ती नेपाली जसले अमेरिकी स्वास्थ्य अनुसन्धानमा योगदान दिए
काठमाडौं । काठमाडौंको उत्तरी पुछार बुढानिलकण्ठमै छ अहिले पनि बुढानिलकण्ठ स्कुल । विराटनगरबाट छानिएर आएको एउटा फुच्चे केटो पनि यही स्कुलमा पढ्न थाल्यो । पढाईमा अब्बल यो केटो डाक्टर बन्न चाहन्थ्यो । एसएलसी उत्तिर्ण भएपछि त्यसबेला विदेश गएर डाक्टरी पढ्ने आर्थिक अवस्था थिएन,उनको । उनले महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थानमा पढ्नका लागि प्रवेश परीक्षा दिए । सिट जम्मा थियो,२० जनाका लागि । १ हजार जनाले प्रवेश परीक्षा दिएका थिए । तर, बुढानिलकण्ठका यी विद्यार्थीले २० जनाभित्र आफ्नो नाममात्र निकालेनन,उत्कृष्ट नम्बर पनि प्राप्त गरे।
अब भन्नैपर्छ,विराटनगरका ती युवा थिए,संजीव सापकोटा । यहाँ उनको नाम लिनुको अर्थ छ । जनस्वाथ्य क्षेत्रमा उनले जे जति काम गरे,त्यसमा हरेक नेपालीले गर्व गर्न सक्छन् । जनस्वास्थ्य विद डा.संजीवले नेपाल र नेपालीका लागि मात्र होइन,विश्व मानचित्रमा फैलिएका हरेक नागरिकका लागि जनस्वास्थ्यको क्षेत्रमा नीतिगत रुपमा काम गरिरहेका छन्।
अमेरिकाको सरकारी निकायमा जनस्वास्थयविदको हैसियतमा कार्यरत डा.संजीव एनआरएनए अन्र्तगतको स्वास्थ्य समितिको नेतृत्व पनि गरिरहेका छन्।
गत वर्षदेखि जब संसारका अधिकाशं मुलुकलाई कोभिड–१९को महामारीले छोप्न थाल्यो,त्यसपछि डा. संजीवको सक्रियता नबढ्ने कुरै भएन।
एकपटक अलि पछि फर्कौँ । जनस्वास्थ्य क्षेत्रमा डा. संजीवलाई यसरी रस बस्यो कि चिकित्साशास्त्रको विद्यार्थी हुँदाखेरी नै उनी इन्टरनेशनल फेडरेशन अफ मेडिकल स्टुण्डेण्ड एसोसियसनको सभापतिमा निर्वाचित हुन पुगे। यो संस्थामा एसियन मुलुकबाट सभापतिमा निर्वाचित हुने पहिलो व्यक्ति थिए। उनको सपनाले यही बिन्दुबाट हाङ्गा हाल्न थाल्यो।
एसोसियसनको सभापतिको हैसियतले विभिन्न कार्यशाला,सभा,गोष्ठी,सेमिनार र फिल्ड भिजिट गर्दै विश्वका विभिन्न ३५ मुलुक पुगे। फ्रान्स मुख्यालय रहेको यो संस्थामा विश्वका एक सयभन्दा बढी मुलुकका चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीहरु आवद्ध थिए।
त्यसो त उनले नेपाली नारी पनि छामेका थिए । देशका कुनाकन्दरा पुगेर रोगीहरु निको पार्ने र उनीहरुको ओखतीमुलो गरे। यसपछि जनस्वास्थ्य अधिकृतका रुपमा झण्डै एक वर्ष काम गरेको अनुभव पनि उनीसँग थियो।
सभापति निर्वाचित भएपछि उनको क्यारिएरको क्षितिज झन फराकिलो हुँदैै गयो । यही बेला चिकित्साशास्त्रका विद्यार्थीले आफ्नो देश र सारा विश्वकै स्वास्थ्य नीतिमा कसरी प्रभाव पार्न सक्छ र स्थानीय तह तथा देशका दुरदराज ठाउँमा रोग लागेपछि भन्दा पनि रोग नै लाग्न नदिने उपायका बारेमा सिकाउने तौरतरिका उनले पनि सिके।
संस्थाको सभापति हुँदै गर्दा विश्व स्वास्थ्य संगठनले उनलाई युवा जनस्वास्थ्य परामर्शदाताको रुपमा काम गर्ने अवसर दियो । उनले २ वर्ष जेनेभामा बसेर जनस्वास्थ्यको क्षेत्रमा काम गरे । जेनेभामा रहँदा संयुक्त राष्ट्रसंँघ अन्तर्गतका विभिन्न निकायहरु जस्तो कि विश्व स्वास्थ्य संगठन,युनिसेफलगायत संस्थाहरुसँग मिलेर काम गर्ने मौका पाए । ‘यसरी काम गर्दै जाँदा मैले प्राविधिक रुपमा संस्था कसरी हाँक्ने भन्ने ज्ञान बटुले,’ डा. संजीवले प्रवासखबरसँग आफ्नो सफलताको कथा सुनाए।
उनले आफ्नो क्यारियरको पहिलो र उच्च सफलता पनि यहीबाट पाएका थिए । त्यसपछि कहिल्यै पछाडी फर्केर हेर्नुपरेन । सफलताले डा.संजीवलाई सधैं पछ्याई रह्यो । यो झण्डै दुई दशकअघिको कुरा थियो।
जेनेभामा सफलताको पहिलो ठूलो खुड्किलो चढेपछि डा.संजीव नेपाल फर्किए । जनस्वास्थ्य विषयमा लगाव बढ्दै गएपछि उच्चअध्ययनका लागि स्कलरसिप खोज्न थाले । नभन्दै उनले फिनल्याण्डमा यही विषयमा मास्टर्स पढ्नका लागि एक वर्षे स्कलरसिप पाए।
फिनल्याण्डले दिएको अवसर डा.संजीवको क्यारिएरका लागि माइलस्टोन नै बन्यो । उनले त्यही पढ्दै गर्दा अमेरिकी सरकारले नेतृत्व गरेको जनस्वास्थ्य क्षेत्रमा काम गर्नकालागि आवेदन दिए । हेर्नुस त,डा.संजीवको ल्याकत ! नभन्दै डा.संजीव छनौट पनि भए।
अब डा.संजीवको यात्रा अमेरिकातिर मोडियो । आफूले जहाँ काम गरे त्यहाँ उनले आफ्नो छाप छाडे। अब अमेरिकामा उनले आफ्नो क्षमता कसरी प्रस्फुटित गर्लान ? हामीलाई जस्तै शुरुमा उनलाई पनि कौतुहल थियो।
सन् २००३ देखि अमेरिकामा आफ्नो कौशल देखाउन आइपुगेका डा.संजीवको अर्को अध्याय शुरु हुन्छ । अमेरिकी सरकारको जनस्वास्थ्य क्षेत्रमा आवद्घ भइसकेपछि उनले अहिलेसम्म अमेरिकी सरकारले नगरेको एउटा काममा हात हाले।
अमेरिकाको मेक्सिको लगायत दक्षिणी सिमाबाट गैरकानूनी रुपमा प्रवेश गर्ने क्रममा अहिले पनि धेरै मान्छे मर्छन् । कति रोगले मर्छन् । कति भोकले मर्छन् । कति अमेरिकी सिमा रक्षकको गोली खाएर मर्छन् । तर,यसरी कति जना मर्छन ? स्वयम अमेरिकी सरकार र उसका लाइन एजेन्सीलाई पनि थाहा हुँदैनथियो । रेकर्ड राख्ने चलन नै थिएन्।
डा.संजीवले गैरकानूनी रुपमा अमेरिका छिर्न खोज्दा ज्यान गुमाउनेहरुको लगत राख्नुपर्छ भन्ने आवाज उठाए । विभिन्न पत्रपत्रिकाहरुमा लेख लेख्न थाले । यसका लागि आफूले नै लगत राख्ने भनेर लविङ पनि गर्न थाले । उनले अध्ययन गर्ने अनुमति पाए । अमेरिकी सिनेटमा कुनै सांसदले यसरी मर्नेहरुको लगत सरकारसँग माग गर्दा सरकारले डा.संजीवकै अध्ययन रिपोर्टलाई आधार मान्यो।
डा.संजीवका लागि यो ठूलो सफलता थियो । तर,उनको सफलताको कथा यही टुङ्गिदैन।
अमेरिकीहरु खाना बढी खाने तर ब्यायाम कम गर्ने भनेर संसारभर बदनाम छन् । डा.संजीवले यसमा पनि अध्ययन गरेर अमेरिकीहरुलाई व्यायामका लागि प्रेरित गर्ने नीति अघि सारे । अमेरिकाको ५० वटै राज्यमा कति ब्यक्तिको व्यायाम पुगेको छ र कतिको पुगेको छैन ? यसको अध्ययन गरेर अमेरिकी सरकारलाई बुझाए ।
यतिमात्र होइन मिर्गी रोगको शिकार भएका अमेरिकीहरुको पनि उनले विस्तृत अध्ययन गर्न भ्याए।
मैले काम गर्दै गर्दा स्याबासी त पाएको छु नै मलाई आवश्यक परेको बेला सहयोग अनि उत्साह पनि प्राप्त गरेकै छु । नियमको दायराभित्र आफ्नो क्षेत्रभित्र बसेर काम गर्ने हो भने काम पनि सफल हुन्छ र सबैको स्याबासी पनि पाइन्छ।
डा.संजीव स्वास्थ्य क्षेत्रमा मात्र होइन,नेपाल र नेपालीसँग जोडिएको सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । नेप्लिज एसोसियसन इन साउथिस अमेरिका(नासा) को दुई वर्ष उपाध्यक्ष र दुई वर्ष अध्यक्ष भएर उनले काम गरे । यो संस्थाले अमेरिकामा भएका नेपालीले भोग्नुपरेका समस्याको पहिचानमात्र गरेन,समाधानको उपायहरु खोज्ने प्रयास पनि गरयो । नेपाली धर्म,संस्कृति र चाडपर्वबाट नेपाली नयाँ पुस्तालाई जोड्ने काम पनि गरे । अमेरिकासँग नेपालीलाई जोड्ने प्रयत्न पनि यो संस्थाले गर्यो। यसको जस केही हदसम्म डा.संजीवलाई नै जान्छ।
नेपाल र नेपालीसँग निरन्तर जोडिन र आफ्नो क्षमताको उपयोग देशको हितमा गर्नका लागि सन् २००७ देखि डा.संजीव एनआरएनएसँग जोडिए । २०१६ देखि आइसीसीको स्वास्थ्य समितको संयोजकको हैसियतमा छन् उनी अहिले।
संसारभर छरिएर रहेका ३ सय जना डाक्टरहरु अहिले डा.संजीवसँग नियमित रुपमा सम्पर्कमा छन् । उनको टिममा दक्ष डाक्टर र नर्सहरु छन्। नेपालीलाई कोभिड–१९ को महामारीदेखि रोजगार गुमाएका कारण आत्महत्याको मनस्थितीमा पुगेकाहरुलाई जोगाउन उनको टीमले भरपुर प्रयास गरिरहेको छ। स्थानीय डाक्टरलाई अमेरिकाबाटै भर्चुअल रुपमा निर्देशन र मार्गनिर्देशन दिएर काम गरिरहेका छन्।
आधुनिक प्रविधि र सूचना बाँडेर नेपालको स्वास्थ्य क्षेत्रमा पनि केही गर्न सकिन्छ् भन्ने उनलाई जानकारी छ । नेपाल सरकारले यस्तो अवसर उपलब्ध गराइदिए उनी आफूले अमेरिका बसेर जनस्वास्थ्यको ज्ञान र सीप नेपालको तल्लो तहसम्म पनि पुगोस् भन्ने उनको चाहना छ । ‘मैले काम गर्दै गर्दा स्याबासी त पाएको छु नै मलाई आवश्यक परेको बेला सहयोग अनि उत्साह पनि प्राप्त गरेकै छु,’ डा.संजीवले प्रवासखबरलाई बताए,‘नियमको दायराभित्र आफ्नो क्षेत्रभित्र बसेर काम गर्ने हो भने काम पनि सफल हुन्छ र सबैको स्याबासी पनि पाइन्छ ।’
२०१७ मा डा.संजीवले एउटा पुस्तक लेखे औपन्यासिक शैलीमा । पुस्तकको नाम थियो,२०१८ । यसमा उनले चाडैँ नै विश्वभरी महामारी आउनसक्ने भविष्यवाणी गरेका थिए । खासमा डा.संजीव डाक्टर नै हुन,ज्योतिष होइनन्। उनले गरेको भविष्यवाणी ठ्याक्कै मिल्यो पनि । पुस्तक लेखेको दुई वर्षपछि संसारका धेरै राष्ट्रहरु कोभिड–१९ को महामारीको जालमा पर्यो।
अब डा. संजीवको सपना के हो ? उनले खुलस्त त बताएनन्। तर, यत्ति बताए,‘विश्व स्वास्थ्य संगठनको नेतृत्वमा रहेर नेपाल लगायत विश्वका लागि नै केही गरौं भन्ने चाहना छ ।’