फक्रिन नपाउँदै ओइलाएको फुल : कथा

फक्रिन नपाउँदै ओइलाएको फुल : कथा

ऊ रन्जित कुमार साथीहरु उसलाई रकु भनेर बोलाउने गर्थे । सायद यो पोस्टमोर्डनिजमको प्रभावले होला नाम यसरी नै परिवर्तन गरेका उसका साथीहरुले । घर झापा । बजारबाट धेरै भित्र भएपनि सायद सबैले चिने–सुनेको ठाउँ भएर होला झापा भनेर परिचय दिनु परेको । बाबुको मास्टरी पेशा,आमा रोजगार बिहिन अनि दाजुको सानो चिया पसल । एक दिदी नपढेकी हुनाले विवाह हुन सकेन । उसका खानदानका प्रायः सबै खाडी झरेका थिए ।

सन्तानलाई शिक्षित बनाउँनु पर्छ भन्ने बाबुको सोचले गर्दा रकुले जेनतेन गाँउकै प्लस–टु सम्म पढ्ने अवसर पाएको थियो । त्यही थोरै पढाईको चुरीफुरीले बाबुले छोरा रकुलाई खाडी मुलुक होइन युरोप-अमेरिका पठाउने रहर गरेका छन् ।
रकु गाँउकै सरकारी बिद्यालयमा पढेको हुनाले अंग्रेजी बिषयमा त्यति दख्खल राख्दैनथ्यो । परिणाम दुई पटक परिक्षा दिदा पनि अंग्रेजीमा पाँच भन्दा माथिको अंक ल्याउनै सकेन । तर, लगातारको प्रयासले अन्त्यमा राम्रो अंक ल्याई छोड्यो । त्यही अमेरिका यात्राको प्रयास सफल बनेपछि घरमा डलर ओेईरिने सपना बुन्न थालियो,उसको घर परिवारमा।

उसको साँहिला बुवा धेरै बर्ष अघि काठमाडौं छिरेर आफ्ना जेठो छोरालाई डाक्टर,अनि कान्छो छोरालाई इन्जिनियर पढाई सकेका थिए । हाल जेठो क्यानडामा डाक्टर छ । महिनाको ५ लाख जति कमाउँछ भने कान्छो बेलायतमा इन्जिनियर छ,महिनाको त्यस्तै ५÷६ लाख जति कमाउँछ । त्यसैले उनीहरुले अघिल्लो बर्ष मात्रै नयाँ बानेश्वर शंखमुल चोकमा १२–१२ आनामा बनेको दुईवटा संगमरमर जडित अत्याधुनिक सुबिधा सम्पन्न भिल्ला किनेका थिए । साँहिला बुवा आफै पनि लामो समय भन्सारको खरदार जागिर गरेर केहि बर्ष अघि मात्रै रिटार्यड भएका थिए।

मानविय स्वभाव न हो अर्काको प्रगतिमा इष्र्या गर्नै पर्ने । जब आफ्नो नातागोता इष्ट मित्रहरुले आकाश छुने प्रगती गर्छन् तब इष्र्याको आगो दन्किएर आउने रहेछ । यही कारणले रकुका बाबुले पनि उसलाई राम्रै मूलुकमा पठाउने अनि धेरै धन कमाएर दाईहरुको जस्तै सुन्दर घर किन्ने स्वप्निल सपनामा दिन रात हराउन थाले । यता बाबुको सपनाको महल दिन प्रतिदिन चुलिदै गईरहेको थियो भने उता रकु इन्जिनियरिङमा स्नातक गर्ने अठोटका साथ दिनरात नभनी मेहनत गरि पुल्चोक इन्जिनियरिङ क्याम्पसमा निःशूल्क छात्रवृत्ति कोटामा नाम निकाल्न सफल भए ।

साँहिला बाको कान्छो छोरासँग आफूलाई तुलना गर्दै घरमा एक्लै हुँदा ऐना हेरि पानी बिनाको पोखरीमा खुशीका छालहरुसँग पौडीरहन्थ्यो । अनि आफ्नो सुखद भविष्यको मिठो श्वास फेथ्र्यो ।

बिस्तारै ऋतु परिवर्तनसँगै कलेज शुरु भयो । कलेजको पहिलो दिन धेरै साथीहरुसँग परिचय हुने क्रममा आफ्नो एउटै सिटमा रोल नम्बर परेकी एक गाँउले परिवेशकी युवती बसिन । हेर्दा मिजासिली सरल स्वभावकी शरीरमा कुनै ब्रान्डको अत्तर नपस्किएकी अनि मुहारमा पनि कुनै अप्राकृतिक रङ लेपन नगरेकी गुलाबी बदन, सिल्की कपाल,मृगको जस्तो जिउडाल र नयन उनलाई हेर्दा कुनै स्वर्गकी अप्सरा जस्तै देखिन्थिन्।

उनी पनि निःशुल्क कोटामा नाम निकालेर इन्जिनियरिङ पढ्न आएकी रहेछिन् । ३२ सै लक्षणले परीपूर्ण देखिने उनी आफ्नो घर स्याङ्जा बताउँदैथिइन । आफू १० बर्षको हुँदा घरै छेउको भिरमा घाँस काट्न जाँदा लडेर बाबुको मृत्यु भएको रहेछ । जेठी दिदीको पनि सुत्केरी ब्यथाले गर्दा समयमा नै उपचार नपाएर मृत्यु भएको थियो । आमाले अरुहरुको मेलापात गरि दुःखका साथ यहाँसम्म पढाउनु भएको रहेछ । यस्तो कहाली लाग्दो ब्यथा सुनाईन नाम मुना बिष्ट बताउँदै ।
उनको कोमल ओठहरुबाट ति मुटु चस्काउने दर्दनाक पिडामिश्रित आवाजहरु जब रकुको सामुन्ने पर्दाफास भयो,कता कता आकाश खसे जस्तै भयो,धर्ती काँपे जस्तै भयो । संसार निष्पट्ट कालो लाग्न थाल्यो । शरीरमा कम्पन उत्पन्न भयो । आफुलाई सम्हाल्दै उनको आँखामा आँखा जुधाउदै एक टहक हेरिरहयो । केहि बेरको त्यो हेराई पछि दुवैका ति कोमल आँखाहरुमा आँशुका थोपाहरु टिल्पिलाउन थाले । क्षणमा दुवैले आफुलाई सम्हाल्दै बिवाहित जोडी झै अनायासै अंकमाल गर्न पुगे । झसङ्ग हुँदै मुना कहालिन थालिन् भने रकुले आफु सम्हालिदै उनलाई पनि सम्हाल्न थाले।

नियती न हो आ–आफ्नो भाग्य आफै सम्हाल्नु पर्ने रहेछ । चाहे जस्तोसुकै संकट आईपरोस । दुवैको छात्रवृत्तीको कोटामा निस्केको नाम पढाईमा दुवै अब्बल अनि दुवैको आर्थिक स्थिती कमजोर । कहिले काँही आर्थिक समस्या पर्दा एक अर्कामा सहयोग त केवल आँशु साट्नु सिवाय केहि थिएन । यो जोडीका लागि कहिले काही त भगवान पनि कति निष्ठुरी अनि स्वार्थी बन्दा रहेछन् नहुनेहरुको लागि यो दुनियाँमा।

रकु अनि मुना । यस्तै प्रकारले दिन प्रतिदिन एकआपसमा यत्ति धेरै नजिकिन थाले कि कहिले काँही फुर्सद हुँदाको समय पनि उनीहरुको काबुमा हुँदैनथ्यो । लाग्थ्यो उनीहरुलाई कहिले काँही त यति छोटो समयमा नै आफुहरु लक्ष्मीप्रसादको मुना– मदन अनि शेक्सपियरको रोमियो–जुलियट झै बन्न पुगेछौ कि भन्ने आभास हुन थाल्थ्यो । एकातिर दुवैको आर्थिक स्थिती अति नै कमजोर अर्कातिर दुबैको पढ्ने बिषय इन्जिनियरिङ । अति नै गाह्रो थियो । तर, दुवैको छात्रवृत्ति कोटामा निस्किएको नाम,दुवैको समाजमा पहिचान र नाम सहित बाँच्ने दृढ चाहना । शायद अब यि दुईको झाँगिलो प्रेम भविष्यको निर्णायक मार्गदर्शन बन्नु पर्ने थियो । तर दुवैको बैंशालु यौवन कता कता असहजताको हुण्डरी बनेर छल्किएर आउला या नआउला त्यो त समयका बक्ररेखाहरुले नै समय आए पछि बताउनेछन्।

बस् ! यी दुबै जोडी हेर्दा त्यस्तो लाग्दैनथ्यो कि दुबै आफ्नो लक्ष्यबाट बिचलित होउन । यी जोडीहरु यस्तो देखिन्थे कि आफ्नो लक्ष्य भेट्न जस्तो सुकै त्याग र समर्पणको संकल्प सहित अघि बढेका हिजोका बफादार जनसेना हुन् । जसले मृत्युलाई जित्ने अठोट सहित परिवार र जीवन त्यागेर युद्ध मैदानमा रमाईरहेका थिए । यिनीहरु बिचमा पनि परालमा सल्किएको आगो जस्तै ईच्छाका मुस्लोहरु सल्किरहेका थिए दिन प्रतिदिन।

यस्तै तवरले रकु अनि मुनाले मिठो सपनाको माखेसाँङ्लो बुन्दै अघि बढदै गए । अध्ययनकै क्रममा धेरै संघर्षहरु गरे दुवैले । कता–कता अनायासै मनभित्र मायाका अंकुराहरु यि दुवै अघोषित प्रेमीप्रेमिकामा अँकुराँउन थालेछ्न् पत्तै नदिई ।
जीवन न हो कहाँ भने जस्तो हुन्थ्यो । त्यसैले त यहाँ मायाका धेरै गीतहरु बज्दा रहेछन् । काब्य रचिँदा रहेछन् । मायामा धेरै बेग्लिँदा रहेछन् । थोरैमात्र प्रेमिल जोडीहरु भेटिँदा रहेछन् । अनि पो त्यहाँ मायामा संगीतको मधुरिमा गुन्जने रहेछ,कानै चिर्बिराउने गरी । अघोषित यि जोडीको आघात प्रेम थियो । सायद यहि प्रेममा नै होला चुर्लुम्म डुबेका यिनीहरु।

अब उनीहरु एक अर्का बिना बाँच्न त के एक पल पनि एकअर्काका नजरबाट टाढिन चाहन्नथे । उता रकुका बाबुले देखेको सपना छोरोले अध्ययन पुरा गरिसकेपछि युरोप वा अमेरिकातिरै भासिएर डलरमै पैसा कमाउनु पर्ने अनि त्यही डलरलाई नेपाली रुपैयाँमा साटेर भतिजाहरुको भन्दा ठुलो र आधुनिक सिंगमरमर जडित भिल्ला बनाउँने मिठो सपना बुनिरहेका हुन्थे हरेक दिन अनि हरेक रात । तर, उता भने प्रेम सागरमा चुर्लुम्म डुबेका उनका छोरा अनि अघोषित बुहारीले बाबुको सपना पुरा गर्लान् या नगर्लान् भन्ने चिन्ता थियो बेग्लै।

यसरी मुना अनि रकुको प्रेम दिन हप्ता अनि वर्ष गरि झाँगिदै जान थाल्यो । उता मुनाकी आमाले बडो त्यागतपस्या गरि असम्भब बन्न नदिएकी मुनाको स्कूले शिक्षाले पनि बैंशमै बिधवा बन्न पुगेकी आफ्नी जननीलाई न्याय दिलाउने कुरामा हरपल केही चौंथाई सपना बुनिरहन्थिन् मुनाले पनि । उनकी आमासित थियो त बस एउटा सानो सपना,एक धरो लगाउने । पेट भरि अघाउने । फजुल केहि थिएन । त्यस्तो न त उनलाई छोरीले मनग्य पैसा कमाएर सिंगमरमर जडित घरभित्रको दुःखी र बन्दी जिन्दगी जिउनु नै थिएन । मात्रै सानो सपना थियो,यहि देख्ने गर्थिन।

उतापट्टि अघोषित ज्वाँइको खानदान बडो हुनेखाने बनेका थिए । पछिल्ला केहि वर्षहरुमा बडो हप्कीदप्की थियो,समाजमा उनीहरुको । रकुका ठुलाबाहरु केहि वर्ष अघि शहर पसे र भिल्लाहरु किने । मोटरमा शयर गर्न थाले । छोराहरुको निमन्त्रणामा केहि महिना युरोप घुमे । युरोपका सुन्दर दृष्यहरु फेसबुकमा अपलोड गरिरहन्थे । यहि दृष्यले रकुको बाबूलाई घोचिरहनथ्यो । हरक्षण छोराको पौरखको ब्यग्र प्रतिक्षामा थिए ।

समय न हो बित्नलाई कत्ति बेर पो लाग्दो रैछ र ! उता छोरा रकुको पनि इन्जिनियरिङको पढाई सक्कियो । अब बाबूको प्रतिक्षाको घडा भरिन धेरै समय बाँकी थिएन । उता मुनाको पनि अध्ययन पूरा भयो । बर्षौ प्रेममा रमाएका यी जोडी केहि समय आ–आफ्ना गाँउ गए । आफ्ना आमाबाबु सँग रमाए । एकातिर रकुका बाबुको दवावपछि रकु अमेरिकातिर भास्सिन बाध्य भयो । मुना गाँउकै एउटा प्रोजेक्टमा काम गर्न थालिन । केहि बर्षपछि अमेरिकाबाट रकु फर्केपछि बिबाह गरि सँगै अमेरिका नै जाने दुवैको प्रतिज्ञा र वाचा थियो ।

समय कहाँ आफ्नो बशमा हुँदो रैछ र ? बाबूको सपना पूरा गर्न मुनालाई आँखाबाट टाढा बनाउँन बाध्य भएको रकुमाथि दैवले पनि यस्तै खेल खेल्यो । केहि दिनदेखि रकु संसारलाई रुवाईरहेको कोरोना भाईरसको शिकार बनिरहेको छ । आज बाबुको सपना सजाउँन हिडेको छोरो अमेरिकाको टेक्सासको एउटा कुनामा आफ्नो पहिलो प्रेम मुनालाई सम्झेर मृत्युसँग जुधिरहेको छ भने यता यहि खबरले मुनाको मानसिक स्थिति गुमेको छ।

मुनाकी आमाको क्यान्सरले हालसालै निधन भयो । रकुको बाबु पनि सुगरले अस्पतालको बेडबाट कर्मलाई धिक्कारिरहे । आज उनलाई पछुतो लागिरहन्छ । आफ्नो लालचको ढिपीले आफ्नो सुन्दर संसार रित्तिदै छ भनेर।

हाल : टोकियो,जापान