कथा बैंककः मेरो एउटा साथी छ

कथा बैंककः मेरो एउटा साथी छ

बैंकक, थाइल्यान्ड। वर्षौअघिको कुरा हो, जब म म्यान्मार–भारत सीमा क्षेत्रको एउटा कम्पनीमा काम गर्थे। त्यहाँ चिनजानका अनेकौं इष्टमित्र र थुप्रै साथी–भाइ थिए। ती मध्ये एकजना असाध्यै निकट र प्रिय साथीसँग भेट्ने मौका मिल्यो।

साथीसँग बिताएका ती पल र सम्झनाका यादहरू आज पनि झन् ताजा भइरहेको महसुस गर्छु– म। त्यो बेला हामीहरूसँग न टिकटक, न फेसबुक, न त मोबाइल नै थियो। थियो त– केवल एउटा मीठो मित्रता।

गाउँको जनजीवन सारै रमाइलो। जब हामी कम्पनीको ड्युटी सकेर बेलुकीपख सँगै घर फर्किन्थ्यौं– खाना खाइसकेपछि अर्को साथीको घरमा भेला हुने गर्थ्यौ। एकआपसमा कथा–कहानी सुन्थ्यौं। जीवन भोगाइका अनुभवहरू बाँड्र्दै हाँसो र खुसीमा मस्त रमाउथ्यौं। हामीबीच कुनै प्रकारको स्वार्थ थिएन, न त कुनै रिस–डाहा नै। आहा! यो समय क्या रमाइलो थियो। साच्चिकै रमाइलो थियो।

तर, समय फेरियो। सपनाहरू फेरिए। हामीहरू नै फेरियौं। रमाइलो पल धेरैदिन टिक्न सकेन। बाध्यताले भनौं वा समयको हुरी।

म जन्मभूमि म्यान्मारको कचिन राज्यस्थित मिचिना तर्फ फर्कनुपर्यो। मिचिनाको काम–व्यवसाय पनि सोचेजस्तो नहुँदा माता–पितालाई कुनै सुइँको नदिइ सुटुक्क थाइल्यान्डतिर लागेँ।

दिन राम्रै रहेछन्। थाइल्यान्ड बसाइँ सुन्दर छ। मनको इच्छा पूरा भएकै छन्। घर–परिवार खुसीका साथ रमाइहरेका छन्।

स्मरण गर्छु– म्यान्मार–थाइल्यान्ड यात्राको क्रममा खासै दुःख–कष्ट भोग्नु परेन। प्रिय भाइ–बहिनीको सहयोगले कुशलतापूर्वक थाइल्यान्ड आइपुगेँ। यात्रा हो, तीता–मीठा पल त भइहाल्छन् नी!

रहरलाग्दो सहर, जताततै मन्दिर, थाई खाना, थाई संस्कृति, समुन्द्री तट देख्दा थाइल्यान्ड पनि म्यान्मार जस्तै–जस्तै लाग्यो। रमझम साँझ। स्वतन्त्र संसार। गोजीमा पैसा हुनुपर्छ जे पनि पाइन्छ– बैंककमा।

चोक–गल्लीमा भेटिने छोटा–छोटा कपडाले बेरिएका थाइ युवती। खाइलाग्दो शरीर। वाह! उग्र राजकुमारीहरू, भो तिनीहरूको कुरै नगरौँ। मानौं– बैकंकमा हराउन चारैतिर घुम्नु पर्दैन, अनेक रंगका युवतीहरू हेरे मात्रै पुग्छ।

त्यो बेला चिटिक्क परेको जिउडाल देखेर यस्तो लाग्थ्यो– हैट! उहिल्यै आइपुग्नु पर्ने रहेछ, ढिला गरेछु। जेहोस्– भगवानको कलाकारिता न होला! हृदयदेखि नै हजुरलाई मनमन नमन। जय भाग्य विधाता।

थाइल्यान्डको बसाइँ झन्–झन् रंगीन र रोचक बन्दै थियो। एकदिनको कुरा हो– म बिहान सबेरै उठेँ। एउटा मनोरञ्जन कार्यक्रममा जान तयार परेँ। नुहाई–धुवाई गरी नास्ता खाएँ अनि कार्यक्रमतिर लागेँ।

हतार–हतार कार्यक्रमस्थलमा पुगेँ। नाच–गान सुरू हुनै लागेको थियो। तयार पारिएको सीटमा थचक्क बसेँ। अनि कार्यक्रम पनि सुरू भयो।

एउटा व्यक्ति हातमा माइक समातेर मञ्चतिर आउँदै गरेको देखेँ। उसलाई देखेर छक्क परेँ। हँ।।।! ऊ त मेरो प्रिय साथी होइन र? त्यो म्यान्मार–भारत सीमा क्षेत्रको कम्पनीमा एकताका सँगसँगै थियौं। हो– त्यै साथी हो! उसको त्यो बोल्ने शैली। त्यो जिउडाल। त्यो स्टाइल। हो! मेरै प्रिय साथी हो।

हामीहरू छुट्टिएको वर्षौ भएछ– झण्डै १२, १३ वर्ष। ऊ निकै फेरिए छ। हुनत म पनि फेरिएँ। साथीले कार्यक्रमको उद्‌घोषकको कार्यभार लिएको रहेछ। ऊ मञ्चमा उभिएर एकोहोरो बोलिरह्यो। तर के–के भन्यो मलाई थाहा छैन। साथीलाई देखेर मनमनै रमेँ। विगत सम्झेँ– सँगसँगै काम गरेको स्मरण गरेँ। सुख–दुःख याद गरेँ। म उहिँ ठाउँमा पुगेँ, जहाँ हामीहरूको अन्तिम विछोड भएको थियो।

मेरो साथी एकदमै उत्साहित थियो। जोस र उमङ्गको तालमा माइक समातेर हाउभाउमा मस्किरह्यो। मैले हेरिरहेँ। हात हल्लाउँदै बोलिरह्यो, ऊ। कार्यक्रम विसर्जनपछि सबैजना आ–आफ्नो बाटो लागे। कतिपय खानाका लागि भान्साघरतिर गए। म पनि उतै लागेँ।

हिँड्दै थेँ– अघिअघि अर्को मान्छे हिँडिरहेको पनि देखेँ। अरे।।। ऊ मेरै साथी थियो। पछ्याउँदै हिँडिरहेँ।

सामुन्ने पुगेर सम्बोधन गरेँ– नमस्कार साथी।

साथीले जवाफ दियो– नमस्कार।

मैले सोधेँ– ?मलाई चिन्नुभयो? के त एकपालि सँगसँगै बसेको?

ऊ बोल्न खोजेन। अर्थात् मेरो प्रिय साथी मलाई देखेर तर्कियो। छेउछाउ थुप्रै नातेदार भाइहरू थिए। म्यान्मारबाट थाइ सहरमा काम खोज्दै आएका उनीहरू मजस्तै निर्दोष देखिन्थे। तर उनीहरूकै अघि मेरो साथीले मलाई नै चिन्दिनँ भनिदियो।

तर, उसका निर्दोष आँखा बोल्थें– भनिरहेका थिए, त्यो तेरै साथी हो। जहाँ थुप्रै समय सँगै बसेर एउटा कम्पनीमा काम गरेका थियौं।

आँखाले चिने पनि उसले चिन्न सकेन। भन्यो– तपाईसँग मेरो भेट भाएकै छैन।

त्यसपछि मैले भने– ए।।। माफि चाहेँ है। गल्ती भएछ। अनि ऊ आफ्नो बाटो लाग्यो। म पनि हिँडे अन्तैतिर।

होइन१ मै पो झुक्किए कि क्या हो। सोचिरहेँ। उसलाई हेरिरहेँ। ऊ सबैसँग हात मिलाउँदै, अँगालो मार्दै, नमस्कार गर्दै, हाँसी–खुसी मस्तसँग रमाइरह्यो। यता मेरो मन भारी भयो। मेरो एउटा साथी वर्षौपछि भेटियो तर मलाई नै चिनेन। मानौ– ऊ बैंककमा हाइहाइ भइसकेको रहेछ।

लगतै मैले एक–दुई जना साथीलाई सोध्दा झन् ढुक्क भएँ, उ त्यहिँ ठाउँबाट आएको रहेछ। उसको नाम ।।। नै रहेछ। जहाँ उसलाई त्यहि नाउ नै चिन्छु। मैले मन–मनै भनेः ठीकै छ, साथी तिमी तिम्रै दुनियाँलाई रमाइ राख्। अबदेखि तिम्रो छेउछाउ मेरो साथी भनेर म कहिल्यै पनि आउदिनँ।

पुरानो साथीलाई मैले साथी भनेँ। तर गल्ती गरेकै छुइनँ। भो! अब मेरो साथी भनेर कसैलाई चिनाउदिनँ। र, सुनाउँदिन पनि। तर, तिमी मेरो प्रिय साथी नै हौं। म तिमीलाई कहिल्यै भुल्न सक्दिनँ। तिमी अभावको साथी हौं। तिमी संकटको साथी हौं। तिमी त्यो विरानो बस्तीको प्रिय साथी हौं।

साथीको अर्थ के हो, त्यो मैले राम्रोसँग बुझेको छु। अझै पनि ऊसँग कहिलेकहीँ भेट हुन्छ। मलाई देख्ने बित्तिकै मेरो साथी मलाई नदेखे झैँ गरी भाग्छ। ऊ ठूलो मान्छे भइसक्यो। मसँग बोल्न रूचि देखाउँदेन। देख्यो कि दौडिन थाल्छ।

ऊ थाइल्यान्डको थप प्रगतिले मातिएको छ। नयाँ–नयाँ साथी छन्। विगत बिर्सिसकेको छ। तर ऊ जतिकै क्रूर भएता पनि उसको मन शान्त छ। कोमल छ। दृश्य निर्दोष छ। किनकि ऊ मेरो साथी हो। उसको मनको कुना–कुना छामेको छु। मलाई राम्रोसित पत्तो छ।

तर, प्रिय साथी! तँ मलाई अबुझ पनि नसोच। मैले तेरो बाटो कहिल्यै छेक्दिनँ। बरू बाटोका काँडाहरू पन्छाइदिनेछु। तेरो व्यवहार र बोली निकै माथि पुगेको छ। तँ नबोले पनि म खुशी छु। मेरो धेरै–धेरै शुभकामना छ।

बैंककमा एउटा साथी छ। ऊ मलाई चिन्दैन। तर,मेरो एउटा साथी छ, ऊ असाध्यै प्रिय छ।