परीक्षणको नतिजा पेश गर्नुपर्नेछ।

टर्कीको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ७ हजार १ सय १२ संक्रमित थपिए सँगै कुल संक्रमितको संख्या ५२ लाख ५६ हजार ५ सय १६ पुगेको पुष्टि गरेको छ। त्यस्तै, पछिल्लो २४ घण्टामा १ सय २९ जना मृतक थपिएसँगै कुल मृतकको संख्या ४७ हजार ६ सय ५६ पुगेको बताएको छ।

यहाँ कोभिडलाई जित्नेको संख्या ५१ लाख २४ हजार ८१ पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।