ओमनी युवा सडक प्रदर्शनमा उत्रिएपछि ३२ हजारलाई रोजगारीको तयारी

ओमनी युवा सडक प्रदर्शनमा उत्रिएपछि ३२ हजारलाई रोजगारीको तयारी ओमनका राजा सुल्तान हाइतिम बिन तारिक

मस्कट। ओमनका राजा सुल्तान हाइतिम बिन तारिकले युवा बेरोजगारीको मुद्धा तत्काल सम्बोधन हुने बताएका छन्। उनले युवा जनशक्ति राज्यको ठूलो पुँजी भएको बताउँदै उनीहरूको रोजगारी राज्यको प्रमुख प्राथमिकतामा रहने आश्वासन दिएका छन्।

ओमनमा हालै युवा बेरोजगारलाई लिएर सडकमा प्रदर्शन भएको थियो। आइतबार भएको प्रदर्शनको रिपोर्ट ओमनी समाचार पत्रमा उल्लेख नभएपनि भाइरल भिडियोको आधारमा अन्तर्राष्ट्रिय मिडियाले न्युज बनाएका थिए।

यसको तीन दिनपछि समाजिक विकाश मन्त्रालयले बुधबार एउटा विज्ञप्ती निकाल्दै समाजिक सुरक्षा भत्तालाई लिएर सडकमा प्रदर्शन भएको बताए पनि सरकारको भनाइप्रति खासै कसैले विश्वास गरेका थिएनन्।

सुल्तान तारिकको भनाइले भने ओमनमा युवा बेरोजगारीको समस्या बढेको स्पष्ट हुन्छ। युवाहरू सडकमा उत्रिएपछि सरकार ३२ हजारलाई यसै वर्षको अन्त्यसम्म रोजगारी दिलाउने अभियानमा जुटिसकेको बताइएको छ। यसका लागि सरकारी तथा निजी क्षेत्रमा कामको खोजी भइरहेको छ। सरकारी कार्यालय र सेनामा १२ हजारलाई जागिर दिलाउने सम्बन्धमा पनि कुराकानी भइरहेको छ।

कोरोना महामारीका कारण विश्वको अर्थतन्त्र कमजोर भएको बेला ओमनलाई पनि यसले गाजेको छ।

यो पनि पढ्नुहोस्

बेरोजगारी बढेको भन्दै ओमनी जनता सडकमा ओर्लिए (भिडियोसहित)

ओमनमा निस्किएको सडक प्रदर्शनको विषयमा सरकारको स्पष्टिकरण