देशभित्रै रमाइरहेका दुई दाजुभाइ

देशभित्रै रमाइरहेका दुई दाजुभाइ

धनगढी। बिहान-बिहानै ब्याट बोकेर देव तालिम केन्द्रतर्फ गइरहेका देखिन्छन् एक हुल मान्छेहरु। झिसमिसे उज्यालोमै ब्याटमिन्टन खेल्ने तयारी गरिसक्छन् युवा उद्यमी तथा देव तालिम केन्द्रका संचालक नवीन पन्त। जुन उनको नित्यकर्म नै बन्न पुगेको छ।

त्यसपछिको समय हो, आफ्नै व्यवसायमा तल्लीन रहने। यस्तै दिनभरि कृषि कर्ममा व्यस्त रहन्छन्, दाइ रविन पन्त। रविनको व्यस्तता भनेकै चालु रहेका व्यवसायहरूको व्यवस्थापन र निरीक्षणका साथै कृषि क्षेत्रमा नयाँ-नयाँ प्रविधि अपनाउनेदेखि भावी योजना बनाउने हुन्छ। उनी बेलामौकामा बोलाइएको ठाउँमा कृषकहरुलाई तालिम दिनसमेत पुगिरहेकै हुन्छन्।

हजुरबुबा डा. लक्ष्मीकान्त पन्त एक चिकित्सकमात्र थिएनन्, सुदूरपश्चिमभरिमै नाम चलेका शिक्षाप्रेमी एवम् समाजसेवी पनि थिए। जसले २०३१ सालमै पहाडमा बाहुनले हलो जोत्ने अभियान चाले।

त्यहाँका ख्यातिप्राप्त पण्डितसहित सबैले पालैपालो हलो जोतेर एउटा आन्दोलनको सुरुवात गरे। जुन अभियान एकातिर त्यो समयको निकै ठूलो चुनौति थियो भने अर्कोतिर क्रान्तिकारी कदम पनि थियो। समाजमा त्यस्ता अभियानका नामसम्म उच्चारण गर्न नसकेको त्यो समय र परिवेशमा बाहुनले हलो जोतेमा जात खस्किने हुन्थ्यो।

समाजमा उसलाई हेर्ने दृष्टिकोणमै फरक पाइन्थ्यो। त्यस्तो परिवेशलाई चिरेर गरिब बाहुनहरुले हली राख्न नसक्ने र कृषकले आफ्नो काम आफै गर्नुपर्ने मान्यता मुताविक उनी त्यस्ता अभियानमा सशक्त ढंगले लागिपरे। दलितका सन्ततिलाई विद्यालय जान प्रेरित गर्नेदेखि छात्राहरुलाई विद्यालय पठाउन थुप्रै जनचेतनामुलक कार्यक्रमहरुका अभियन्ता थिए उनी। योजनाको च्यादर बिछाएर घर छोडी ठुलो त्याग तपस्याका कारण २०१७ सालमै स्थापना हुन गएको हो, डोटी दानकोटस्थित श्री सीताराम माध्यमिक विद्यालयकाे।

तिनै डा. पन्तका जेष्ठ सुपुत्र देवकान्त पन्तले संस्कृतिविद् तथा साहित्यकारका साथै एक कुशल प्राध्यापकका रुपमासमेत चर्चा बटुले। ती तिनै देवकान्त थिए, जसले बुबाको अभियानलाई राम्ररी मनन गरेर तीन दशक अघि नै तरकारी खेती र गाई पालन व्यवसाय अपनाएका थिए।

दिनभर कलेजमा प्राध्यापन गर्ने उनी साँझ बिहानको समयमा खेती किसानी गर्थे। साथै बेला मौकामा फकिरझैं दूरदराजका बस्तीतिर यात्रा गर्थे। त्यही हिँडाइले गर्दा उनले साहित्य र संस्कृतिका क्षेत्रमा केही स्तरीय र रोचक कृतिहरु छोडेर गए। नेपाली लोकसाहित्यले २०३२ सालमै ‘डोटेली लोकसाहित्य: एक अध्ययन’ नामक कृति पायो। जुन पुस्तक पछिल्ला दिनमा लोकसाहित्यमा काम गर्ने थुप्रै अध्येताहरुलाई पथप्रदर्शक बन्न गएको छ। जो जिल्लामा भइरहने कुनै किसिमका साहित्यिक गुटबन्दीमा नलागी आफ्नो सिर्जना कर्ममा लागिरहे र महाकाव्य, खण्डकाव्यका साथै डोटेली संस्कृतिसम्बन्धी केही गहकिला कृतिहरु नेपाली साहित्यको क्षेत्रमा छोडेर गए।

देवकान्त पन्तले ५० को दशकमै भारतको हरियाणाबाट होलेस्टेन जातका एक दर्जन जति गाई ल्याई धनगढी, तारानगरस्थित आफ्नै घरमा व्यवसायिक गाई पालन सुरु गरे। साथसाथै व्यावसायिक तरकारी खेतीसमेत गरे। उतिखेर उक्त कार्य पनि चर्चाकै विषय बनेको थियो।

सिर्जना र कर्मलाई महत्व दिने स्वाभिमानी देवकान्त पन्तले बुबाबाटै पाए कृषि क्षेत्रमा परिवर्तन ल्याउनुपर्छ भन्ने प्रेरणा पनि। कवि एवम् संस्कृतिविद् देवकान्त पन्त आज धर्तीमा छैनन्। तर, उनले आफ्ना बुबाको सिको गरेझैं उनका पुत्रद्वय रविन र नवीनले उनैको सिको गरेर कृषि कर्ममा लागिपरेका छन्।

स्नातकोत्तर उत्तीर्ण यी दुई दाजुभाइमध्ये रविनले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा खाइपाइ आएको राम्रै जागिर छोडेर यो क्षेत्रमा होमिए भने नवीन आफैले केही गर्ने हेतुले जागिर खाने सोच नै बनाएनन्। फलस्वरुप ३५ हजार लगानीबाट संचालन गरे देव तालिम केन्द्र। जुन सेवाग्राहीका लागि  उपयुक्त र सुविधाजनक ठाउँ बन्न पुगेको छ। हाल यी दुई दाजुभाइ कैलालीमा उदाहरणीय कृषक बन्ने सोचले लागिपरेका छन्।

मस्त मौलानाजस्ता देखिने यिनले पछिल्लो समयमा थुप्रै व्यवसायहरुमा लगानी गरिरहेका छन्।

देव ट्रेनिङ एण्ड म्यानेजमेन्ट सर्भिस सेन्टर

आजभन्दा १८ वर्षअघि स्वर्गीय बुबा देवकान्त पन्तको नामबाट जुराइ स्थापना गरिएको थियो उक्त तालिम केन्द्र। जुन धनगढीको मुटुमै रहेको छ। धनगढी उपमहानगरपालिकाको कार्यालयबाट झण्डै ३ सय मिटरको दूरीमा रहेको उक्त तालिम केन्द्र विभिन्न, सेमिनार, गोष्ठी, धार्मिक कार्यक्रमका साथै विवाह ब्रतबन्धजस्ता कार्यक्रमका लागि भाडामा दिने गरिएको छ।

दैनिकजसो केही न केही कार्यक्रम भइरहने उक्त तालिम केन्द्रमा पाँच जनाले रोजगारी पाइरहेका छन्। सोही तालिम केन्द्रको एउटा कक्षमा कार्यालय रहने गरी उनले आफ्ना स्वर्गीय बुबा देवकान्त पन्तको नाममा देवकान्त प्रतिष्ठान दर्ता गराइसकेका छन्। जुन संस्थामार्फत् साहित्यिक र सामाजिक गतिविधिहरु अगाडि बढाउने उद्देश्य राखिएको छ।

एकीकृत कृषि फर्म

कैलालीको गेटास्थित एकीकृत कृषि फर्मको सुरुवात गरेको चार वर्ष पुगेको छ। जहाँ २४ कठ्ठा जमिनमा पोखरी बनाएर माछापालन गरिएको छ। रवीन बताउँछन्, ‘सुरुका दुई वर्ष ब्रेक इभनमै चले तापनि दुई वर्षयता उक्त परियोजनाबाट राम्रै मुनाफा भइरहेको छ। नेपाल सरकारका कृषि विज्ञहरु वर्षमा एकपटक पोखरी सुकाउनुपर्छ भन्नुहुन्छ तर हामीले अहिलेसम्म त्यसरी पोखरी सुकाएका पनि छैनौं। एउटाको फोहर अर्कोको लागि आहारासमेत बन्ने भएको हुँदा एउटै पोखरीमा विभिन्न जातका माछाका भुरा राख्ने गरेका छौं।’

एक लाख भुरा एउटै पोखरीमा अटाउने गरी बनाइएका पोखरीहरु छन्। पंगासेस, रहु, ग्रास, कमन, नैनी, रुपचन जातका माछा पालन गरिरहेका उनका भुरा उत्पादन गर्ने पोखरी छुट्टै छन्। जहाँ माछापालनका साथसाथै खरायो पालन र लोकल कुखुरा पालन तथा तरकारी खेतीको समेत सुरुवात गरेको देखिन्छ।

हाल भारतबाट दाना मगाइरहेका उनी निकट भविष्यमा आफैँ दाना उत्पादन गर्ने योजना बनाइरहेका छन्, ‘माछाको दाना बनाउन प्रयोग गरिने खली भटमासलगायतका र मटेरियलहरु नेपालमै पाइन्छ भने किन यतातिर नसोच्ने भन्ने लागेको छ।’

कलकत्ता, गेटा, भैरहवा, वीरगन्जबाट हाल माछाका भुरा मगाएर व्यवसाय चलाइरहेका उनले बजारको माग पूर्ति गर्न सकेका छैनन्। माछापालनबाट मात्रै खर्च कटाएर वार्षिक २०/२५ लाख नाफा कमाइरहेकाे रविन बताउँछन्, ‘अहिलेसम्म आलो माछा बेचिरहेका छौं। सुकाएको माछा र माछाको अचार बनाएर पनि बेच्नुपर्ने हो तर यति नै धान्न सकिएको छैन। बाह्र/चौध हजार टन आन्तरिक माग छ। उत्पादन भने छ सात हजार टन मात्रै छ। मार्केट ठुलो देखेर सघन माछा पालनमा जानुपर्छ भन्ने सोच पलायो। जुन राम्रै भैरहेको छ।’

खप्तड डेरी

विगतमा ठुलो संख्यामा शेयर होल्डर भएको खप्तड डेरी पछिल्लो समयमा पन्त दाजु-भाइ आफैँले टेकओभर गरेका छन्। जुन हाल गेटामा संचालित भएपनि त्यति धेरै भेराइटीहरु तयार गर्न सकेका छैनन्। रविनका अनुसार निकट भविष्यमै यहाँका सम्पूर्ण मेसिनलगायत सामानहरु लगी देव तालिम केन्द्रकै नजिकमा संचालनमा ल्याउने र बढीभन्दा बढी उत्पादन बजारमा ल्याउने योजना रहेको छ।

फाेहोरबाट इन्धन

धनगढी उपमहानगरपालिका- २ स्थित सरस्वती टोलमा वायोग्यास प्लान्ट राखिएको छ।

धनगढी उपमहानगरपालिकासँग सहकार्य गरी निर्माण गरिएको वस्ट टु इनर्जी प्रोजेक्ट संचालनमा ल्याइएको कुरा बताउँछन् रविन पन्त, ‘कुहिने फोहर जतिलाई लेदो बनाएर मेसिनबाट भित्र पठाएर ३९ दिनसम्म भित्रै राखिन्छ। ३९ दिनपछि जब त्यो पाक्छ। ग्यास निस्कने प्रक्रिया सुरु हुन्छ। एकातिरको पाइपबाट ग्यास निस्किन्छ। अर्कोतिर मल निस्किन्छ। मेसिनले नै पानी र मल छुट्याउने काम गर्छ।’

सुदूरपश्चिमकै पहिलो र ठुलो प्रोजेक्ट हो। निर्देशिका र नियमावलीसमेत तयार भइसकेको हुँदा देशमै सुदूरपश्चिम प्रदेश यस्तो परियोजना संचालन गर्नेमा पहिलो हो भन्दा अत्यक्ति नहोला। धनगढी नगरपालिकासँग २० वर्षसम्मको फोहाेर व्यवस्थापनको सम्झौता गरी यो परियोजना पन्त दाजु-भाइले संचालनमा ल्याएका छन्।

धनगढी उपमहानगरले उपलब्ध गराउँदै आएको फोहाेरबाट दैनिक १ हजार किलो प्रशोधन गरिएको मिथेन ग्यास र साढे ३ हजार किलो मल उत्पादन गर्न मेसिनहरु भित्रै सेटअप गरिएका छन्। जुन बाहिरबाट हेर्दा बन्द गरिएको खानेपानीको ट्याङ्कीजस्तै देखिन्छ। पछिल्लो समयमा उत्पादन कार्य सुरु भइसकेको छ। यसै क्रममा रविन पन्त बताउँछन्, ‘हामीले उत्पादन सुरु गरिसक्यौं। नगरपालिकाको फोहाेर लिइसक्यौं। सो प्लान्टले दैनिक १ सय सिलिन्डर भन्दा बढी ग्याँस उत्पादन गर्दै आएको छ। साथै सोही फोहोरबाट मलसमेत उत्पादन हुँदै आएको छ।

केही समयअघि मात्रै बायो सिएन्जी खाना पकाउन परीक्षण प्रयोग गर्न सुरु गरेका पन्त दाजुभाइ उक्त कार्य पूर्णरुपमा सफल भएको बताउछन्, ‘अब उपरान्त हामी देव तालिम केन्द्रमा सधैँ यही ग्यासको प्रयोग गर्ने छाैँ। यतैबाट यसलाई बिक्री वितरण गर्ने योजना रहेको छ। यो एलपी ग्यासभन्दा निकै सस्तो र पूर्णरुपमा वातावरण मैत्री पनि छ।’

प्वाइन्ट निर्माण सेवा

सार्वजनिक निर्माणका काम गर्ने हेतुले संचालनमा आएको यो परियोजना विशेषगरी नवीन पन्तले हेर्ने गरेका छन्। यसै परियोजनाको कामको सिलसिलामा उनी तराई र पहाडका विभिन्न ठाउँमा पुगिरहेका हुन्छन्।

फार्म हाउस

धनगढी उमनपा वडा न. १४ स्थित फूलबारीमा २३ बिगाहा क्षेत्रफल रहेको जमिनमा फैलिएको छ, फार्म हाउस। जहाँ हाल माछापालनको काम भइरहेको छ। कृषि क्षेत्रमा लामो अनुभव बटुल्दै अघि बढिरहेका रविन पन्तले पछिल्लो समय सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब हामी फार्म हाउसलाई एग्रो टुरिजमतर्फ लादैछौँ। आउँदो चैत्र महिनादेखि हामी यहाँ रेष्टुरेन्ट, ३ बिगाहाको प्ले ग्राउन्ड, फ्रेस वाटर स्विम्मिङ पुल, मेडिटेसन प्वाइन्ट, सनसेट भ्यू, हर्ष राइडिङ, जङ्गल वाक, पिकनिक स्पट, साइक्लिङ, बोटिङ, फिसिङ, स्कुले विद्यार्थीहरुका लागि थुप्रै लर्निङ्ग प्याकेज ल्याउनुका साथै सम्भव भएसम्म स्थानीय समुदायसँग मिलेर होम स्टे र स्थानीय उत्पादनको बजार व्यवस्थासमेत गर्ने छाैँ।’

उनले फार्म हाउस क्लब भनेर यसको नामाकरणसमेत गरिसकेका छन्। उक्त फार्म हाउस क्लबको अवधारण सुनाउछन् उनी, ‘मासिक १००० को लगानीमा हामी फार्म हाउस क्लब मेम्बर बनाउने छौँ र यिनै क्लब मेम्बरहरु एग्रो टुरिजम बिजनेसका संचालक/वनर हुनेछन्। क्लब मेम्बरलाई यहाँ थुप्रै सेवा सुविधामा छुट हुनेछ साथै यो फार्मबाट आर्जित मुनाफा पनि क्लब मेम्बरकै हुनेछ। अहिलेसम्म लगभग १०० जना क्लब मेम्बर भइसकेका छन् भने आगी दिनमा १००० जना क्लब मेम्बर बनाउने योजना रहेको छ।’

उनले यसरी सबैजना मिलेर सहकारी नमुना निर्माण कार्य गर्न सामाजिक संजालमार्फत् अनुरोध गरेका छन् भने सामाजिक संजालमार्फत् नै कैयौंले आफू सदस्य बन्न इच्छुक रहेको प्रतिक्रियासमेत जनाइसकेका छन्।

रविन पन्त बताउँछन्, ‘यो परियोजनामार्फत् जिउँदो माछा बोक्ने ट्याङ्कर तयार भइसकेका र निकट भविष्यमै पहाडी जिल्लाहरुमा दैनिक एक हजार किलो जिउँदो माछा पुर्‍याउने योजना बनाएका छौँ। उक्त कार्यबाट परियोजनाले नयाँ बजार पाउँछ। किसाना माछा बोक्न सकिन्छ। रैथाने उत्पादनलाई मात्र प्रायोरिटी दिने उद्देश्का साथ काम गरिरहेका छौं। बजार अनुगमन गरी ठाउँ-ठाउँमा रेष्टुरेन्ट, बार, सुइमिङपुल खोलेर किसानहरुलाई मार्केट सेन्टर दिने सोच बनाएकाछौं। ती किसानले आफ्ना उत्पादन त्यही बेच्न सक्ने छन्।’

इच्छाशक्ति भयो भने गर्न नसकिने भन्ने केही हुँदैन। साथै काम ठुला वा सानो भन्ने पनि हुँदैन। प्रायजसो सबैले थोरै लगानीबाट नै सुरुवाती गर्ने गर्छन्। विस्तारै ती कामहरुको आकार/प्रकार बढ्दै जाने गर्छ। ३५ हजार लगानीबाट व्यवसाय सुरु गरेका पन्त दाजु-भाइ हालका दिनमा ३५ करोडको व्यवसायका मालिक बनेका छन्।

पछिल्लो समय यहाँ केही गर्न सकिँदैन भन्ने युवावर्गका लागि एक गतिलो जवाफ मात्र नभई प्रेरणाका श्रोतसमेत बन्न पुगेका छन्, यी। व्यवसायिकतामा प्रवेश गरेदेखि हालका दिनसम्म पनि सरकारी निकायले थुपार्ने झन्झट उस्तै छ। काम गर्दै जाँदा थुप्रै बाधा अवरोधहरु नआएका हाेइनन्। धैर्यधारण गर्दै लगनशील भई निरन्तर यात्रारत रहँदा सबै कुराको समाधान निस्किँदै जाने कुरा बताउने, व्यवसायका क्षेत्रमा रातदिन खटिरहेको यो जोडी समाजका लागि उपयोगी सिद्ध होस्। उद्यमशीलताको पर्याय बन्न पुगोस्, शुभकामना।