बेरोजगारी बढेको भन्दै ओमनी जनता सडकमा ओर्लिए (भिडियोसहित)

बेरोजगारी बढेको भन्दै ओमनी जनता सडकमा ओर्लिए (भिडियोसहित)

मस्कट।ओमनमा बेरोजगारी बढेको भन्दै जनताहरू सडकमा उत्रिएका छन्। कोरोना महामारीको बेला खाडीका देशहरूमा आन्दोलन भएको यो पहिलो घटना हो।

राजधानी मस्कटदेखि २ सय किलोमिटर उत्तरपश्चिम शहर सोहारमा सयौं ओमनी नागरिक बेरोजगारी बढेको भन्दै सडकमा उत्रिएका थिए। सोमबार सोसल मिडियामा सार्वजनिक भएको एउटा भिडियोमा सोहार शहरमा प्रदर्शनकारी उत्रिएपछि त्यसलाई तित्तरबित्तर पार्न प्रहरी पुगेको थियो।

यसअघि आइतबार पनि यस्तै प्रदर्शन भएको बताइएको छ। कोरोना महामारीका बीच थुप्रै ओमनी जागिरबाट बञ्चित भएका छन् भने केहीको जागिर गुमेको छ। सोहार शहर आल्मुनियम र स्टिल कारखानाका लागि चिनिने गर्छ।

ओमन सरकारले प्रदर्शनको समाचार नबनाउन स्थानीय मिडियालाई दबाब दिएको थियो। त्यसैले आइतबारदेखि भएको प्रदर्शनको समाचार बाहिर नआएपनि सोसल मिडियामार्फत यो खबर बाहिरिएको हो। रोयल ओमन प्रहरीले प्रदर्शनमा संलग्न कुनै पनि प्रदर्शनकारीलाई पक्राउ नगरेको बताइएको छ। यस विषयमा ओमनको सूचना मन्त्रालय तथा अमेरिकाको वासिङ्टनस्थित ओमनी दूतावासले कुनै प्रतिक्रिया जनाएको छैन।

@9610h7370♬ الصوت الأصلي – صدى المشاعر echo __spirit91

ओमनका सुल्तान हाइतम बिन तारिकले सन् २०२० को जनवरीमा सत्तारोहण गरेयता ओमनमा यो पहिलो प्रदर्शन हो।

चीनसँगको व्यापार घाटामा ओमनले करौडौ डलरको घाटा बेहोरिरहेको बेला हाल भएको प्रदर्शनले ओमनको अर्थव्यवस्थालाई पनि झल्काएको छ। हाल यहाँका युवा पुस्ता जागिरको खोजीमा छन् भने सरकारले उनीहरूलाई आकर्षित गर्न सकेको छैन।